२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बर्सेनि मारिन्छन् हात्ती

‘झापामा धेरैजसो हात्ती करेन्ट लागेरै मरेको पाइएको छ, यो हात्तीको मृत्युको कारण पनि त्यही हुन सक्छ’
पर्वत पोर्तेल

काँकडभिट्टा — वन क्षेत्रभन्दा करिब ५ सय मिटर दक्षिणको आयाबारी गाउँमा शुक्रबार बिहान अन्दाजी ७ वर्षको हात्ती मृत फेला पर्‍यो । गाउँमा लामो समयदेखि बालीनाली खान हात्ती गाउँ पसेर दुःख दिँदै आएको छ ।

बर्सेनि मारिन्छन् हात्ती

हात्तीबाट घर र बाली जोगाउन किसानले गैरकानुनी रूपमा विद्युतीय तारघेरा लगाउने चलन पनि यहाँ छ । विद्युतीय तारमै परेर हात्ती मरेको हुन सक्ने अनुमान डिजिभन वन कार्यालय झापाको छ ।

निमित्त वन अधिकृत राजकुमार खत्रीले मृत हात्तीको अंग पोस्टमार्टमका लागि भेटेरिनरी अस्पताल पठाइएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने जनाए । ‘झापामा धेरैजसो हात्ती करेन्ट लागेरै मरेको पाइएको छ, यो हात्तीको मृत्युको कारण पनि त्यही हुन सक्छ,’ खत्रीले भने ।

२०७७ कात्तिक १४ मा झापा बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र मृत अवस्थामा जंगली हात्ती भेटियो । शरीर पछाडि भालाजस्तो धारिलो हतियार प्रहार भएको देखिने उक्त हात्ती स्थानीयको पटकपटकको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालय झापाले अनुमान गरेको थियो । वन कार्यालयले हात्तीमाथि आक्रमणबारे खोजी नगरेपछि उक्त घटना सेलाउँदै गयो । संरक्षित सूचीमा रहेको जनावर बर्सेर्नि मारिँदा पनि वन कार्यालय गम्भीर बन्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट पनि हतपत सार्वजनिक नगर्ने प्रचलन वन कार्यालयको छ ।

नेपाल कानुन आयोगका अनुसार, कुनै हात्ती कुनै कारणले मर्न गएमा सम्बन्धित इलाकाको वन अधिकृतले आवश्यक जाँच/पड्ताल गरी वा गर्न लगाई हात्तीको अन्त्येष्टि कर्म गर्न आदेश दिइनुपर्ने हुन्छ । तर, यहाँ कुनै जाँच टोली नबनाएरै मुचुल्का बनाएर खाल्डोमा गाड्ने परिपाटी छ । वन कार्यालयले अहिलेसम्म यसरी गम्भीर रूपले कुनै अनुसन्धान गरेको संरक्षणकर्मी शंकर लुइँटेललाई थाहा छैन ।

वन कार्यालयमा हरिण, चित्तल, आदि वन्यजन्तु मारेको आरोपमा धेरैलाई मुद्दा चले पनि हात्ती मारेको आरोपमा अहिलेसम्म कसैमाथि पनि मुद्दा चलाएको देखिँदैन । ‘हात्ती मारिएको घटनामा मुद्दा चलेको थाहा छैन,’ सहायक वन अधिकृत कुलप्रसाद भट्टराईले भने । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार हात्तीलगायत दुई दर्जन जंगली जनावर संरक्षित सूचीमा छन् ।

ती जन्तु गैरकानुनी रूपमा मारेमा ३ वर्षदेखि १० वर्ष र अझ बढी कैद र जरिवाना हुने प्रावधान छ । डिभिजन वन कार्यालयका अनुसार विगत १५ वर्षयता झापामा १४ वटा हात्तीको मृत्यु भएको छ । वनको तथ्यांकलाई आधार मान्ने हो भने बर्सेर्नि एउटा हात्ती मारिने गर्छ । वर्षमा एउटा हात्ती मारिनु भनेको ठूलो क्षति रहेको संरक्षणकर्मीहरूको भनाइ छ । संरक्षणकर्मी लुइँटेलका अनुसार झापामा करिब ५० वर्षदेखि मानव–हात्ती द्वन्द्व जारी छ । यही द्वन्द्वको चपेटामा हात्ती र मान्छे दुवै पर्ने गरेका छन् । ‘मान्छे र हात्ती दुवैको बर्सेनि मृत्यु भइरहेको छ,’ लुइँटेलले भने, ‘दुवैलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

प्रकाशित : असार १८, २०७९ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?