इँटाभट्टा र प्लटिङले जमिन बाँझै छाड्ने क्रम बढेसँगै धान उत्पादन घट्दो- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
धान खेतमा इँटाभट्टा

इँटाभट्टा र प्लटिङले जमिन बाँझै छाड्ने क्रम बढेसँगै धान उत्पादन घट्दो

विनोद भण्डारीे

(विराटनगर) — मोरङको कटहरी गाउँपालिका–५ का लखीराम झाँगडको घर वरपर धानको बाला नझुलेको दशक बित्यो । पहिला त्यहाँ एक बित्ता लामा धानका बाला पहेंलपुर देखिन्थे । ५२ वर्षीय उनी पनि स्थानीय जमिनदार सर्जु सरदारको पाँच बिघा कुतमा कमाउँथे ।

जमिनदारलाई कुत तिरेर बाँकी धानले चार सदस्यीय परिवारको गुजारा मात्र चलाउँदैन थिए, गोलामा केही बिक्री गरेर घर खर्च पनि टार्दै आएका थिए ।

लखीरामले धान रोप्न छाडेको दशक भयो । अहिले उनको घरमा बजारमा किनेको चामलको भात पाक्छ । पहिला आफैंले धान रोप्ने खेतमा ठडिएको इँटाभट्टामा अहिले उनी मजदुरी गर्छन् । ‘पहिला आफूले यो खेतमा धान रोप्दा पहेंलपुर बाला झुल्थ्यो,’ लखीरामले भने, ‘अहिले इँटाको डंगुर लाग्ने गरेको छ ।’ उनका अनुसार त्यहाँका तत्कालीन जमिनदार सर्जुको सय बिघा जमिनमध्ये अहिले ९० बिघामा इँटाभट्टा छ । उनी मात्र होइन, दशक पहिला चार बिघा खेत ठेक्कामा धान रोपाइँ गर्ने गरेका जगन्नाथ मण्डल पनि त्यही खेतमा ठडिएको इँटा भट्टाको चिम्नीमा इँटा पोल्छन् । ‘चार बिघामा धान रोपाइँ गर्दा मालिकलाई ठेक्का तिरेर पनि परिवारको गुजारा मीठो मसिनो खाएरै चलेको थियो,’ मण्डलले भने, ‘साहुले भट्टालाई खेत बिक्री गरेपछि अहिले मजदुरी गरेर कमाएको पैसाले खाद्यान्न किन्छु ।’

कटहरीका वडा ४, ५ र ६ मा धान खेतका लागि अब्बल हजार बिघाभन्दा बढीमा अहिले इँटाभट्टा छन् । स्थानीय सम्पतलाल साहले भने, ‘पहिला यी खेतमा धानका बाला लहलह झुल्थ्यो, अहिले इँटाभट्टाको चिम्नीको धूवाँले आकाश नै ढाक्छ, जमिन खनेर क्षतविक्षत पारिएको छ ।’ स्थानीय हरि भट्टराईका अनुसार डेढ दशकदेखि यहाँका सबै जमिन बाँझै छ । यी भट्टाहरूले जमिन बाँझो बनाएको एवं प्रदूषण फैलाएबापत पालिकाले प्रतिभट्टा वार्षिक ३ लाख रुपैयाँ राजस्व असुली गर्दै आएको छ । पालिका प्रमुख देवराज चौधरीका अनुसार इँटाभट्टाले पालिकाको वडा ५ र ६ को प्रायः सबै खेतीयोग्य जमिन ओगटेको छ । प्रदूषणले अन्य खेतीयोग्य जमिन बाँझै भएको उनको भनाइ छ ।

मोरङकै रंगेली नगरपालिका–२ र ३, धनपालथान गाउँपालिका–३ र ४ का हजारौं बिघा खेतीयोग्य जमिनमा पनि इँटाभट्टा छ । अरू खेतीयोग्य जमिन पनि वर्षौंदेखि बाँझै छ । ‘भट्टाबाट निस्कने धूवाँले घरमा बस्न–सुत्न गाह्रो हुन्छ, वरिपरिका खेत सुक्खा भएर बालीसमेत लगाउन सकिन्न,’ धनपालथानको दादरबेरिया बस्तीका किसान कपिल राजवंशीले भने । रंगेली–२ भलुवामा मात्र सात इँटाभट्टा छन् । स्थानीयले वातावरण प्रदूषण भएको भन्दै पटकपटक सम्बन्धित निकायमा उजुरी गरे पनि अहिलेसम्म सुनुवाइ नभएको भलुवाका सुभाष सिग्देलले बताए । मोरङ, सुनसरी र झापामा १ सय १६ वटा इँटाभट्टा छन् । प्रत्येक भट्टाले आफ्नो र भाडाको सहित माटो खन्ने गरेर सरदर ३० बिघा जमिन ओगटेको पूर्वाञ्चल इँटा उत्पादक संघका पूर्वउपाध्यक्ष मुरारी रेग्मीको भनाइ छ ।

