ताप्लेजुङको सान्थाक्रामा आगलागी

आनन्द गौतम

सल्यान — मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा सोमबार बिहान आगलागी हुँदा एक घर र मतान जलेको छ । स्थानीय दाबा शेर्पाको घर र मतान जलेर ध्वस्त भएको पासांकी शेर्पाले जानकारी दिइन् ।

शेर्पाका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको थियो । घरमा सुतिरहेका तीन जना भाग्न सफल भएका थिए । पासांकीका अनुसार चाँडै थाहा पाएपछि उनीहरु भाग्न सकेका हुन् । आफ्नो हजुरबुबा, आमा र एक जना दाइ रहेको उनले बताइन् । आगलागीबाट घर र मतानभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने स्थानीयको अनुमान छ । दोभान इलाका प्रहरी कार्यालयबाट जाने प्रहरी टोलीले क्षतिको विवरण संकलन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँको बेरुजु ३२ करोड ४० लाख

कान्तिपुर संवाददाता

तनहुँ — जिल्लाका स्थानीय तहको आर्थिक वर्ष ०७७/७८ को बेरुजु ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । ४ नगरपालिका र ६ गाउँपालिकामा १२ अर्ब ७६ करोड २२ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको महालेखा परीक्षक वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षभन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ ।

आव २०७६/७७ मा जिल्लाका स्थानीय तहको बेरुजु ३४ करोड ४९ लाख रहेको थियो । उक्त आवमा १२ अर्ब ३० करोड ३३ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी बेरुजु व्यास नगरपालिकामा देखिएको छ भने कम म्याग्दे गाउँपालिकामा देखिएको छ । व्यासमा ११ करोड ७२ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै, म्याग्देमा ४५ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

स्थानीय तहमा आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयस्रोतको पर्याप्त आधार बीना राजस्व छुट दिएको, राजस्व बक्यौता असुली लक्ष्यअनुसार नभएको, बजेट अबण्डा राखेको, अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम बेरुजु रहेको महालेखाले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७९ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×