विराटनगर महानगरको  बजेट ३ अर्ब ६२ करोड- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगर महानगरको  बजेट ३ अर्ब ६२ करोड

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १०औँ सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत गरेकी हुन । यो बजेट चालु आवको भन्दा १ अर्ब ७२ लाखले न्यून हो । चालु आवमा ४ अर्ब ६३ करोड २ लाख ८१ हजार पाँच सय रुपैयाँको संशोधित बजेट थियो ।

पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रकालागि ३ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ

बजेटले वडास्तरीय योजनाका लागि ४२ करोड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाकालागि ३० करोड, वहुवर्षिय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजना भुक्तानीका लागि ४० करोड, रुडपबाट निर्माण भएकासहितका पक्की सडक मर्मतसम्भारका लागि १४ करोड, अन्य पूर्वाधार निर्माणका लागि ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषका लागि ४ करोड ८० लाख विनियोजन गरेको छ ।

अनुमानित बजेटको स्रोत व्यवस्थापनकालागि महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघसंस्थावाट ३ करोड ६० लाख अनुमान गरेको छ ।

महानगरको आगामी आवको नीति, बजेट र कार्यक्रमले ‘हामी सबैको रहर, शिक्षित,सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने दीर्घकालीन सोच राखिएको छ । 'सुखी नगरवासी, समृद्ध नगर' भन्ने लक्ष्य लिएर त्यसलाई पूर्णता दिन सहरी पूर्वाधारको विकास र विस्तार, शिक्षा स्वास्थ्य तथा पोषणका विकास गरी नगरवासीको जीवनमा गुणात्मक विकास गर्ने भनिएको छ । लैंगिक तथा सामाजिक समावेशीको विकास गर्ने, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कृषि, पशु, सहकारी, रोजगारी र पर्यटनको विकास गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउने, पिछडिएका वर्ग तथा समुदायकालागि सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने, वन तथा वातावरण संरक्षण गरी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा विभिन्न समुदायको भाषा, कला र सस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमले ‘छोरी बचाऊ छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिँदै गर्भवती तथा सुत्केरी महिला, अपांग र जेष्ठ नागरिकलाई अस्पतालसम्म पुर्‍याउन नि:शुल्क एम्बुलेन्स सञ्चालन गर्ने उल्लेख गरेको छ ।

बजेटले सरोकारवालको सुझावका आधारमा करका दर घटाई करका दायरा फराकिलो पर्ने र आन्तरिक आय वृद्धिका लागि राजस्व सुधार योजना निर्माण गरी २०७९ लाई आन्तरिक राजस्व अभिवृद्धि वर्षका रूपमा लिने घोषणा गरेको छ ।

महानगरको चालु वर्ष ४ अर्ब ६३ करोड २ लाख ८१ हजार ५ सय आय गर्ने अनुमान गर्दा ११ महिनामा २ अर्ब ३२ करोड ८१ लाख ६३ हजार मात्र यथार्थ आय भएर १ अर्ब ७४ करोड ६० लाख ५४ हजार खर्च भएको बजेटमा उल्लेख छ । पुँजीगततर्फ २ अर्ब ५६ करोड ७ लाख खर्च गर्ने अनुमान गरिएकोमा ८२ करोड ४ लाख खर्च भएको उल्लेख छ । त्यसैगरी प्रशासनिक तथा चालु खर्चतर्फ २ अर्ब १ करोड ९५ लाख रुपैयाँ खर्च गर्ने अनुमान गर्दा ९० करोड ४३ लाख मात्र खर्चको छ ।

त्यसैगरी चालु वर्ष आन्तरिक आय ९९ करोड ९० लाख हुने अनुमान गर्दा ३९ करोड ८५ लाख मात्र आम्दानी भएको बजेटमा उल्लेख छ । राजश्व बाँडफाँटबाट १ अर्ब २३ करोड २० लाख प्राप्त हुने अनुमान गर्दा ४९ करोड २३ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारबाट १ अर्ब ७१ करोड ११ लाख प्राप्त हुने अनुमान गर्दा १ अर्ब २३ करोड ९० लाख, प्रदेश सरकारबाट १० करोड ६८ लाख प्राप्त हुने अनुमान गर्दा ६ करोड ४४ लाख मात्र प्राप्त भएको उल्लेख छ । त्यसैगरी अन्य संघ संस्थाबाट १० करोड ८३ लाख अनुदान प्राप्त हुने अनुमान गर्दा ५ करोड ९३ लाख मात्र प्राप्त भएको छ ।

प्रकाशित : असार १०, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्

विकासका लागि उच्च शिक्षा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

अमृता अनमोल

बुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्रोत-साधन, सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा जनशक्ति तयार गर्नेतर्फ उच्च शिक्षा केन्द्रित गर्नुपर्ने उनले बताए । शिक्षा देश विकासको मुख्य मार्गदर्शन भएको उल्लेख गर्दै उनले पूरातात्विक सम्पदा खोज्न आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गरेको शिक्षा अहिले पनि महत्त्वपूर्ण रहेको बताए । ‘बुद्धका आर्यअष्टागिक मार्गलगायत सूत्रात्मक शिक्षा आजको २१ औं शताब्दीमा पनि महत्त्वपूर्ण छन्,’ उनले भने, ‘यसैले अहिले पनि संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायत बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम बढ्दै गएको छ ।’

विश्वविद्यालयलका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुद्धभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताए । यद्यपि बौद्ध शिक्षा, साहित्य, दर्शन, कला र संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती रहेको उनले जनाए । उनले वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व लगायत विश्वव्यापी प्रवर्द्धन गर्न र मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे । ‘नखोजिएका पूरातात्विक सम्पदा खोजौं, सांस्कृतिक विरासतको समृद्धि फैलाऔं र ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔं ।’ उनले भने ।

प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न विद्यार्थीहरूलाई सुझावसमेत दिए ।

प्रधानमन्त्री देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमै लुम्बिनी बौद्ध विश्वविद्यालय हुनुले यसको अपूर्व महत्त्व रहेको पनि बताए । उनले बौद्ध शिक्षाका माध्ययमबाट बुद्ध शिक्षा प्रचार, पर्यटन प्रवर्द्धन र रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउन आग्रह गरे । ‘विश्वविद्यालयको सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई समयसापेक्ष र जीवनोपयोगी बनाउन आवश्यक छ,’ उनले भने ।

प्रकाशित : असार १०, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×