कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धनकुटामा पोखरीमा डुबेका दुवै किशोरको मृत्यु

धनकुटा — धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भइ धनकुटा ७ मा आमासँग डेरामा बस्ने १५ वर्षकै उदय राई रहेका छन् । 

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा डुबेर सिकिस्त रहेका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्येका उदयको जन्मदिन मनाउन साथीहरुसँग उक्त स्थानमा गएका थिए । ३ मध्ये २ जना पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । करिब ७ फिट गहिरो पोखरीमा दुवै जना पौडी खेलेको केहीबेरमै डुबेका थिए । साथमा रहेका सुदेश राई भने सकुशल छन् । उनी पोखरीको किनारमा रहेको र पौडी खेलिरहेका दुवै साथीहरु डुबेको देखेपछि स्थानीयलाई खबर गरेका थिए ।

उद्धारमा ढिलाई भएकोले बचाउन नसकिएको उपचारमा सम्लग्न चिकित्सकले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने स्वर्णीम सदरमुकामस्थित गोकुण्डेश्वर माविमा ८ कक्षा र उदय गोकुण्डेश्वर बालमन्दिर माविमा ७ कक्षामा अध्ययनरत थिए । पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा लाइफ ज्याकेटबिना पौडी खेल्दा घटना भएको जनाइएको छ ।

प्रकाशित : असार ११, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?