प्रिन्सिपलका कामदारले स्कुल बस चलाउँदा एक विद्यार्थीको मृत्यु, एकको अवस्था गम्भीर

विनोद भण्डारी

विराटनगर — प्रिन्सिपलको घरमा काम गर्ने कामदारले स्कुलको बस चलाउँदा मंगलबार रंगेलीमा एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । विद्यालयले बुधबार मृतक परिवारलाई साढे आठलाख रूपैयाँ क्षतिपूर्ति दिएर बुधबार घटनालाई साम्य पार्न खोजेको छ ।

प्रिन्सिपल भक्तराज सुब्बाका घरेलु कामदार विजय माझीले रंगेली ७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले विद्यार्थी ओर्सान खोज्दा एलकेजीमा पढ्ने पाँच वर्षीय रितिक मण्डल र सनमकुमारी मण्डललाई विद्यालयको गेटमा किच्दा रितिकको घटनास्थलमा मृत्यु भएको थियो ।

अर्का घाइते पाँच वर्षीय सनमकुमारी मण्डल सख्त घाइते छिन् । उनको विराटनगर स्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

मृतक परिवारलाई विद्यालय सञ्चालकले साढे आठ लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेको सम्पूर्ण उपचार गर्ने सर्तमा घटनालाई बुधबार साम्य पारिएको थियो । क्षतिपूर्तिमा सहमती भएपछि मृतक परिवारले शव बुझेका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन प्रतिनिधिको रोहवरमा भएको दुई पक्षीय सहमतीलाई स्थानीयले विरोध गरेका छन ।

मृतकका परिवार र विद्यालय सञ्चालकबीच बुधबार भएको वार्तामा विद्यालय सञ्चालकले पीडित पक्षलाई साढे आठ लाख रुपैयाँ क्षतिपूर्ति दिने र अर्का घाइतेको सम्पूर्ण उपचार खर्च व्यर्होने सहमति भएको रंगेलीका मेयर दिलिप बगोडियाले बताए । वार्ताको रोहवरमा स्थानीय प्रहरी प्रशासन र मेयर बगोडिया बसेका थिए ।

प्रिन्सिपल सुब्बाका कामदार माझीको सवारी चालक परिचय पत्र छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना लगत्तै स्थानीयले स्कुलका दुईवटा बस तोडफोड गर्दै प्रर्दशन गर्दा मंगलबार अपरान्ह रंगेली तनावग्रस्त बनेको थियो । उनीहरुले रंगेली भद्रपुर हुलाकी मार्गमा प्रर्दशन गर्दा केहीक्षण यातायात प्रभावित भएको थियो ।

विद्यालय सञ्चालकको चरम लापरबाहीका कारण मंगलबार विद्यालय परिसरमै बालक विद्यार्थीको ज्यान गएको स्थानीयको भनाइ छ । विद्यालयले व्यवस्थित पार्किङको व्यवस्था नगरेको, विद्यालय अगाडीको सडकमा जथाभावी पार्किङ गर्दा सडक नै साँघुरो भएका कारण दुर्घटना भएको स्थानीयको गुनासो छ ।

ज्यान गएको घटनामा दुई पक्षबीचको सहमतिमा लेन देन भएपनि चालकलाई कानून बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने, 'दुई पक्षीय सहमतीमा के भयो के भएन मान्य रहँदैन । प्रहरीले कानून बमोजिमको क्षतिपूर्ति उपलब्ध गराउन र कारबाही प्रक्रिया अगाडी बढाउँछ ।'

प्रकाशित : असार १५, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?