१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

म्याद सकियो तर पानी आएन

लुम्फावुङ नवमीडाँडा लिफ्ट खानेपानी आयोजना सुस्त
लक्ष्मी गौतम

पाँचथर — साढे २३ करोड लागतको लुम्फावुङ नवमीडाँडा लिफ्ट खानेपानी आयोजना अधकल्चो अवस्थामा छ । यो आयोजना २०७८ असारमा पुरा गर्नुपर्ने थियो ।

म्याद सकियो तर पानी आएन

सुख्खा क्षेत्रका रूपमा सूचीकृत फिदिम नगरपालिका–९ लुम्फाबुङ र फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका १ हजार ४ सय ५ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउन २०७६ मा निर्माण सुरु गरिएको आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ट्रिटमेन्ट प्लान्ट निर्माण कार्य सुस्त छ भने उपभोक्ताका घरघरसम्म पानी लैजान पाइपलाइन बिछ्याउने र धारा जडान गर्ने काम शुरु भएकै छैन ।

निर्माणको जिम्मेबारी लिएका व्यवसायी र उपभोक्ता समितिबीच तालमेल नमिल्दा काम अधुरो रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंहले बताए । प्रदेश १ सरकार मार्फत सञ्चालन भइरहेको लिफ्ट सिष्टम आयोजनामा यो सबैभन्दा ठूलो हो । प्रदेश सरकारले यसलाई गौरवको योजनाका रुपमा लिएको छ । आयोजना सञ्चालन र कार्यान्वयनको जिम्मा उक्त कार्यालयको छ ।

योजना अगाडि बढाउन प्रदेश सरकारले स्वामी नारायण नामक निर्माण कम्पनीसँग सम्झौता गरेको थियो भने कार्यन्वयन पक्ष र निर्माण व्यवसायीलाई सहयोग गर्न उपभोक्ता समिति गठन गरिएको छ । समिति र निर्माण कम्पनीबीच तालमेल नहुँदा उपभोक्ताका घरमा स्वच्छ पिउने पानी पुर्‍याउन नसकिएको सिंह बताउँछन् । समयमा काम नसकिए पछि समितिका पदाधिकारी र निर्माण व्यवसायी आरोप र प्रत्यारोपमा लागेका छन् । निर्माण व्यवसायी उपभोक्ता समितिको असहयोग, कोरोना भाइरस संक्रमणले गरिएको लकडाउन र निर्वाचनले गर्दा काममा ढिलाइ भएको ठोकुवा गर्छन । ‘ट्यांकी, ट्रिटमेन्ट प्लान्ट र कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्तिसँगै काम गर्ने क्रममा सिर्जना भएका सबैखाले विवाद सुल्झाउने जिम्मा उपभोक्ता समितिको हो, कतिपय समस्या समाधान गर्न समितिका पदाधिकारी अग्रसर नहुँदा कामलाई गति दिन सकिएन,’ निर्माण कम्पनी स्वामी नारायण जेभिका प्राविधिक राजाराम मण्डल भन्छन् ।

उपभोक्ता समितिका सचिव रमेशहाङ आङदेम्बेले आफूहरूले असहयोग नगरेको दाबी गर्छन् । ‘पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति, पाइपलाइन विस्तार र अन्य समस्या समाधान गर्न डटेका छौं, बरु व्यवसायीले आवश्यक सामग्री ल्याउन र ज्यामीको पैसा भूक्तानी गर्न ढिलाइ गर्दा समस्या आएको हो,’ उनले भने । आङसराङ र नवमीडाँडाको संगम भएर बग्ने निबु खोलाबाट पम्पिङ गरेको पानी ६ वटा स्टेसन हुँदै रिजर्व ट्याङकीमा ल्याएर घरघरै वितरण गर्ने आयोजनाको लक्ष्य छ । काम बाँकी रहे पनि निर्माण कम्पनीले आयोजनामा भौतिकतर्फ ९१ र आर्थिकतर्फ ८० प्रतिसत प्रगती भएको दाबी गर्दै आएको छ । सबैतिरबाट सहयोग भए अर्को ३ महिनामा काम सक्ने प्राविधिक मण्डलले बताए । ‘उपभोक्ताकामा जोडिएका धारामा पानी नखसेसम्म योजनाको प्रगति शून्यसरह हो,’ सिंहले भने । निर्माण कम्पनीले थप छ महिना म्याद मागेको पनि उनले बताए ।

प्रकाशित : श्रावण १४, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?