पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या तीन पुग्यो

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका ७ बिहिदिनमा केही दिनअघि गएको पहिरोमा परी बेपत्ता भएका थप २ जना मृत फेला परेका छन् । शुक्रबार राति परेको मुसलधारे वर्षासँगै गएको पहिरोले घर बगाँउदा बेपत्ता भएकी ३८ वर्षीय गोमा मगर र उनकी १९ वर्षीय भतिजी एलिसा मगरलाई सुरक्षाकर्मी र स्थानीयले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायवउपरिक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।

पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर भने शनिबार मृत अवस्थामा भेटिएका थिए । उक्त पहिरोमा परेका ७१ वर्षीय दलबहादुर मगरलाई स्थानीयले शुक्रबार राति सकुशल उद्धार गरेका थिए ।

पहिरोमा ज्यान गुमाएका तीनै जनाको शव आवश्यक प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरूको खोजीका लागि स्थानीयसहित सदरमुकामबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २ दिनदेखि प्रयास जारी राखेका थिए ।

पहिरो गएको क्षेत्रमा दलदले हिलो जम्नुका साथै छिनछिनमा पानी पर्दा उद्धार कार्यसमेत प्रभावित भएको थियो ।सुरक्षाकर्मी र स्थानीयले जेसीभीको सहयोग लिएर उनीहरूको खोजी गरेका थिए ।

प्रकाशित : असार १९, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?