२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश १ मा सवारी दुर्घटना : बर्सेनि ३ सयभन्दा बढीको मृत्यु

सवारी दुर्घटनामा २६ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा बढी
सुम्निमा चाम्लिङ

इटहरी — संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीको भित्री सडक खण्डमा फागुन २६ गते बा४ख ७३५ नम्बरको बस सडकबाट ७ सय मिटर तल खस्दा १४ जनाले ज्यान गुमाए । ५ जना घाइते भए । प्रहरीको अनुसन्धानबाट साँघुरो सडकमा तीव्र गतिमा सवारी चलाएको कारण दुर्घटना भएको थियो ।

प्रदेश १ मा सवारी दुर्घटना : बर्सेनि ३ सयभन्दा बढीको मृत्यु

कात्तिक २९ मा ओखलढुंगाको सुनकोसी गाउँपालिका–९ बुलडाँडामा च्यानामबाट चम्पादेवी–९ स्थित ककनी मन्दिरतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सडकबाट ५ सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमै ज्यान गयो, १३ घाइते भए । उक्त दुर्घटना यान्त्रिक गडबडीले भएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपलिका–१७ पकली चोकमा को १ ख ७७९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा ज्यान गयो । सोही दिन इटहरीको चौकी मोड कोसी लोकमार्गमा वाग्मती प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गयो । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको थियो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार दैनिक सरदर ११ दुर्घटना हुन्छन् । यीमध्ये २ जनाको ज्यान जाने गरेको छ । प्रदेशमा बर्सेनि करिब ३ सय बढी जनाले ज्यान गुमाउँछन् । तथ्यांकलाई केलाउँदा सडक सुरक्षा प्रणाली नहुँदा दुर्घटनाको जोखिम बढेको देखिन्छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारी जाँच गर्न राडर गन (सवारी मापन यन्त्र) को प्रयोग गर्छ । सवारीको चाप बढेसँगै ट्राफिक नियम उल्लंघन गर्नेको सख्यां बढेपछि प्रहरीले उक्त कदम चालेको हो । पछिल्ला पाँच वर्ष अवधिमा १५ हजार ४ सय २८ सवारी दुर्घटना हुँदा २ हजार ५६ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमध्ये १ सय ४ जना बालबालिका छन् । सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको देखिन्छ । तथ्यांकअनुसार ८ हजार २ सय ४१ वटा दुईपांग्रे सवारी दुर्घटनामा परे ।

कुल दुर्घटनाको आधा बढी दुर्घटना दुईपांग्रे सवारीका कारण भएको देखाउँछ । प्रहरीका अनुसार आव २०७८/७९ मा यान्त्रिक गडबडीका कारण १ सय ५ सवारीसाधन दुर्घटनामा परेका थिए । आव २०७४/७५ मा ४ सय २४ जनाको ज्यान गएको थियो । आव २०७५/७६ मा ३ सय ७३ जना र आव २०७६/७७ मा ३ सय ३२ जनाको ज्यान गयो ।

यस्तै, आव २०७७/७८ मा ४ सय ४४ जनाको ज्यान गुम्यो । चालु वर्षको जेठ महिनासम्मको तथ्यांक हेर्दा अघिल्लो आवभन्दा ज्यान गुमाउनेको संख्या बढेकोछ । चालु आवमा ४ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता सुमन तिम्सिनाका अनुसार दुईपांग्रे सवारी असुरक्षित साधन भएकाले सामान्य दुर्घटना हुँदासमेत ज्यान जान्छ । ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा गुड्ने दुईपांग्रेले डिभाइडर नभएको ठाउँमा गलत साइडबाट बाटो काट्दासमेत दुर्घटना भएको देखिन्छ ।

हालै मुख्य राजमार्ग क्षेत्रमै मोरङको विराटनगर–नेमुवा सडक खण्डमा गलत साइडबाट आएको स्कुटीले तीव्र गतिमा आइरहेको कारसँग ठोक्किँदा पछाडिपट्टि हेलमेट नलगाई बसेका गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भयो ।

प्रहरीको तथ्यांकअनुसार अघिल्लो आव २०७७/७८ र चालु वर्षको जेठसम्म १ सय २० पैदल यात्रीको ज्यान गएको छ । अभिलेखअनुसार सवारी चालक जरिवानामार्फत चालु वर्षको जेठसम्म वार्षिक १६ करोड २७ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन झएको छ ।

दुर्घटना न्यूनीकरणका लागि जेब्रा व्रसिङको पालना, राजमार्ग, मुख्य सडक, सहायक सडक, ग्रामीण बस्ती र आवासीय क्षेत्रमा निर्धारित गतिअनुसार सवारी चलाइएको पाइँदैन । सवारीको चाप, जनताको माग र ग्रामीण चुरे क्षेत्रलगायत अन्य स्थानमा दरबन्दी कम हुँदा ट्राफिक व्यवस्थापन गर्न नसकिएको तिम्सिनाले बताए । पैदल यात्रु, सवारी चालकमा जेब्रा क्रसिङको ज्ञान नहुनु र कतिपय ट्राफिक प्रहरी पनि जेब्रा क्रसिङको पालन गराउन संवेदनशील नभएको सरोकार निकाय स्विकार्छ ।

‘हरेक महिना जेब्रा क्रसिङ गर्न सिकाऔं र सिकौं भन्ने अभियान सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘तर स्थलगत अवलोकन गर्दा जेब्रा क्रसिङबाट पैदल यात्रु हिँडिरहेको देख्दादेख्दै पनि न त गाडी रोकिएको देखिन्छ, न त ट्राफिक प्रहरीले नियमको उल्लंघन गर्ने सवारीलाई कारबाही गर्नेतर्फ चासो राखेको पाउँछौ ।’ विराटनगरकै मोरङ ट्राफिक प्रहरी कार्यालयवरिपरिको जेब्रा क्रसिङ भएर बाटो काट्दा पैदल यात्रुले जोखिम मोलिरहेका हुन्छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २६ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा बढी छ । चालु आव २०७८/७९ मा उक्त उमेर समूहका २ हजार ३३ जना चालक दुर्घटनामा परेका थिए । १६ वर्षको अपरिपक्व अवस्थामा सवारी लाइसेन्स वितरण गरिँदा दुर्घटनाको उच्च जोखिम हुने गरेको प्रवक्ता तिम्सिनाको भनाइ छ । प्रहरीका अनुसार पछिल्लो ५ वर्षमा तीव्र गतिको कारण सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । अभिलेखअनुसार प्रदेशमा तीव्र गतिको कारण १ हजार ६ सय ३८ सवारी दुर्घटनामा परे । दोस्रोमा चालकको लापरबाहीले दुर्घटना भएको थियो ।

प्रकाशित : असार २३, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?