इँटाभट्टा र घडेरी प्लटिङ गरेर जमिन बाँझै छाड्ने क्रम बढेसँगै प्रदेश १ मा धान खेत हरेक वर्ष घट्दो छ । प्रदेश १ का १४ जिल्लामा दशक पहिलासम्म ४ लाख २४ हजार ७ सय ५६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्थ्यो । अहिले घटेर ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा झरेको प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ । निर्देशनालयको तथ्यांकअनुसार प्रदेश १ मा पछिल्लो समय प्लटिङ र इँटाभट्टाका कारण ८३ हजार हेक्टरभन्दा बढीमा खेती घटेको छ । खेतीयोग्य जमिन घटेसँगै उत्पादन पनि घट्दो छ । निर्देशनालयको तथ्यांकअनुसार प्रदेश १ का १४ वटा जिल्लामा १६ लाख टनसम्म धान उत्पादन भएको थियो । गत वर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टरमा धान खेती हुँदा १२ लाख ८२ हजार ५ सय ७२ टन धान उत्पादन भएको निर्देशनालयकी सूचना अधिकारी सरिता श्रेष्ठले बताइन् ।

मोरङमा ८३ हजार ३ सय हेक्टरमा धान खेती हुने गरेको छ । जिल्लाको विराटनगर महानगरसहित टंकीसिनवारी, हात्तीमुढा, सुन्दरपुर, इन्द्रपुर, दुलारी, बेलबारी, केराबारी, लेटाङ, डाँगीहाट, पथरी, उर्लाबारी, मधुमल्ला, राजघाट, इटहरा, बयरवन, केरौन, शनिश्चरे, सिजुवा, रंगेली, दर्वेशा, अमरदहलगायतका क्षेत्रको राजमार्ग र सहायक मार्गका आसपासका प्रायः सबै उर्वरा जमिन प्लटिङ गरिएको छ ।

प्रकाशित : असार २०, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकामा सकियो इन्धन

एजेन्सी

कोलम्बो — श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको जनाएका छन् । देशमा सञ्चित रहेको इन्धन एक दिनका लागि पनि नपुग्ने उनले आइतबार जनाएका हुन् ।

फाइल तस्बिर : रोयटर्स

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डारण करिब ४ हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका हुन् । ‘पेट्रोल र डिजेल जुलाई २२ वा २३ मा मात्र आइपुग्ने अनुमान गरिएको छ,’ कोलम्बोमा आइतबार पत्रकारसँग उलने भने । नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको भए पनि जुलाई २२ अघि नयाँ आपूर्तिका लागि आश्वासन नपाएको उनको भनाइ छ । श्रीलंकाले पेट्रोल र डिजेल बचत गर्न गत साता अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साताका लागि रोक्ने निर्णय गरेको थियो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि विदेशी मुद्राको अभाव भएपछि इन्धन आयातमा समस्या भएको हो । जसका कारण सार्वजनिक यातायातहरू लगभग ठप्प छन् । अधिकांश पेट्रोल पम्पमा पेट्रोल र डिजेलका लागि सर्वसाधारणहरू घण्टौं लाममा बस्न बाध्य छन् ।

सोमबार बैंक तथा कार्यालयहरू खुलेपछि स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्प आइतबारदेखि नै बन्द गरिएका छन् । निराश सर्वसाधारणहरू फाट्टफुट्ट चलेका गाडीमा लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्ने प्रयास गरेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल छन् । इन्धनको उच्च मागसँगै पेट्रोल पम्पमा लामबद्ध मानिसहरूबीच बेलाबखत विवाद र झगडा हुने गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

देशको दुई तिहाइ जनतालाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा सञ्चालित बसले इन्धन अभावका कारण आइतबारदेखि सेवा सीमित पारेका छन् । ‘हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेका कुल २० हजार बसमध्ये करिब एक हजार बस मात्र सञ्चालन गरिरहेका छौं । अवस्था अझै बिग्रने पक्का छ,’ निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने । आर्थिक संकट गहिरिएपछि श्रीलंकामा अत्यावश्यक सामग्रीको आयात हुन सकेको छैन ।

प्रकाशित : असार २०, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×