कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोपोन्मुख तिलुङ भाषामा पठनपाठन

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बाल विकास प्राथमिक विद्यालयमा चालु शैक्षिक–सत्रबाट लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ । लोपोन्मुख भाषाको संरक्षण गर्न उक्त विद्यालयको कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन सुरु गरिएको हो ।

लोपोन्मुख तिलुङ भाषामा पठनपाठन

नगरप्रमुख विमला राईका अनुसार तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालु शैक्षिक–सत्रबाटै च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि उक्त भाषामा पढाइने राईको भनाइ छ । उक्त पिपलटार आधारभूत विद्यालयमा भने पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ । उक्त क्षेत्र लोपोन्मुख तिलुङ भाषीको बाहुल्य रहेको ठाउँ हो ।

तिलुङ भाषाको पाठ्यपुस्तक हस्तान्तरण गर्दै नगर प्रमुख विमला राई । तस्बिर सौजन्य : विमला राई तिलुङ

तिलुङ भाषामा कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकेको नगरप्रमुख राईले बताइन् । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा भएकाले तिलुङ भाषाको पठनपाठन सुरु गरिएको नगरप्रमुख राईले बताइन् । ‘तिलुङ समुदायको जनसंख्या पनि कम र भाषा पनि लोपोन्मुख भएकाले पठनपाठन सुरु गरिएको हो,’ राईले भनिन् ।

खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा र डिकुवामा तिलुङ राईहरु बसोबास गर्दै आएका छन् । यसबाहेक ओखलढुङ्गाको सल्ले, उदयपुरको लेखगाउँ, बासबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, सिरहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा पनि तिलुङ राईको बसोबास छ । उनीहरुमध्ये खोटाङको च्यास्मिटार र उदयपुरको केही गाउँमा मात्र भाषा जिवित रहेको नगरप्रमुख राईले सुनाइन् । राई तिलुङ राईको पहिलो नगरप्रमुख पनि हुन् ।

प्रकाशित : असार २१, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?