कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हात्तीको पीरले  धान मास्दै, चिया रोप्दै 

कोदो, मकै र धान खेती गर्न छाडेर झन्डै एक हजार हेक्टरमा चिया खेती
पर्वत पोर्तेल

झापा — मेचीनगरको देहातमा हात्ती आतंक किसानको ‘टाउको दुखाइ’ को विषय बनेको वर्षौं भयो । बाली रोपेदेखि नभित्र्याउँदासम्म किसानले भोग्ने दु:खको खात कम छैन ।  हात्तीले धान, मकै, कोदोजस्ता बाली खाएर सखाप पारेका दर्जनौ दु:खका अनुभूति यहाँका किसानसँग छ ।  

हात्तीको पीरले  धान मास्दै, चिया रोप्दै 

‘एक वर्ष त एक दाना मकै पनि घर लैजान पाइएन,’ स्थानीय किसान कृष्णमाया खत्रीले भनिन्,‘सधैँ हात्तीलाई खेती गरिदिएजस्तो पो हुन्छ ।’

खाद्यबाली हात्तीको आहारा हुन थालेपछि अधिकांश किसानले वैकल्पिक खेति सुरु गरेका छन् । धान, कोदो र मकैजस्ता खाद्यबाली बदलेर चियालगायत नगदेबालीमा किसान आकर्षित भएका छन् । अधिकांश किसानले धानबाली मास्दै चिया रोप्न थालेका छन् । हात्तीले चिया नखाने भएकाले क्षति कम हुने किसानको भनाइ छ । ‘तर, चिया जोगाउन चाहीँ धेरै संघर्ष गर्नुपर्ने हुन्छ,’ स्थानीय हस्त प्रधानले भने, ‘भर्खरै रोपेका चियाका बोटमा दौडिएर क्षति पुर्‍याउने सम्भावना हुन्छ ।’ भर्खरै किसान भानु परियारको करिब डेढ बिघामा रोपेको सयौं बोट चियाका बिरुवा हात्तीले कुल्चिएर क्षति पुर्‍याएको थियो ।

आमडाँगीका कृषक हरि अधिकारीले करिब १० वर्षअघि नै बाली बदलेर धान फल्ने खेतमा चिया रोपे । धान र मकै फल्ने उनको खेतमा अहिले चियाको हरियो बुट्टा छ । ‘हात्ती आतंकका कारण कहिल्यै भनेजस्तो बाली उठाउन पाइएन’, अधिकारीले अनुभव साटे, ‘त्यही पीरले चिया खेतीतिर लागियो ।’

उनले करिब ६ बिघा जमिनमा चिया रोपेका छन् । हात्तीकै पीरले यहाँका धेरै किसान बाली बदल्न बाध्य भएका छन् । कतिपय किसानले सुपारी, नरिवल र मरिचजस्ता वालीलाई वैकल्पिक खेती बनाएका छन्।

हात्तीका कारण बाली बदल्न बाध्य किसानहरूको आफ्नै चिया कारखाना पनि छ । शुभ चिया कारखानाका प्रबन्धक सचीन निरौलाका अनुसार बाहुनडाँगी क्षेत्रका अधिकांश किसान चिया खेतीतिर लागेका छन् । उनका अनुसार करिब एक हजार हेक्टर क्षेत्रमा चिया खेती भइरहेको छ । विगतमा आधाभन्दा कम क्षेत्रमा मात्रै चिया खेती थियो । धेरै जमिनमा धान र मकै खेती नै गरिन्थ्यो । ‘तर, हात्तीको आतंक बढ्न थालेपछि किसानले चियालाई वैकल्पिक खेतीको रुपमा लिन थालेका हुन्,’ प्रबन्धक निरौलाले भने,‘आतंक कम नहुने हो भने अझै चिया खेती बढ्ने र अन्य खेती घट्दै जाने सम्भावना छ ।’

बाहुनडाँगी क्षेत्रको खेतीयोग्य जमिन कति ? भन्ने यकिन तथ्यांक न कृषि ज्ञान केन्द्र झापासँग छ, न त नगर कृषि विकास कार्यालयसँग नै । नगर कृषि विकास कार्यालय मेचीनगरका प्रमुख टेकेन्द्र प्रधानका अनुसार १५ सय हेक्टर जतिमा धान, मकै र सय हेक्टर जतिमा चिया खेती हुन सक्छ । ‘यो अनुमानित तथ्यांक मात्रै हो,’ उनले थपे,‘यकिन कति हो भन्नेबारे हामी नै अनभिज्ञ छौं ।’

प्रकाशित : असार १९, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?