काठमाडौँ — बच्चाको कपडामा सुनको टाँक जडान गरी सुन तस्करी गरेको आरोपमा त्रिभुवन विमानस्थलबाट एक यात्रु पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सोमबार दुबईबाट काठमाडौं आएका सुमन दमाइ पक्राउ परेका हुन् ।
दुबईबाट काठमाडौं आएका दमाइको लगेज चेक गर्ने क्रममा नाबालकको पाँच वटा सिंगल पिस कपडाबाट सुन बरामद गरेको भट्टराईले बताए । उनका अनुसार ६० वटा सुनको रिङ फेला परेको हो । बरामद सुन करिब १२५ ग्राम छ । अवैध सुनको तस्कर गर्ने समूह वा व्यक्तिले नयाँनयाँ तरिका अपनाउने क्रम जारी रहँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिस्कृत गरेको बताइएको छ ।
भिजिट भिसामा दुबई पुगेका दमाइ काम नपाएपछि नेपाल फर्किएको र फर्किने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त कपडा नेपालसम्म पुर्याइदिन अनुरोध गरेपछि ल्याएको जनाएका छन् । ‘सुन स्टिल बटनको भित्री भागमा फिट गरेर राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको छ, सामान्यत: एउटा धातुभित्र अर्को धातु लुकाएर ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनाबद्ध ढंगले बटनभित्र सुनलाई फिट गरी पठाएको हुनसक्छ,’ भट्टराईले भने ।
यस घटनामा दमाइको मात्रै संलग्नता छ वा अरूको पनि छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले विदेशबाट नेपाल आउँदा नचिनेको व्यक्तिले सामान लगिदिन भनेर अनुरोध गरेमा बिचार पुर्याउन अनुरोध गरेको छ ।
विशेषगरी विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाइफकाइ कुनै मालवस्तु (जस्तैः टर्चलाइट, आइरन, मिक्स्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि) आफ्ना आफन्तका लागि पुर्याइदिन भनेर अनुरोध गर्ने गरेको पाइन्छ । त्यसरी अनुरोध गरी सामान ल्याइदिँदा भन्सार चेकका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परी सम्बन्धित यात्रुले कानुनबमोजिम कारबाही भोग्नु परेको अवस्था रहेकोले ख्याल गर्न अनुरोध गरेको छ ।
प्रकाशित : असार २०, २०७९ १९:०६