२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जिप दुर्घटनामा १३ जना घाइते

विप्लव भट्टराई

इलाम — मेची राजमार्गको इलाम नगरपालिका १ साँखेजुङस्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । सडकबाट करिब २ सय मिटर जिप खसेको हो । 

गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका-२ सुम्बेकका चुडामणि घिमिरेसहित ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका-५ का २१ वर्षीय अनीशा तामाङ, सोही गाउँपालिका-५ का २४ वर्षीय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने ३० वर्षीय नीमा खतिवडा तामाङ छन् ।

त्यस्तै झापा मेचीनगर नगरपालिका ९ बस्ने २२ वर्षीय डिवन राई, उनकी १० महिनाकी छोरी रियन्सा राई, झापा मेचीनगर ९ की २२ वर्षीया मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षीय इन्द्रबहादुर कार्की, ५६ वर्षीय जीतबहादुर थेवे पाँचथर फालेलुङ गाउँपालिका-१ का ३० वर्षीय अप्सरा कोइराला, पाँचथर याङबरक ५ का ५१ वर्षीय प्रेम तामाङ, याङबरक-६ का २३ वर्षीय दीपेन्द्र कोइराला र भोजपुर पौवादुङमा गाउँपालिका श्यामशिलाका २७ वर्षीय सुरेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चालक घिमिरेसहित डिवन, मञ्जिला र जीतबहादुरको टाउकोमा चोट लागेको छ । घाइतेहरू सबैलाई इलाम अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापातर्फ पठाइसकिएको छ ।

ओरालो र हुस्सुका कारण चिप्लो भएको बाटोमा घुम्तीमा गोलाइ घुमाउन नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : असार १७, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?