कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहुमत-अल्पमतको झगडाले पारित भएन दमकको बजेट

बखेडा झिकेर बजेट पारित गर्नबाट रोक्नु एमाले जनप्रतिनिधिको नियत गलत देखिन्छ : उपप्रमुख
अर्जुन राजवंशी

बिर्तामोड — दमक नगरपालिकामा बहुमत–अल्पमतको लडाइँले असारभित्र पारित गरिसक्नुपर्ने आर्थिक वर्ष २०७९/८० को बजेट पास हुन सकेको छैन । यसले नगरपालिकाको दैनिक प्रशासनिक कार्य ठप्प छ । एमाले र कांग्रेस–राप्रपा गठबन्धनका जनप्रतिनिधिबीच बहुमत–अल्पमत लडाइँले नगरपालिकालाई आर्थिक रूपमा ठूलो क्षति हुने देखिएको छ ।

बहुमत-अल्पमतको झगडाले पारित भएन दमकको बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० मा नीति, कार्यक्रम र बजेट पेस गर्ने तथा असारभित्र नगरसभाबाट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, दमकमा प्रमुख, उपप्रमुख जितेको गठबन्धनका जनप्रतिनिधि अल्पमतमा छन् । बहुमत भए पनि प्रमुख, उपप्रमुख नहुँदा एमालेले आफूअनुकूल बजेट ल्याउन नपाउँदा विवाद उत्पन्न भएको हो ।

‘आइतबारदेखि दैनिक प्रशासनिक र राजस्व संकलनको कार्य पूर्णरूपमा प्रभावित बनेको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले भने । यो अवस्था लम्बिएमा नगरपालिकाले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनले बताए । विवादका कारण दमकको ११ औं नगरसभाको बैठक पटक–पटक स्थागित हुँदै आएको छ । ५४ जनाको नगरसभामा एमालेका ४१ तथा कांग्रेस–राप्रपा गठबन्धनका १३ जनप्रतिनिधि छन् । २० सदस्यीय कार्यपालिकामा एमालेका १५, कांग्रेसका ३ र राप्रपाका २ सदस्य छन् ।

यद्यपि, आगामी आवका लागि एक अर्ब ६३ करोड रुपैयाँको बजेट असार ९ को कार्यपालिका बैठकले पारित गरिसकेको छ । ५१ प्रतिशत चालु तथा ४९ प्रतिशत पुँजीगत खर्चसहितको बजेट असार २७ को ११ औं नगरसभाको दोस्रो बैठकमार्फत पारित गर्ने कार्यतालिका थियो । तर, उक्त बैठकमा एमालेका जनप्रतिनिधिले बजेटभित्रका केही योजना संशोधन गर्न माग गरेपछि विवाद उत्पन्न भएको हो । उक्त विषयमा एमाले जनप्रतिनिधि र प्रमुख राम थापाबीच नगरसभा बैठकमै चर्काचर्की भएको थियो ।

नीति, कार्यक्रम तथा बजेटमा आफ्ना सुझाव र प्रस्ताव समावेश नगरेको एमालेको आरोप छ । कार्यपालिका सदस्य एवं एमाले दमक नगरपालिका संसदीय दलका नेता लोकबहादुर धिमालले पालिका प्रमुख थापाले आफूहरूलाई नगरसभामा बोल्न नदिँदा विवाद उत्पन्न भएको आरोप लगाए । उनले भने, ‘बजेटमा भएका केही कमीकमजोरीका बारे सुझावसहित धारणा राख्न खोज्दा थापाले बोल्नै दिएनन् ।’

उपप्रमुख रेगिना भट्टराई प्रसाईंले कार्यपालिका बैठकबाट पास भइसकेको बजेट नगरसभाबाट पारित गर्न नदिनु दुःखद भएको बताइन् । ‘अल्पमतमा छौं, सबैको सुझाव, प्रस्तावकै आधारमा नीति, कार्यक्रम तथा बजेट बनाएका हौं, कार्यपालिका बैठकमा बृहत् छलफल गरेर पास पनि भइसकेको अवस्थामा विभिन्न बखेडा झिकेर बजेट पारित गर्नुबाट रोक्नु एमाले जनप्रतिनिधिहरूको नियत गलत देखिन्छ,’ उनले भनिन् ।

नगरपालिकाको विवादका विषयमा एमाले र गठबन्धन आबद्ध दलहरू आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुवै पक्षले पत्रकार सम्मेलन गरी आआफ्ना अडानबाट पछि नहट्ने चेतावनी दिएका छन् । एमालेले नगरपालिकामा आफ्नो पार्टीको बहुमत रहेकाले आफ्ना प्रस्ताव र सुझाव नसमेटी बजेट पारित हुन नदिने चेतावनी दिएको छ । उक्त गठबन्धन सम्बद्ध दलहरूले एमालेले बहुमतको दम्भ देखाउँदै बजेट पारित हुन नदिएर दमकको विकासमा अवरोध गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका छन् । दमकको ११ औं नगरसभाको अर्को बैठक ३ साउनमा डाकिएको छ ।

प्रकाशित : श्रावण २, २०७९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?