अस्पताल निर्माण सुस्त

सुनकोसीमा पिलरका लागि खाल्डो खनिसकेपछि काम रोकिएको छ 
कुम्भराज राई

ओखलढुंगा — सरकारले ‘एक स्थानीय तहमा, एक अस्पताल’ निर्माण गर्ने योजना अन्तर्गत जिल्लाको तीन स्थानीय तहमा काम रोकिएको छ । आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल भएकोले निर्माण गर्नु परेन ।

बाँकी ६ स्थानीय तहमध्ये ठेक्का लगाएर पनि डीपीआरमा समस्या देखिए पछि मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा अस्पताल भवन निर्माणको काम रोकिएको हो । जग सम्याए पछि काम रोकिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि आवश्यक मापदण्डअनुसार डीपीआर नभएको भन्दै संशोधन नभएसम्म रोक्न लगाएको हो ।

मोलुङ गाउँपालिकामा भ्याट सहित ४ करोड ३२ लाख ६६ हजार २ सय ६५ रुपैंयाँमा ठेक्का लागेको थियो । डीपीआरको कमजोरीलाई सुधार नगरे सम्म काम शुरु नगर्न सात बुँदामा स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि काम रोकिएकै सात महिना भयो ।

पत्रमा जग्गाको क्षेत्रफल, स्वामित्व सम्बन्धि कागजात संलग्न गरी मास्टरप्लानमा सेटब्याक, अस्पताल भवन बनाउन कायम गरिने जगको लेभल स्पष्ट देखाइ शवगृह र अस्पतालजन्य फोहोर व्यवस्थापन क्षेत्र जस्ता ठाउँहरू उल्लेख गर्नुपर्ने भनिएको छ । साइटको सबै क्षेत्र देखिने टोपोग्राफी सर्भे प्लान पेस गर्नुपर्ने लगायतका बुँदा छन् ।

डीपीआर तयारकर्ताले आउट टेम्प्लेटमा डिजाइनरको नाम, इन्जिनियरिङ परिषद्को दर्ता नम्बर र सम्पर्क नम्बर सम्म राख्नुपर्ने पत्रमा उल्लेख छ । डीपीआरको जिम्मा पाएका ‘एबीआर कन्सल्टेन्सी’ले वास्तविक स्थलगत सर्वेक्षण नगरी डीपीआर तयार गरेको अनुमान गरिएको छ । हुनुपर्ने मापदण्ड पूरा नगरि उनीहरूले डीपीआर गाउँपालिकालाई बुझाएका थिए । त्यसैको आधारमा ठेक्का लगाइएको थियो । १५ लाख रुपैयाँ खर्च गरेर बनाइएको डीपीआर संशोधन गर्ने र मन्त्रालयले स्वीकृत दिने काम भएको छैन । भर्खरै निर्वाचित गाउँपालिका अध्यक्ष उत्तम राईले यसलाई तुरुन्तै निर्माणको प्रक्रियामा लैजान पहल भइरहेको बताए ।

यस्तै समस्या सुनकोसी गाउँपालिकामा पनि छ । ५ करोड २९ लाख रुपैयाँमा ठेक्का लागिसकेको भवनको काम जग सम्याएर पिलरका लागि खाल्डो खनिसके पछि रोकिएको हो । डीपीआर फेरबदल गर्नुपर्ने भएर काम रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए ।

मानेभन्ज्याङ गाउँपालिकामा जग्गाको टुंगो नलागि डीपीआर गर्ने काम भएको छ । एकै स्थानमा कम्तिमा ७ रोपनी क्षेत्रफल जग्गा अस्पताल निर्माणका लागि चाहिने भए पनि जग्गा टुंगो नलागि डीपीआर निर्माण गरिएको हो । स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले अस्पताल बनाउन उपयुक्त जग्गा स्वास्थ्य चौकी भएकै ठाउँ रहेको बताए । तर त्यस ठाउँमा छ रोपनी मात्र जग्गा हुँदा ठेक्का गर्न नमिलेको बताए । छिट्टै समाधान खोजेर ठेक्का लगाउने प्रक्रियामा अघि बढेको दाहालले बताए ।

त्यसैगरी लिखु गाउँपालिकामा सबै प्रक्रिया पूरा गरी भ्याटसहित ७ करोड २३ लाख ८२ हजार ९ सय ९४ रुपैयाँमा गौराबंगलामुखी जेभीले ठेक्का लिएको थियो । काम अत्यन्तै सुस्त गतिमा छ । हाल सम्म २० प्रतिशत मात्र काम सकिएको लिखु गाउँपालिकाका इन्जिनियर रविकान्त झाले बताए । दुई स्थानीय तहहरू चिशंखुगढी र खिजिदेम्बामा भने सन्तोषजनक रुपले ५ शय्याको अस्पताल समयमै निर्माण भएका छन् । खिजिदेम्बामा ६ करोड ९ लाख रुपैयाँमा ठेक्का लागेको भवन साउनमा बुझाउने तयारी छ ।

प्रकाशित : असार २२, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?