मझुवागढीलाई फूलै फूलको पहाड बनाइने- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मझुवागढीलाई फूलै फूलको पहाड बनाइने

डम्बरसिं राई

खोटाङ — ७९ वर्षीया ख्यामकुमारी कटवाल फूल रोपिरहेकी थिइन् । आफूले रोपेको कल्कीको बिरुवा कतै मर्छ कि अथवा कसैले उखेलिदिन्छ कि भन्नेमा चिन्ताले भने घरीघरी चिमोट्थ्यो । ‘प्रकृतिको देन हो, रोपेपछि हुर्किन्छ, फुल्छ,’ अरूलाई भन्दै थिइन्, ‘रोपेपछि हुर्किजान्छ, हुर्केपछि फुलिहाल्छ ।’ 

जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, राजनीतिक दल, तीन वटै सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसँगका प्रतिनिधि र स्थानीय मंगलबार बिहानदेखि बिरुवा रोप्न तम्सिरहेका थिए ।

कालिका भगवती, बुढेश्वरगुफा लगायत मझुवागढी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फूलको पहाड बनाइने भएको हो । वृक्षरोपण सप्ताहको अवसर पारेर रूख कमल, कामिनी, असारे, कल्की, ज्याकाराण्डा, कपु, जाई, धुपी, गुराँस, रामवृक्ष, स्वामीलगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन प्रमुख जगदीश रेग्मीले जनाए ।

मझुवागढी क्षेत्रलाई हेर्न लायक ‘फूलको पहाड’ बनाउन नगरपालिकाले विशेष भूमिका खेल्ने नगर प्रमुख तीर्थराज भट्टराईले बताए । डिभिजन वन कार्यालय खोटाङ र काठमाडौंबाट बिरुवा ल्याइएको थियो ।

प्रकाशित : असार ८, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

मूल नहरमा पानी सञ्चालन तयारी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी सञ्चालनको तयारी सुरु भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण सुरु भएको डेढ दशकपछि मूल नहर परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो । 

भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ साढे २८ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ । सोमबार भारतको एनएचपीसी (नेसनल हाइड्रोपावर कर्पोरेसन) र आयोजनाका प्राविधिकहरूले पानी सञ्चालनकै तयारीस्वरूप संयुक्त अनुगमन पनि गरेका छन् । अनुगमनपश्चात् पहिलो चरणमा यसै साता नहरको परीक्षण गरिनेछ । दुई/तीन चरणमा परीक्षणपश्चात् पानी सञ्चालन गरिनेछ । अहिले सुरुमा निर्माण भएको नहरको सफाइको काम भइसकेको छ ।

‘मूल नहरमा पानी सञ्चालनको तयारीमा जुटेका छौं,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘सुरुमा परीक्षण गरिनेछ, त्यसपछि नियमित पानी नहरमा बग्नेछ ।’ उनका अनुसार उक्त नहरमा नियमित रूपमा ५/७ क्युमेक्स पानी बगिरहनेछ । शाखा नहरहरू निर्माण भइनसकेका कारण नहरको पानी मुसेपानी र स्याली खोलामा गरी दुई ठाउँमा छाडिनेछ ।

२०६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत हालसम्म साढे २८ किलोमिटर मूल नहर निर्माण भएको छ । थप साढे १० किलोमिटर मूल नहर निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढेको छ । दुई वर्षअघि उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि बजेटसँगै निर्माण कार्यले समेत गति लिएको हो ।

आगामी आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको प्रक्रिया अघि बढनेछ । यसका लागि सरकारले बजेट भाषणमार्फत नै बजेट छुट्याएको छ । २२ वटा शाखा नहर निर्माणका लागि अहिले जमिन अधिग्रहणको प्रक्रिया सुरु भइसकेको छ । ‘दुई वर्षभित्र शाखा नहर निर्माण गरेर किसानको खेतमा पानी पुर्‍याउने लक्ष्य छ,’ आयोजना निर्देशक बमले भने, ‘कतिपय स्थानमा पुराना सिँचाइ प्रणालीलाई पनि प्रयोग गर्न सकिन्छ ।’

२२ वटा शाखा नहरहरू निर्माण भए ५३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिन्छ । शाखा नहर निर्माणका लागि झन्डै ८ हेक्टर जमिन अधिग्रहण हुनेछ । शाखा नहरमा पहुँच मार्ग बनाइने भएकाले जमिन कम अधिग्रहण हुनेछ । यसले खेतीयोग्य जमिन जोगिने अपेक्षा गरिएको छ । ‘हामीले कित्ता विभाजन नहुने गरी, भौतिक संरचना नपर्ने गरी जमिन अधिग्रहण गरिरहेका छौं,’ निर्देशक बमले भने, ‘कमभन्दा कम जमिन अधिग्रहण गरेर खेतमा पानी पुर्‍याउने लक्ष्य हो ।’

बहुचर्चित महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि पानी पाउने उल्लेख छ । उक्त सन्धिमा टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्ने उल्लेख छ । सन्धि भएको अढाई दशकपछि भारतले उक्त नहर यसै वर्ष निर्माण सम्पन्न गरेको हो । नेपालले ०६३ मै नहर निर्माण थाले पनि भारतीय क्षेत्रमा नहर नबन्दा अन्योल थियो ।

लामो समयसम्म टनकपुर ब्यारेजबाट नेपालतर्फका नहरमा पानी दिने सतहको विषयमा पनि विवाद रह्यो । नेपालले जलाशयको २४२ मिटरको सतहबाट पानी पाउनुपर्ने माग गरेको थियो भने भारतले २४५ मिटरबाट मात्रै दिन सकिने जनाएको छ । पछिल्लो पटक २४४ दशमलव ५ मिटरबाट नेपालले पानी पाउने सहमति बनेको हो ।

ब्रह्मदेवबाट चुरे फेदीहुँदै कैलालीको मालाखेती र कञ्चनपुर, पुनर्वासको त्रिभुवन बस्तीसम्म मूल नहर निर्माण हुनेछ । जसमा दोधारा चाँदनीको १६ किलोमिटरसहित मूल नहर १५१ किलोमिटर लम्बाइ हुनेछ । उक्त नहरबाट ३५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । हालसम्म नहर निर्माणका लागि ४ अर्ब खर्च भइसकेको छ । जसमध्ये १ अर्बभन्दा बढी रकम जग्गा अधिग्रहणमा खर्च भएको आयोजनाले जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×