झापामा फेरि हात्ती मृत फेला

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा जंगल क्षेत्र नजिकै बुधबार बिहान एक किशोर अवस्थाको हात्ती मृत फेला परेको छ । पूर्व पश्चिम राजमार्गको दुर्गापुरदेखि करिब ४ किलोमिटर उत्तरमा यो जंगल पर्छ । 

झापामा फेरि हात्ती मृत फेला

त्यही जंगल नजिकै खेतमा हात्ती मृत भेटिएको रेन्जर राजेश घिमिरेले जानकारी दिए । उनका अनुसार राति ३ वटा हात्ती आएका थिए । दुई हात्ती बिहानै जंगल छिरे । एउटा चाहीँ रन्थनिएर लडेको स्थानीयले देखेका थिए ।

‘हात्तीको मृत्युको कारण अनुमान गर्न सकिएको छैन,’ रेन्जर घिमिरेले भने, ‘शरीरमा घाउ तथा चोटपटक केही छैन । के कारणले मर्‍यो भन्नेबारे अनुसन्धान शुरु भएको छ ।’

जंगल क्षेत्र नजिकैको बस्तीका बासिन्दाले बालीनाली जोगाउन करेन्ट छाड्ने गर्छन् । हात्ती करेन्ट लागेरै मरेको हो या होइन‚ पोस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने छ । गत शुक्रबार बुद्धशान्ति-५ मा पनि एक हात्ती मृत भेटिएको थियो । जिल्लामा लगातार हात्ती मर्न थालेपछि संरक्षणकर्मीहरू चिन्तित बनेका छन् ।

प्रकाशित : असार २२, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?