बर्सेनि चट्याङको चपेटा खेप्दै खोटाङ

पछिल्लो पाँच वर्षमा जिल्लामा चट्याङ परेर ६ जनाको मृत्यु र ४१ जना घाइते 
डम्बरसिं राई

खोटाङ — चट्याङमा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का बाबुछोरा महन्तबहादुर, ६४ र ढाकमशेर राई, ३४ को मृत्यु हुँदा तेजेन्द्र ११ र सुरेन्द्र १० वर्षका मात्रै थिए । आँखै अगाडि चट्याङले बाबु ढाकमशेर र बाजे महन्तबहादुर तथा अर्का आफन्त मरेको दिन उनीहरूले अझै सम्झिन्छन् ।

बर्सेनि चट्याङको चपेटा खेप्दै खोटाङ

२०७० असोज ७ को त्यो घटना पछि उनीहरू बालखैमा टहुरो बने । दिक्तेलस्थित फुपाजूकोमा बसेर अध्ययन गरिरहेका तेजेन्द्र दिक्तेल बहुमुखी क्याम्पसमा बीए पहिलो वर्षमा अध्ययनरत छन् भने सुरेन्द्र सरस्वती माविमा १२ कक्षाको परीक्षा दिएर बसेका छन् ।

२०७७ चैत २८ मा परेको चट्याङले केपिलासगढी गाउँपालिका–१ फेदीको तोमानेका १५ वर्षीय राजमणि राई र ३८ वर्षीया निर्मला सेन्चुरी विश्वकर्माको ज्यान गयो । उक्त घटनामा निर्मलाका ६ वर्षीय छोरा आसन, १४ वर्षीया छोरी मनकला र श्रीमान् ४१ वर्षीय सन्तकुमार, भान्जी १६ वर्षीया मनीषा रसाइली र स्थानीय ४६ वर्षीय धनराम राई घाइते भए । अकस्मात्को यो घटनापछि हप्तौंसम्म सिंगो गाउँ शोकमग्न बन्यो । पहाडी जिल्ला खोटाङमा चट्याङ परेर स्थानियको मृत्यु भएका कैयौं घटना छन् । कहिलेकाहीं त एकैदिन धेरै चट्याङ पर्ने घटना पनि भएका छन् ।

२०७० जेठ २९ को मध्याह्नमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ खाल्लेकी १५ वर्षीया इन्दिरा कटवालको ज्यान लियो । सोही दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चित्रबहादुर थापाको घरमा परेको चट्याङले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले घर भएकी सामाजिक परिचालक २८ वर्षीया अनिता राई र बाम्राङकी सहजकर्ता मिला राई घाइते भए । सोही दिन बाम्राङकै नारायण परियारको घरमा परेको चट्याङले स्थानीय २७ वर्षीया सुनिता हिङमाङ परियार, ३० वर्षीय जीरा हिङ्माङ परियार, उनकी तीन वर्षीया छोरी सरस्वती र खार्मी साब्रु घर भएका ५७ वर्षीय खड्ग महरा घाइते भए ।

जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार पछिल्लो पाँच वर्षमा जिल्लामा चट्याङ परेर ६ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा दुई जनाको मृत्यु भयो भने ६ जना घाइते भए । आव २०७५/७६ मा एक जनाको मृत्यु र १५ जना घाइते भए । आव २०७६/७७ मा दुई जनाको मृत्यु र १३ जना घाइते भए । आव २०७७/७८ मा एक जना घाइते र आव २०७८/७९ मा एक जनाको मृत्यु भएको थियो । पछिल्लो पटक गत असार १७ को चट्याङमा परेर बराहापोखरी गाउँपालिका–४ फाक्टाङ कोछाले भन्ज्याङकी ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भयो । गोठमा सुतिरहेकै अवस्थामा चट्याङमा परेर चन्द्रमायाको मृत्यु भयो भने उनीसँगै सुतेकी १६ वर्षीया छोरी यशोदा घाइते भईन् ।

खोटाङमा बढी चट्याङ पर्ने गरेको र यसको वैज्ञानिक अनुसन्धान गरेर न्यूनीकरणको उपाय खोज्नुपर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने राईको भनाइ छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले चट्याङबाट भएका मानवीय क्षतिमा दुई लाख र भौतिक क्षतिमा सर्जमिन मुचुल्का तथा मूल्यांकनका आधारमा क्षतिपूर्ति पाउने व्यवस्थाबाहेक अन्य नीतिगत प्रावधान नभएको बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?