२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

१६ विद्यार्थीले चढे चुलु हिमाल

कुम्भराज राई

ओखलढुंगा — त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीको स्नातकोत्तर तहमा अध्ययनरत १६ विद्यार्थीले मनाङमा रहेको ६ हजार ३९ मिटर अग्लो चुलु हिमाल चढेका छन् । 

१६ विद्यार्थीले चढे चुलु हिमाल

मंगलबार आरोहण गरेका उनीहरु बुधबारमात्रै आधार शिविरदेखि तल झरेका छन् । मास्टर्स अफ एडभेञ्चर टुरिजम स्टडिज (म्याट्स) का पहिलो ब्याचका विद्यार्थीहरु, प्रशिक्षक, एकेडेमिक सुपरभाइजरसहित २१ जनाले चुलु हिमाल आरोहण गरेका हुन् ।

पाठ्यक्रममा आधारित स्थलगत अध्ययन र अभ्यासअन्तर्गत उनीहरु हिमाल आरोहणका लागि जेठ २९ गते चुलु हिमाल आरोहणका लागि गएका थिए । माउन्टेन एकेडेमीले नेपालमै एडभेञ्चर टुरिजम विषयमा हिमाल आरोहण अभ्यास सहितको पठनपाठन सुरु गरेको हो ।

उनीहरुलाई प्रशिक्षकले हिमालमै आरोहणसम्बन्धी कला, सामग्री प्रयोग, हिउँसम्बन्धी जानकारी, रोप फिक्सिङको तरिका, हिम पहिरोको जोखिम लगायतका अभ्यास गराएको आरोहणमै संलग्न एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराईले बताए ।

आरोहणमा प्रमूख प्रशिक्षक छिरिङजाङबु शेर्पा, प्रशिक्षक आशिष गुरुङलगायत माउन्टेन गाईडहरु समेत थिए । उनीहरु मंगलबार राति १ बजे ४ हजार ८ सय मिटरको आधार शिविरबाट आरोहणका लागि उकालो लागेका थिए । उनीहरुले बिहान ९ बजेर १५ मिनेटमा आरोहण गरे । स्थलगत अध्ययन तथा आरोहण व्यवस्थापन अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्सपीडिसनले गरेको हो ।

कम पानी पर्ने मनाङ र मुस्ताङमा मनसुनको बेला समेत हिमाल आरोहण गर्न सकिने पुष्टि भएको माउन्टेन एकेडेमीले जनाएको छ ।


प्रकाशित : असार ९, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?