२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

संरक्षण पर्खाइमा ऐतिहासिक घर

पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका विभिन्न स्थानमा भएका पञ्चायतविरोधी आन्दोलनको रणनीति यही घरमा बनेको थियो
लक्ष्मी गौतम

पाँचथर — पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलन चर्काउन तत्कालीन योद्धाहरूले सेल्टरका रूपमा प्रयोग गरेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापस्थित घर संरक्षणको पर्खाइमा छ । पञ्चायतविरुद्धको आन्दोलनका योद्धाहरू भुविक्रम, डिल्लीविक्रम नेम्बाङ र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाका पिता खड्कविक्रम नेम्बाङ (डबल सुब्बा) ले यो घर निर्माण गरेका थिए ।

संरक्षण पर्खाइमा ऐतिहासिक घर

तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते बहुदलीय व्यवस्थालाई प्रतिबन्ध लगाएर शासनसत्ता हातमा लिएपछि उक्त कदमविरुद्ध आन्दोलन चर्काउने रणनीति यही घरमा बनेको दस्तावेजहरूमा उल्लेख छ । उक्त रणनीतिअनुसार नै कांग्रेसले २०१७ फागुनमा पाँचथरको सुकेपोखरीको प्रहरी चौकीमा सशस्त्र आक्रमण गर्दै प्रहरीलाई लखेटेको थियो । त्यसपछि भूविक्रम नेम्बाङ, देवान दोर्जे थिङ र डिल्लीविक्रम नेम्बाङलगायतको कमान्डमा पञ्चायतविरुद्ध भएको सिलौती क्रान्तिदेखि पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका विभिन्न स्थानमा भएका सबैखाले आन्दोलनका रणनीति पनि यही घरमा बनेको प्रजातान्त्रिक आन्दोलनका योद्धा कृष्णविक्रम नेम्बाङ बताउँछन् । उनीहरूले २०१७ देखि २०४६ सशस्त्र तथा निशस्त्र आन्दोलनका लागि रणनीति बनाएका थिए ।

‘यो घर आफ्नाविरुद्ध सेल्टरका रूपमा प्रयोग भएको थाहा पाएपछि पञ्चहरूले निगरानी बढाउँदै योद्धाहरूलाई पक्राउ गर्न थालेपछि नेम्बाङ परिवार निर्वासित भएर भारतको दार्जिलिङ पुगेर आन्दोलनमा थप सक्रिय भएको थियो,’ उनी भन्छन् । नेम्बाङ परिवार निर्वासित भए पनि कांग्रेसले २०१७ देखि २०४६ सम्म विभिन्न कालखण्डका आन्दोलनमा यही घरलाई सेल्टर बनाएको तत्कालीन आन्दोलनमा होमिएका योद्धाहरूद्वारा लिखित विभिन्न पुस्तकमा उल्लेख छ । प्रजातान्त्रिक आन्दोलनका कमान्डर बीपी कोइरालादेखि गणेशमानसिंह श्रेष्ठ हुँदै गिरिजाप्रसाद कोइरालासम्मका नेता पूर्वी नेपालमा आन्दोलन चर्काउने क्रममा यो घर आइपुगेका थिए । यो घरको ऐतिहासिकसँगै पुरातात्त्विक महत्त्व पनि उत्तिकै छ । इँटाको साइजमा काटिएका ढुंगा मिलाएर दरबारको रूप दिइएको थियो । सुरक्षाका लागि चारैतिर ढुंगे पर्खालले घेरिएको छ । यो घर निर्माणताका पूर्वी नेपालमा यातायात र ढुवानीका लागि मोटरबाटो आइपुगेको थिएन । त्यो बेला निर्माणकर्ता डबल सुब्बाले भारतको दार्जिलिङबाट सामग्री बोकाएर यो घर बनाएका हुन् । घर बनाउन २००९ देखि २०१४ सम्म (६ वर्ष) लागेको थियो । तीन तलाको भव्य यो घरभित्र कांग्रेसका पुराना दस्तावेज, भाँडाकुँडा र लौरोजस्ता सामग्री देख्न सकिन्छ । वरिपरि पुराना हुन लागेका भान्छा, गोदाम, बाथरुम र बगैंचा संरक्षण अभावमा खण्डहर बन्दै गएका छन् ।

तत्कालीन जनक्रान्तिका नाइके भूविक्रम घर निर्माणकर्ता डबल सुब्बाका साहिला छोरा हुन् । उनी २०४८ पछि झापाको धुलाबारी बसाइँ सरेका थिए । केही वर्षअघि भूविक्रमको निधन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला भूविक्रमका काहिँला भाइ हुन् । लामो समयदेखि उनको काठमाडौंमै बसोबास छ । वृद्ध अवस्थामा पुगेका उनलाई पनि घर संरक्षणको चिन्ता छ । ‘काठमाडौंवासी बैरागी काका फोन र म्यासेन्जरमार्फत बारम्बार घरको संरक्षण गरौं, संग्रहालयको रूप दिऔं भनिरिहनुहुन्छ, परिवारका सदस्यबीच यो विषयमा छलफल भए पनि सार्थकता पाउन सकेको छैन,’ भूविक्रमकी छोरी बबिता नेम्बाङ भन्छिन् ।

प्रकाशित : असार १९, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?