कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपचार खर्च जुटाउन नसकेर बन्धक

‘नथुनौं आफैंमाथि आइलाग्छन्, उपचार गर्नलाई अब बुताले भ्याएन’ 

धनकुटा‚ ताप्लेजुङ — परिवारका सदस्यलाई खोरभित्र बन्धक बनाउने रहर कसैलाई हुन्न । बिरामी भएपछि उपचार गराउने कर्तव्य परिवारकै हो । तर, आर्थिक अवस्था कमजोर हुँदा परिवारका प्रियजनलाई खोर तथा साङ्लामा बाँधेर महिनौं दिनसम्म बन्धक बनाएर राख्ने गरिएको छ । समाजमा हुने यस्ता अवस्थाको उदाहरणका रूपमा धनकुटा र ताप्लेजुङका यी दुईलाई लिन सकिन्छ ।

उपचार खर्च जुटाउन नसकेर बन्धक

चारैतिर घेराबार छ । एउटै सानो कोठामा शौचालय र खाना खाने ठाउँ । हिँडडुल गर्ने अवस्था छैन । त्यस्तो ठाउँमा ९ महिनादेखि बन्धक अवस्थामा छन्, ताप्लेजुङको आठराई त्रिवेणी–२ फूलबारीका ३३ वर्षीय भट्टराई थरका युवक । कोठाभित्रको दुर्गन्ध बाहिरसम्म आउँछ । त्यो कारुणिक दृश्यले उनका बाबु र आमालाई नपिरोलेको पनि होइन । नौ महिनादेखि थुनेको कोठाको चुकुल हालसम्म खोलिएको छैन । गत कात्तिकदेखि हालसम्म पशुवत् अवस्थामा रहेका छोरालाई उपचार गराउन जायजेथा र सम्पत्ति सकियो ।

भुइँतलाको कोठामा बन्धक अवस्थामा राखिएका उनको उपचारमा जायजेथा बेचेर खर्च जुटाएको उनका बाबुआमा बताउँछन् । ‘उपचारकै लागि ८ रोपनी जग्गा, गोठका गाईभैंसी, बाख्रा बिक्री गरिसकेँ, साहु र आफन्तजनसँग साढे १५ लाख रुपैयाँ ऋण काढिसकेँ,’ बाबु सुनाउँछन् । परिवारका सदस्य र जोकोहीमाथि आक्रमण गर्न थालेपछि कोठामा थुन्नुको विकल्प नै नभएको उनी बताउँछन् । ‘नथुनौं आफैंमाथि आइलाग्छ, कोही देख्नै हुँदैन, जे भेट्यो, त्यसैले हान्छ, उपचार गर्नलाई अब बुताले भ्याएन, मेरो अन्तिम उपाय यही बन्यो,’ उनी भन्छन् । १० कक्षासम्म पढेका उनमा २०५९ देखि स्वास्थ्य समस्या देखा पर्‍यो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिँदा पनि सुधार नभएपछि दिग्दारिएका परिवारले बन्धक अवस्थामा राख्ने अन्तिम विकल्प सझिए । आमा भन्छिन्, ‘बिरामी हुन थालेपछि उसको स्वभाव बदलियो, हामी सुरक्षित हुने अवस्था आएन अनि थुन्न बाध्य भयौं ।’ बाबुआमा खर्चले नपुगेपछि सहयोग संकलनका लागि गाउँघरमा हिँडे । बाबुआमाको बिलौनाले त्यहाँ पुग्ने जोकोहीलाई भावुक बनाउने छिमेकी लेखनाथ भट्टराई बताउँछन् ।

उता, धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तीखर्ककी ६७ वर्षीया लिम्बू थरकी महिलाको अवस्था पनि उस्तै छ । ६ महिनादेखि बन्धक अवस्थामा छिन् उनी । भाइको आश्रयमा रहेकी वृद्धाको मानसिक अवस्था असन्तुलित भएपछि उपचारबाट समेत वञ्चित छिन् । उनी बौद्धिक अपांगतासमेत हुन् । बोल्न सक्दिनन् । आर्थिक अवस्था दयनीय रहेका भाइले दिदिको उपचारका लागि अस्पताल लैजान नसकेको बताए ।

जथाभावी हिँड्ने र आक्रमण गर्ने स्वभाव भएपछि काठले बारेर तयार पारेको खोरमा थुन्नुपरेको लिम्बू बताउँछन् । खर्च अभावका कारण उपचार सम्भव नभएको उनी बताउँछन् । ‘मेरै आर्थिक अवस्था कमजोर छ उपचार कसरी पो गराउँ, उनले भने, खोरभित्रै घरी रुन्छिन्, घरी हाँस्छिन्,’ उनी भन्छन्, ‘खोरबाट बाहिर निकालिदिए बेपत्ता हुन्छिन् ।’ उनका पतिसमेत बोल्न सक्दैनन् । एक मात्र सन्तान छोरी ताप्लेजुङमा विवाह गरेर गएपछि उनमा समस्या देखा परेको छिमेकी कमलदीप तिगेला बताउँछन् ।

बाबु र आमाको निधन भएपछि भाइको आश्रयमा रहेकी उनको नागरिकता बनेको छैन । यो उमेरमा पनि नागरिकता नबन्दा अपांगता भत्ताबाट समेत वञ्चित हुनुपरेको छ । माइती पक्षले समेत नागरिकता बनाउन कोसिस गरे पनि नसकेको तिगेलाले बताए । खोरबाट मुक्त गर्न र उपचारका लागि स्थानीय पालिकादेखि संघीय सांसदसम्मलाई गुहारेको परिवारजनले बताए । आश्वासन पाए पनि हालसम्म उपचार र मुक्त गर्ने वातावरण नबनेको भाइ बताउँछन् ।

प्रकाशित : असार २२, २०७९ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?