खाँदबारी बजार अनुगमन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाँदबारी बजार अनुगमन

कान्तिपुर संवाददाता

संखुवासभा — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले संखुवासभाको खाँदबारी बजार अनुगमन भएको छ । आइतबार ७ वटा खाद्य पसलहरु, २ बेकरी उद्योग र १ आाप सप्लायर्सको पसल अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विभिन्न खाद्य पसलबाट म्याद नाघेका, बिग्रेका, ढुसी लागेका, लेबल विवरण नभएका मसलाजन्य पदार्थ, जुस, बिस्कुट, सुजी, पिनट बार, सोनपापडिलगायत करिब ९२ हजार बराबरको खाद्यपदार्थ जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईले बताए ।

उपभोक्ता स्वयंले समेत खाद्य पेय पदार्थ खरिद गर्दा अनिवार्य लेबल हेरी म्याद कायम भएका मात्र खरिद गर्ने, दूषित ढुसि लागेका खाद्यपदार्थ खरिद नगर्ने, खाद्य पदार्थको स्वच्छतामा ध्यान दिएर मात्र उपभोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित : असार १२, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा एसमा रोपिएको कलहको बीउ

मणि दाहाल

काठमाडौँ — तत्कालीन नेकपा र पछि एमालेमा विधिभन्दा व्यक्ति प्रधान भएको भन्दै माधव नेपाल समूहका नेताहरुले निरन्तर प्रश्न उठाए । उक्त प्रश्नमाथि नेतृत्वले सुनुवाइ नगर्दा गत वर्ष एमालेबाट नेपालको समूहले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको थियो । गठन भएको १० महिनामै यो पार्टीभित्र पनि विधिप्रधान कि व्यक्ति भन्ने विवाद झांगिएको छ । शुक्रबार भएको मन्त्री परिवर्तन प्रकरणले पार्टीभित्र कलहको बीउ रोपेको छ ।

हुन त, गत असोजमा नियुक्त हुँदा नै ६-६ महिनामा मन्त्री परिवर्तन गर्ने भन्ने पार्टीभित्रको सहमति थियो । तर त्यो सहमतिअनुसार अघि बढ्ने कि राष्ट्रिय आवश्यकताअनुसार मन्त्रीबारे निर्णय गर्ने भन्ने अन्तरविरोधले झण्डै तीन साता नेकपा एस आन्तरिक विवादमा रुमलियो ।जुन विवादको प्रारम्भिक पटाक्षेप आइतबार मन्त्री फेरबदलसँगै भएको छ । तर पार्टीभित्र असन्तुष्टि ग्राफ भने घटेको छैन, उचाई लिँदैछ ।

यो प्रकरणमा सुरुमा मन्त्रीहरुलाई समेत जानकारी नदिई अध्यक्ष लगायतका नेताले फेरबदल हुने सूचना बाहिर ल्याए । जसलाई बहालवाला मन्त्रीहरुले 'पार्टीले अपराधी' शैलीमा हटाउन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष हारगुहार गर्न पुगे । एउटा पार्टीका मन्त्रीहरु अर्को पार्टीका नेताहरुसँग आफ्नो पद बचाउनका लागि हारगुहार गर्नु पुग्ने घटनाले नेकपा एसभित्र कुन विधि र पद्धति अवलम्बन भइरहेको छ भन्ने देखायो ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा पार्टीको कमजोर प्रदर्शनपछि कतिपयले त्यसको भविष्यमाथि प्रश्न गरिरहेका छन् । यही समयमा मन्त्री परिवर्तनको विषय ठूलो रडाको बन्यो । त्यसले देशभर संगठन विस्तार गर्न नसकेको सो पार्टीलाई कुन आयतनको क्षति पुर्‍याउँछ आगामी दिनमा देखिनेछ । किनकि अहिले बहिर्गमित मन्त्रीहरुले आफ्नो बहिर्गमनलाई आफूमाथिको अन्याय ठानिरहेका छन् ।

गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन सरकारमा सहभागी हुँदै आका‌ंक्षीहरुको व्यवस्थापनलाई ६-६ महिनाको साटफेर गर्ने सुत्र निकालेर समाधान खोजिएको थियो । त्यसको आधारमा विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री सहरी विकास, प्रेम आले पर्यटन, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री बनेका थिए । त्यसैगरी खतिवडाले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयमा भवानीप्रसाद खापुङले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । राष्ट्रिय आवश्यकता र विशिष्ठ काम जिम्मेवारीको आधारमा मन्त्री हुने र फेरिनेभन्दा पनि पार्टीभित्रको आकांक्षीको व्यवस्थापनका लागि निकालिएको सुत्र आफैंमा आलोचित थियो । यस्तो सुत्रलाई कतिपयले अराजनीतिक पनि ठानेका थिए । आलोपालो मन्त्री बनाउएर भाग पुर्‍याउन शैली राजनीतिकभन्दा बढी व्यक्ति रिझाउनेतर्फ नै केन्द्रित थियो ।

मन्त्री परिवर्तनको विषयमा निर्णय गर्दा समयलाई पर्याप्त मात्रामा ध्यान दिएको देखिएन । यसले पनि असन्तुष्टि निम्त्यायो । संसद्‍मा बजेट प्रस्तुत गर्नेबित्तिकै र मन्त्रीहरुले जवाफ समेत नदिएको अवस्थामा परिवर्तन गर्न निर्णय गर्नुमा नेतृत्वको कच्चापन देखिएको थियो । बजेटपछि राजीनामा दिने मन्त्रीहरुको भनाइतर्क संगत थियो । तर पार्टी नेतृत्वको जोडबल तत्कालै हटाउने भन्ने मात्र निरन्तर रह्यो ।

यसबीचमा सरकारमा सहभागी भएका मन्त्रीले पार्टी निर्णयलाई अवज्ञा गर्दै पदावधि बढाउने अनेकौं तिकडम गरे । जसले एकीकृत समाजवादीभित्रको सकंट र सांगठनिक अव्यवस्थालाई छताछुल्ल पार्‍यो । मन्त्री परिवर्तन नगर्नका लागि नेतृत्वलाई दबाब दिनेदेखि छाड्दा आफूले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउनेसम्मका मागहरु अघि सारे ।

यसबीचमा मन्त्रीहरुको कोटेश्वरमा पुगेर धम्क्याउने र खुमलटारदेखि बालुवाटारसम्म चक्कर लगाउने क्रम चलिरह्यो । चार मन्त्रीसहित १० जना सांसदहरुले मन्त्रीहरुको सिफारिस गरिएको नाम समावेशी नभएको भन्दै त्यस विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकसमेत मागे । तर आफ्नो जोडबल केही नचलेपछि मन्त्रीहरु आइतबार बिदा भए । मन्त्रीहरुका लागि पद छाड्न कति असहज थियो भन्ने बिदाइका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमै सहरी विकासमन्त्री झाँक्रीको भावभङ्गीबाट स्पष्ट भयो ।

यो बीचमा नेकपा एसका केन्द्रीय कमिटीसम्मका बैठक बसे । यो बैठकमा पनि मन्त्री चयनका विषय बढ्ता चर्चा भयो । एकीकृत समाजवादीले अघि सारेको ६-६ महिनामा मन्त्री परिवर्तन गर्ने कदमले पार्टीको आन्तरिक जीवनमा कस्तो प्रभाव पार्ला ? यसका बाछिटा कहाँ पुग्लान् ? आगामी दिनमा नेताहरुले प्रदर्शन गर्ने भूमिकाले निर्धारण गर्छ ।

प्रकाशित : असार १२, २०७९ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×