१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पूर्वका उद्योगीको आन्दोलन स्थगित

विनोद भण्डारी

विराटनगर — बजेटले परिवर्तन गरेका केही उद्योगलक्षित करको संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका पूर्वका उद्योगी र मजदुरले आइतबार गर्ने भनिएको आन्दोलन स्थगित गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नीतिगत त्रुटि भएको स्विकार्दै माथिल्लो सदनबाट बजेट पास भएको साताभित्र ती त्रुटिलाई सच्याउने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेको मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा तीनवटै संस्थाका अध्यक्षहरू क्रमशः नवीन रिजाल, सुयश प्याकुरेल र भीम घिमिरेको हस्ताक्षर छ ।

अर्थमन्त्री शर्माले नीतिगत भ्रष्ट्राचार गरेर सीमित उद्योगलाई संरक्षण गर्दै जीआई वायर, वनस्पति घिउतेल र सेनिटरी प्याड उद्योगलाई बन्द गर्न बाध्य तुल्याउन करमा परिवर्तन गरेको आरोप मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुफ) प्रदेश १ संयुक्त आन्दोलनमा उत्रिएका थिए ।

परिवर्तित करविरुद्ध यसअघि पनि उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । त्यसबेला पनि अर्थमन्त्री शर्माले आफ्नो गल्ती स्विकारेर संसद्‌बाट बजेट पास भएलगत्तै संशोधन गर्ने आश्वासन दिएपछि उद्योगीले आन्दोलन स्थगित गरेका थिए ।

प्रकाशित : असार १२, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?