बस्तीमा पस्यो सिंघिया खोलाको बाढी, २५ घर विस्थापित- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीमा पस्यो सिंघिया खोलाको बाढी, २५ घर विस्थापित

विनोद भण्डारी

विराटनगर — विराटनगरका विभिन्न बस्तीमा बाढीपहिरो पसेको छ । बाढीपहिरो बस्तीमा पसेपछि स्थानिय सुरक्षित स्थानतर्फ गएका छन् ।

विराटनगर महानगरपालिका–८ हाटखोलामा सिंघिया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । वडा नम्बर–२ का १५ घरमा पनि बाढी पसेपछि त्यहाँका स्थानीय पनि विस्थापित भएका छन् ।

यस्तै, कटहरी १ को खारटोलमा ६० घर विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बेलबारी– ६ मा खरखोलाको बाढी पस्दा ८ घर विस्थापित भएका छन् ।

बुढीगंगा –२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी भएपछि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसका साथै मंगलबार बिहान गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको थियो ।

सोमबार रातिको पानीको कारण झापा, सुनसरी र मोरङका विभिन्न स्थानका नदीमा पानीको सतह बढेसँगै बाढी आएपछि बस्ती तथा घर डुबानमा परेका छन् ।

प्रकाशित : असार १४, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

चोरी पैठारीका कारण भन्सारको तथ्यांकमा कपडाको आयात घट्यो

विनोद भण्डारी

विराटनगर — विराटनगर भन्सारको तथ्याङ्कमा भारतबाट हुने कपडाको आयात घटेको छ । जोगबनी नाकाबाट चालु आर्थिक वर्षको जेठसम्ममा ६३ करोड रुपैयाँ मूल्य बराबरको कपडा आयात हुँदा १४ करोड १० लाख रुपैयाँ राजश्व उठेको छ । जबकि गत वर्षको यसै अवधिमा ८६ करोड ३७ लाख मूल्य बराबरको भारतीय कपडा आयात हुँदा १९ करोड ५० लाख राजश्व असुली भएको थियो ।

फाइल ।

चालु वर्ष आयात घटे पनि बजारमा भारतीय कपडा छ्यापछ्याप्ती छन् । विराटनगर भन्सार अधिकृत रामचन्द्र ढुङ्गानाले पनि चोरी पैठारी बढेका कारण तथ्यांकमा आयात न्यून देखिएको बताए । उनले भने ‘बजारमा खपत हुने भारतीय कपडाको तुलनामा भन्सारबाट आउने कपडा एकदमै न्यून हो ।’

भन्सार महसुल वृद्धि हुनु र रेडिमेड कपडा आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी) खोल्नुपर्ने प्रावधानले कपडाको चोरी तस्करी बढेका हो । व्यवसायीका अनुसार कपडाको भन्सार महसुल बढेपछि भन्सार नाकाबाट नभई क्यारिङबाट भारतीय कपडाको आयात बढेको छ । निकासी पैठारी संकेत नम्बर (एक्जीयम कोर्ड)का कारण प्रतितपत्र (एलसी) खोल्नुपर्ने प्रावधानले अधिकांश व्यापारीले सिधै आफ्नो पसलका नाममा आयात गर्न सक्तैनन् । आयात गर्नेले पनि उच्च महसुलका कारण भन्सार तिरेर ल्याउन चाहन्नन् । ती व्यवसायीले भने ‘त्यो भीडलाई रोक्न र प्रतिस्पर्धामा टिक्नैका लागि भएपनि क्यारिङ गरेर कपडा ल्याउनुको विकल्प छैन ।’

सामान्य सुती कपडाको भन्सार महसुल १५ प्रतिशत र रेडिमेडको २० प्रतिशत सहित भ्याट १३ प्रतिशत महसुल छ । त्यसमाथि एलसी पनि खोल्नु पर्ने प्रावधानले व्यापारीले नै तस्करी गरेर कपडा आयात गर्ने गरेका छन् । पाँच प्रतिशत भन्सार महसुल लाग्दै आएको सुती कपडाको भन्सार मूल्याङ्कन १५ पुर्‍याइएको छ । ‘प्रतिमिटर १ सय ९० रुपैयाँ भन्सार महसुल लाग्ने गरेको ब्राण्डेड सटिङ सुटिङका कपडाको ६ सय ५० रुपैयाँ कायम भएको छ’ एक व्यवसायीले भने ‘हरेक कपडाको भन्सार महसुल बढेपछि सीमावर्ती बजारसँग प्रतिस्पर्धा हुनै सक्तैन । सीमावर्ती बजारको तुलनामा विराटनगरमा कम्तीमा ३५ प्रतिशत महँगो पर्छ ।’

विराटनगरमा भन्दा जोगबनी बजारमा एक मिटर सुती कपडामा कम्तीमा ५०–६० रुपैयाँ सस्तो पर्छ । सटिङ सुटिङको कपडाको मूल्यमा प्रति मिटर दुई सय रुपैयाँसम्म फरक पर्छ । यो मूल्य अन्तरले सर्वसाधारणलाई सीमावर्ती बजारले तान्दै पूर्वमा कपडाको तस्करी बढाएको व्यवसायीको दावी छ । सुती कपडाका थोक विक्रेता नन्दकिशोर जाजुले भने ‘यस्तो अवस्थामा कुनै पनि व्यापारीले भन्सार तिरेर कपडा ल्याएर बिक्री गर्न सक्ने अवस्था नै छैन ।’ सुती कपडाको भन्सार महसुल ५ प्रतिशत हुँदा जोगवनी नाकाबाट तीन वर्ष अघि ४३ करोड ६२ लाख ९५ हजार मूल्य बराबरको ९७ लाख मिटर कपडा आयात भएको थियो । भन्सार महसुल १५ प्रतिशत कायम गरेपछि चोरी पैठारी बढेको छ । मूल्य अन्तरले स्थानीय उपभोक्ताको भीड सीमावर्ती बजारमा लाग्न थाल्यो ।


प्रकाशित : असार १४, २०७९ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×