जीटीए चुनावका कारण नेपाल-भारत नाका सिल


काँकडभिट्टा — दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ ।



आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जनाए । उनका अनुसार भारतीय पक्षको पत्राचारपछि नाका सिल गरिएको हो ।
‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल हुनेछ,’ डीएसपी महतोले भने । उनका अनुसार अत्यावश्यकबाहेकका काममा नाका वारपारमा पूर्ण निषेध गरिएको छ । नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् ।
विशेषगरी बिरामी, असहाय र असक्तहरूलाई नाका वारपारमा समस्या भएको छ ।
दार्जिलिङसहित मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा जीटीए चुनाव हुँदै छ । जीटीएको संवैधानिक अस्तित्वमाथि प्रश्न गर्दै चुनाव खारेजीको विरोधमा केही समयअघि कोलकातास्थित उच्च न्यायालयमा रिट परेको थियो । न्यायालयले शुक्रबार चुनावको पक्षमा फैसला गरेपछि चुनाव हुने निश्चित भएको हो ।
प्रकाशित : असार १०, २०७९ १२:०६