यस्तो बजेट बनाउँदै छन् जनप्रतिनिधि

‘भर्खरै निर्वाचित भएकाले धेरै अध्ययन गर्न पनि पाएनौं त्यसैले पनि खासै नयाँ विषय ल्याउन सक्ने अवस्था छैन’
आनन्द गौतम

ताप्लेजुङ — सबैभन्दा बढी बजेट रहेको फुङलिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेनको योजना थियो, यो वर्षको बजेटले स्काइभेटर, रोलर किन्ने र नगरपालिकाका सबै सडक पेलेर बाह्रै महिना चल्ने बनाउने । 

यस्तो बजेट बनाउँदै छन् जनप्रतिनिधि

आगामी आवको बजेट बनाउने तयारी गरिरहँदा उनले उपप्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासीकय अधिकृतलगायतको कर्मचारी टोलीलाई आफ्नो योजना सुनाए । कर्मचारीहरूले यो सम्भव नभएको प्रतिक्रिया दिए । कर्मचारीको तर्क थियो, ‘नगरपालिका आफैंले काम गर्न मिल्दैन, उपभोक्ता र ठेक्कामार्फत काम गराउनुपर्छ ।’

बाटो बनाउँदा चाहिने ढुंगा, गिट्टी, चिप्सलगायतका सामग्री नगर आफैंले खरिद गरेर ठेकदार बन्न नपाइने कर्मचारीले तर्क गरे । मेसिन किनेपछि त्यसका चालक, मर्मतसम्भारमा खर्च हुने र त्यसले नगरलाई कमजोर बनाउने उनीहरूको बुझाइ छ । यी सबै सुनेपछि नगरप्रमुख मादेन आफ्नो अवधारणाबाट पछि हटेका छन् । मादेन नेतृत्वको नगरपालिकाले विगतको जस्तै बजेट ल्याउने तयारी गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझा एक/दुई नयाँ विषय उठे पनि अरु भने विगतको जस्तै आउने बताउॅछिन् ।

‘भर्खरै निर्वाचित भएकाले धेरै अध्ययन गर्न पनि पाएनौं,’ उनले थपिन्, ‘त्यसैले पनि खासै नयाँ विषय ल्याउन सक्ने अवस्था छैन ।’ नगरप्रमुख मादेन पनि यो वर्ष अध्ययन, परामर्श गर्ने र आगामी आवदेखिको बजेटलाई नयाँ रूप दिने बताउँछन् । ‘ऐन नियम पनि अध्ययन गर्नुपर्ने हुन्छ, समयनै भएन,’ उनले भने,‘ कामको अवधारणा सुनाउँदा कर्मचारी साथीहरू मलेपले बेरुजु लेख्छ भन्छन् ।’

जिल्लामा सबैभन्दा कम बजेट आउने मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्कीलाई आफ्नो पालिकाको सबै वडा जोड्ने सडक बाह्रै महिना चल्ने बनाउनुपर्ने दबाब छ । भोट माग्न जाँदा हरेकले पालिका जाने सडकको विषय उठाएका छन । जित्नेबित्तिकै उनले विद्युत् आयोजनासॅग स्काइभेटर मागेर बिग्रेको सडक बनाउने र खोलामा होम पाइप लगाउने काम पनि गरे । यसलाई दिगो र स्थायी बनाउनुपर्ने चुनौती उनीसँग छ । प्रशासकीय भवनसमेत बनाउनुपर्ने, सडकको ट्र्याक खोल्ने र स्तरोन्नतिका माग धेरै आएकाले बजेट परम्परागत हुने सम्भावना रहेको कार्की बताउँछन् ।

‘मैले पालिकाको १, २ र ३ नम्बर वडामा तोरी खेती व्यापक लगाउने र मिल त्यहीं राखेर कृषक प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउने योजना बनाएको हुँ,’ उनले थपे, ‘पैसाचाहिँ वडा र अरु योजनामै सकिनेजस्तो छ ।’ फुङफुङे झरनाको प्रवर्द्धन गर्ने र पापुङमा पर्यटक भित्र्याएर आम्दानी बढाउने योजनामा रहेको कार्की बताउँछन् ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा सबैभन्दा बढी बजेट सिरिजंगाको र कम मिक्वाखोलाको हुन्छ । मैवाखोला गाउॅपालिकाले ९ असारमा बजेट ल्याउने तयारी गरेको छ । जनमुखी बजेट ल्याउने गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम बताउँछन् । ‘तीन वर्षमा पालिकाका सबै सडक बाह्रै महिना चल्ने बनाउँछौं,’ उनले थपे, ‘ज्येष्ठ नागरिक, गर्भवतीलाई घरमै स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरणजस्ता कार्यक्रम छन् ।’

फुङलिङ नगरपालिकाको आन्तरिक लेखा परीक्षक भूपाल सेन्दाङ स्थानीय तह सञ्चालन ऐन, खरिद ऐन र बजेट दिग्दर्शन अनुसार बजेट बनाउनुपर्ने बताउँछन् । ‘ऐन कानुन छ, हामीले त्यसको परिधिमा रहेर बजेट बनाउनुपर्छ,’ सेन्दाङले भने, ‘जनप्रतिनिधिज्यूहरू आँखाले देखेअनुसारको बनाउनु भन्नुहुन्छ अनि तालमेल मिल्दैन ।’

संघले जिल्लाका सबै स्थानीय तहलाई समानीकरण र अनुदान गरी अढाई अर्बको हाराहारीमा बजेट दिने गरेको छ । संघ र प्रदेशको अनुदान तथा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोतबाट बजेट बनाउने गरेको छ । पालिकाले यो वर्ष ३५ देखि ७५ करोड रुपैयाँ सम्मको बजेट बनाउने तयारी गरेको छ ।

ताप्लेजुङमा पाथीभरा याङवरक गाउँपालिकाबाहेक सबै तिरका जनप्रतिनिधि नयाँ छन् । नगरपालिका प्रमुखसहित कांग्रेसका चार, एमालेका तीन र माओवादी केन्द्रका दुई पालिका प्रमुख छन् । पहिलो वर्ष भएकाले सबैले असार १० सम्म नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन् ।

प्रकाशित : असार ९, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?