उदयपुरमा पौडी खेल्नेक्रममा दुई बालिका बेपत्ता

उदयपुर — स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका बुधबार बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।

राईका अनुसार दिनको १:४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटनालगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजी जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए । बिहीबार बिहान उज्यालो हुनेसाथ बेपत्ता बालिकाको थप खोजीकार्य जारी राख्ने पनि प्रहरीले बताएको छ ।

प्रकाशित : असार २२, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?