कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नगरपालिकाले ४ करोडमा बनाएकोसंरचना ४ महिनामै भासियो

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको टेवा पर्खाल भासिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार सात सय ५१ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त संरचना गत फागुन ३ गते उद्घाटन भएको थियो ।

नगरपालिकाले ४ करोडमा बनाएकोसंरचना ४ महिनामै भासियो

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने गरी उक्त संरचना बनाइएको थियो । व्यवसायिक प्रयोजनका लागि बनाइएको उक्त संरचना मासिक दुई लाख ९७ हजार भाडा उठ्ने गरी निर्माण गरिएको थियो । सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क बनाइएको छ । चिल्ड्रेन पार्क नजिक बनाइएको स्वीमिङ पुल र सपिङ कम्प्लेक्सको पूर्वी मोहडाको पर्खालसमेत भासिएको छ ।

उमा–लामा–अनसुवी जेभीले ठेक्का लिएको उक्त संरचना निर्माणको चार महिनामै भासिएको हो । निर्माण कम्पनीले काम सकेपछि गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजाल र विणादेवी राईले उद्घाटन गरेका थिए ।

तर हालसम्म चिल्ड्रेन पार्क प्रयोगमा आएको छैन । सपिङ कम्प्लेक्स पनि पूर्ण रुपमा भाडा लागेको छैन । प्रयोगमा नआउँदै संरचना भत्किएकाले प्राविधिक आधारमा के कति क्षति भएको हो, डिटेल स्टिमेटमा के कस्तो छ भन्ने जस्ता विषयमा तथ्य प्रतिवेदन बुझाउन इन्जिनियरलाई निर्देशन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

‘चार महिनामै सपिङ कम्प्लेक्सको पछाडिपट्टिको भाग पूरै भत्किएको छ,’ भट्टराईले भने, ‘प्रतिवेदन आएपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’

प्रकाशित : असार १३, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?