कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लेकाली क्षेत्रको लाचाम खर्क रित्तै

कार्यान्वयनमा छैन राष्ट्रिय खर्क नीति
किसानलाई दूधका लागि भन्दा मासुका लागि भैंसी बेच्दा बढी मूल्य
चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकासँग सीमा जोडिएको संखुवासभाको मादी नगरपालिका सोलाबनका रणध्वज कार्कीले जीवनका ८६ औं हिउँद कटाए । गाउँभन्दा दुई घण्टा माथि रहेको लाचाम खर्कमा उमेरमा उनले ६० वटा सम्म भैंसी चराए । नागी र खर्कमा मालिङगोका चित्राले बुनेर लामो गोठ बनाए । ३० देखि ३५ वटा सम्म त दुहुना मात्र हुन्थे ।

लेकाली क्षेत्रको लाचाम खर्क रित्तै

वारिपारि गाउँका दौंतरी भैंसी गोठालाहरू पनि खर्कमै भेटिन्थे । भैंसी गोठालो गर्दा गर्दै उनले आधा जीवन लाचाम खर्कमै बिताए । घिउ बनाएर धरानसम्म लगेर बिक्री गरेको सम्झना अहिले पनि ताजै छ ।

बुढेसकालमा गोठालो गर्न नसके पछि उनी यतिबेला गाउँ झरेका छन् । घरमा परिवारले दुईवटा गाई पालेका छन् । उमेर छँंदाको गोठाले जीवन र खर्कभरि भैंसी चराएको सम्झना मात्र छ । तर खर्क र गोठमा न भैंसी छन्, न त पाठापाठी नै । भैंसी राखेका ती पुराना बर्खे गोठ पनि अहिले मक्किएर ढलिसकेका छन् । मेन्छ्यायेम गाउँपालिका श्रीजुङको सेखिम्बाका बलबहादुर घिसिङ पनि भैंसी पालेर लाचाम हुँदै मेन्छ्यायेम खर्कमा लामो समय बिताए । उनले यी लेकाली खर्कमा ४३ माउसम्म भैंसी पालेर चराउन भ्याए । वर्षको ८ महिनाजस्तो गाउँ छोडेर उनी भैंसी गोठमा रमाउँथे । घिसिङ पनि अहिले भैंसी गोठ मासेर गाउँतिरै झरेका छन् । खर्कमा भैंसी गोठका भग्नावशेष मात्र देखिन्छन् । खर्क रित्तै छ ।

तेह्रथुम र संखुवासभाको माथिल्लो क्षेत्रको खर्कबाट भैंसी गोठ हटाउने गोठालाको संख्या निकै ठूलो छ । हजारौं रोपनी क्षेत्रफलका यहाँका खुल्ला नागी र खर्क यतिबेला रित्तै छन् । यी जिल्लामा यतिबेला भैंसीको संख्या त घटिरहेको छ नै, पुराना खर्कसमेत पशुवस्तु अभावमा खाली छन् । जसले गर्दा लेकाली क्षेत्रको जैविक विविधता संरक्षणमा नै असर परेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठ बताउँछन् । यी खर्कमा अहिले थोर बहुत चौंरी चरेको देख्न सकिन्छ ।

गाउँघरतिर समेत अहिले भैंसी मासिँदै गएको छ । किसान गाई पालनतर्फ लागेका छन् । गाउँघरका साना किसानले पालेका पनि मासु प्रयोजनका लागि बिक्री भइरहेकाले जिल्लाका पशुपालक किसानमाझ भैंसीको अभाव भएको भेटेनरी अस्पताल तथा पुश सेवाविज्ञ केन्द्रले जनाएको छ । पहिले भैंसी चराउने खर्क र जंगललाई वन कार्यालयले सामुदायिक वन बनाएर समुदायलाई जिम्मा लगाएपछि चरन क्षेत्र मासिएको भैंसी पालक किसानको भनाइ छ । पुराना खर्क र चौरहरूमा सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण गरी चरन निषेध गरेका छन् ।

भएका भैंसी र पाडापाडीको मूल्य आकासिएकाले व्यावसायिक किसानले सरकारसँग भैंसी संरक्षण कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । भएका दुधालु भैंसीको संरक्षण र पाडापाडी उत्पादनका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्न नसक्दा बर्सेनि संख्या घढ्दै गएको हो । सडक असुविधाका कारण टाढाबाट खरिद गरेर ल्याउन नसकिने र स्थानीय स्तरमा रहेका सीमित भैंसीको मूल्य बढ्दा सामान्य किसानको पहुँच बाहिर गइसकेको तेह्रथुमको आठराई गाउँपालिका खाम्लालुङका अगुवा भैंसीपालक किसान गोपी ढुंगानाले बताए ।

