जब पतिले पत्नीलाई आगो लगाएर हिँडे...

विनोद भण्डारी

विराटनगर — घर झगडाका क्रममा श्रीमान्‌ले आगो लगाइ श्रीमतीको हत्या गरेका छन् । मोरङ, रंगेली नगरपालिका–१, बबियाबिर्ता बजारका एक दम्पती २२ वर्षीय तिलक मल्लिक र उनकी पत्नी ३२ वर्षीया बबिताबीच शुक्रबार राति भएको सामान्य विवाद झगडामा परिणत हुँदा अन्त्यमा पत्नीको ज्यानै गएको छ । 

जब पतिले पत्नीलाई आगो लगाएर हिँडे...

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार बबिताले श्रीमान् तिलकलाई पैसा नकमाएको र परस्त्रीसँग लागेको आरोप लगाएपछि उनीहरुबीच विवाद सुरु भएको थियो । मदिरामा लट्ठिएका तिलकले पहिला बबिताले लगाएको आरोप नकार्दै हप्किदप्की गरेका थिए । पछि बबिताले आगो लगाएर मर्ने धम्की दिएपछि भने उनले उकास्न थालेको प्रहरीको दाबी छ ।

तिलकको उस्काहटमा बबिताले शरीरमा मट्टितेल छर्केर आगो लगाउन तयार भएपछि तिलकले ‘मै लगाइदिन्छु’ भनेर आगो सल्काइदिएको प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन् । प्रहरीका अनुसार त्यत्तिकैमा तिलकले मट्टितेल छर्केको बबिताको शरीरमा सलाई कोरेर आगो लगाइ मध्यरातमा घरबाट हिँडेका थिए ।

आगो लगाए लगतै बाँसको टाँटी र जस्तापाताको छाना भएको उनीहरुको घरमा नै आगलागी सुरु भएको थियो । छिमेकीले आगो निभाउँदै जलेर सख्त घाइते भएकी बबितालाई बाहिर निकालेर अस्पताल पठाएका थिए । एसपी कोइरालाले भने,‘पतिपत्नी बीचको सामान्य वादविवादले ज्यानै गयो ।’

उपचारका क्रममा बबिताको मृत्यु भएपछि तिलक गाउँलेको सम्पर्कमा आए । असमान्य व्यवहार गरिरहेका तिलकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले घटनाको बेलिबिस्तार सुनाउँदै आफ्नो अपराध स्वीकारेको एसपी कोइरालाले बताए ।

भारतको अररिया टेढागाँछ माइती भएकी बबितालाई दशकअघि तिलकका दाजु जगदिश मल्लिकले मागी बिहे गरेर नेपाल ल्याएका थिए । घटनाको अनुसन्धानमा खटिएका इप्रका रंगेलीका प्रहरी निरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार ६ वर्ष अगाडि जगदिशको मृत्यु भएपछि जगदिशकै भाइ तिलकले नातामा भाउजू पर्ने बबितालाई पत्नी स्वीकारेका थिए । बबिताभन्दा तिलक १० वर्ष कान्छा छन् । उनीहरुबीच एक वर्षदेखि विभिन्न घरायसी कुरामा विवाद भइरहने पाइएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : असार १९, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?