३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोसी कटानले २० हजारको बसोबास जोखिममा [तस्बिरहरू]

डिल्लीराम खतिवडा

उदयपुर — पूर्वी पहाडमा लगातारको वर्षासँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका क्षेत्रमा तीव्र कटान गरेको छ । विशेषगरी बेलका नगरपालिका– ८ डुम्रीबोटेमा नदी कटानको बढी असर देखिएको छ ।

कोसी कटानले २० हजारको बसोबास जोखिममा [तस्बिरहरू]

नदी कटान नरोकिए यस क्षेत्र र आसपासका २० हजारभन्दा बढी मानिस विस्थापित हुने उच्च जोखिमा रहेको बताइन्छ । दुई वर्षयता पश्चिम किनारातर्फ धकेलिएको कोसीले डुम्रीबोटेमा कटान गरेर बस्तीतर्फ छिरेमा उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीका १ हजार ७ सय परिवारका २० हजार बढी मानिस विस्थापित हुनुपर्ने अवस्था आउने छ ।

त्यस्तै कटानका कारण छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिका साथै सुनसरीमा समेत क्षति पुग्ने बेलका नगरपालिकका नगरप्रमुख अशोक कार्कीले बताए । कार्कीका अनुसार डुम्रीबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने अवस्था आउने छ ।

‘कोसीले डुम्रीबोटेमा ७ – ८ मिटर मात्रै कटान गरेमा जोखिम हुन्छ,’ नगरप्रमुख कार्कीले भने, ‘तर अहिले कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिहेको छ ।’ सिँचाइ विभाग, राष्ट्रिय विपद्‍ जोखिम न्यूनिकरण तथा व्यावस्थापन प्राधिकरण, स्थानीय बासिन्दा र नगरपालिकाले कटान रोक्ने प्रयास गरिरहेको उनी बताउँछन् ।

कोसी कटान तीव्र रुपमा बढिरहेकाले रोकथामको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । कटान रोकिएन भने कोसी पुरानै धारमा फर्किने यादव बताउँछन् । पुरानो धारमा फर्किएमा उदयपुरको बेलका लगायत सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकासमेत प्रभावित हुने उनले बताए ।

प्रकाशित : असार २०, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?