संरक्षणका लागि सरकारी स्तरबाट कार्यक्रम संचालन नगरे भैंसी लोप हुने उनको ठोकुवा छ । दूध उत्पादनका लागि महँगो मूल्यमा किनेर पालिएका उन्नत जातका भैंसीसमेत मासुका लागि विक्री गर्न थालिएकाले जिल्लाभर अभाव खड्किएको भैंसीपालक किसानको गुनासो छ । जिल्लामा सुरुमा लिमे र पारकोटे जातका भैंसीमा मुर्रा जात क्रस गराएर पाडापाडीको उत्पादन गरिएको भए पनि त्यो प्रभावकारी नभएको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले केही वर्षअघि जिल्लामा भैंसीको संख्या बढाउन विभिन्न क्षेत्रमा पालन पकेट क्षेत्र घोषणा गरेर मुर्रा जातका पाडी र बीउका राँगा वितरण गरेको थियो । तर व्यावसायिक भैंसीपालनमा किसानको ध्यान नै नगएको पशुचिकित्सकको भनाइ छ । सुरुमा गाउँगाउँमा किसान स्तरमा गठन गरिएका भैंसीपालन समूहसमेत अहिले निष्क्रिय छन् ।

थोरै तर स्वादिलो दूध दिने स्थानीय रैथाने भैंसी मासुका लागि काटिने क्रम बढ्दो छ । स्थानीय हावापानीमा राम्ररी फस्टाउने यस्ता भैंसीको समेत गाउँघरतिर अभाव छ । रैथाने भैंसीको अभाव भएर दूधका लागि उन्नत जातको मुर्रा भैंसीलाई पशु सेवा कार्यालयको सहयोगमा किसानले भित्र्याएका थिए । ती भैंसी पनि अहिले मासुका लागि धमाधम काटिँदै छन् । भैंसी किसान व्यावसायिक हुन नसक्नु, रोग तथा उपचारका बारेमा प्राविधिक ज्ञान नहुनु, खानपान र उचित स्याहार नपुग्दा समयमा बाली नलाग्नु, चरन क्षेत्र साँघुरिनु, पछिल्ला पुस्ताले भैंसीपालनमा रुचि नदेखाउनुजस्ता कारणले किसान एक दुई बेत भैंसी ब्याएपछि कटाइमा दिन्छन् । भैंसीमा गरेको लगानी उठाउन नपाउँदै बिक्री गर्नुपर्ने अवस्था रहेको धर्मदेवी नगरपालिका संखुवासभाका किसान टंक पौडेलले बताए ।

किसानले गाउँघरमा दूधका लागि पालेका उन्नत जातका भैंसी तथा पाडापाडीसमेत बढी मूल्य पाउनेबित्तिकै बिक्री गर्ने गरेकाले पुराना र व्यावसायिक किसानसँग समेत भैंसीको अभाव छ । बढी मूल्य आउने भएपछि दूध दिँदै गरेका भैंसीसमेत बिक्री गर्ने गरेको पशु प्राविधिक रेवत दाहालको भनाइ छ । कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले विभिन्न जातका भैंसीको अध्ययन अनुसन्धान गर्दै आएको छ । तर त्यहाँ उत्पादन भएका सीमित संख्याका भैंसी र पाडापाडी यहाँसम्म आइपुग्दैनन् । गाउँमा बचेखुचेका केही भैंसीको मूल्य भने आकासिएको छ । सामान्य दूध दिने भैंसीको मूल्यसमेत अहिले ७० हजारदेखि १ लाख ९० हजार रुपैयाँसम्म पर्छ । पशु सेवा कार्यालयका अनुसार अहिले जिल्लामा १५ हजार १ सय ४५ भैंसी र पाडापाडी छन् ।

स्थानीय समुदायको जीविकोपार्जन, राष्ट्रको आर्थिक विकासको आधार र जैविक विविधताको भण्डारको रूपमा रहेको खर्कको वैज्ञानिक व्यवस्थापन नहुँदा पनि भैंसीसँगै अन्य पशुपालक किसानलाई समस्या परेको छ । जडीबुटी, वन्यजन्तुको बासस्थान, घरपालुवा जनावरको जीवन धान्ने स्रोत, नदीनालाको पानीको स्रोत, मनोरम भू–दृश्यका साथै वैज्ञानिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वका यस्ता क्षेत्रहरू अनादिकालदेखि नै मानव जीवनयापनका अभिन्न अंगको रूपमा छन् ।

गाउँबस्तीबाट टाढा उच्च, मध्य र तल्लो पहाडको चुरेक्षेत्रको आसपासमा रहेका यस्ता खर्क र यिनमा आश्रित स्थानीय समुदायको खस्किँदो अवस्थालाई दृष्टिगत गर्दै खर्कहरूको वैज्ञानिक व्यवस्थापन, संरक्षण र उपयोग गरी दिगो विकास गर्ने उद्देश्यले जारी गरिएको राष्ट्रिय खर्क नीति २०६८ समेत अलपत्र अवस्थामा छ ।

प्रकाशित : असार १४, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?