‘बजेटको स्रोत यथार्थपरक’- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बजेटको स्रोत यथार्थपरक’

कान्तिपुर संवाददाता

मोरङ — आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ मा प्रदेशसभामा प्रस्तुत गरेको आव २०७९/८० को बजेटको राजस्व र व्यय हावादारी भएको प्रमाणित गरेर देखाउन प्रमुख प्रतिपक्षी एमालेका प्रदेश सांसदलाई चुनौती दिएका छन् ।

प्रदेश सांसदहरूले उठाएको प्रश्नको मंगलबार जवाफ दिने क्रममा उनले बजेटको स्रोत यथार्थपरक रहेको दाबी गरे । ‘गत वर्ष एमाले सरकारले ल्याएको ३२ अर्ब ४६ करोड ९१ लाखको बजेटमा यस वर्ष ७ अर्ब २६ करोड ९२ लाख वृद्धि गरेर ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छु,’ उनले भने, ‘जसको स्रोतमा आन्तरिक स्रोतको दर र दायरा बढाएकाले गत वर्षभन्दा ९० करोड बढी असुली हुने र संघबाट प्राप्त हुने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर ३ अर्ब ३६ करोड १८ लाख १ हजार र अनुदान २ अर्ब ८० करोड ६५ लाख बढी सिलिङ आएको छ ।’

गत वर्षभन्दा बढी उठ्ने आन्तरिक स्रोत र संघबाट प्राप्त हुने अनुदान, अन्तःशुल्क र मूल्य अभिवृद्धि करको सिलिङ ७ अर्ब ६ करोड ८३ लाख १ हजार बढी रहेको अवस्थामा गत वर्षको बजेटमा ७ अर्ब २६ करोड ९२ लाख वृद्धि गरेर ल्याउँदा कसरी हावादारी भयो भन्दै मन्त्री आङ्बोले प्रश्न गरे । उनले चालु आवका योजनाहरूको ठेक्का प्रक्रियामा गएर बचत रहेको बजेट र स्थानीय तहमा काम हुन नसकेर फिर्ता आउने अनुदान गरेर डेढ अर्बभन्दा बढी आउँदो वर्ष मौज्दात रहने नै देखिएको अवस्थामा बजेटको स्रोतमा शंका गर्न मिल्छ ? भन्दै उनले प्रदेशसभामा प्रश्न गरे । अघिल्लो सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि दर कायम हुने लक्ष्य लिएकोमा आफूहरूले प्रत्येक सूचकहरूको हिसाब गरेर ६ दशमलव ४८ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य लिंदा हावादारी भन्न मिल्छ भन्दै आङ्बोले प्रश्न गरे ।

प्रकाशित : असार ८, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘महँगीले दु:खी गरिब नै मर्नुपर्छ’

‘नबढेको केही छैन । महँगीले दु:खी गरिब नै मर्नुपर्छ । धनीलाई धन नै छ, नहुनेलाई केही पनि छैन ।’
दीपक परियार

पोखरा — चलिरहेको रेस्टुरेन्ट कोरोना महामारीमा बेच्नुपरेपछि पोखराकी ४४ वर्षीया कल्पना कार्की अचेल चटपट बेच्छिन् । पोखरा सिमलचौरको एउटा कोठामा उनी श्रीमान र छोरीसहित भाडामा बस्छिन् । मजदुरी गर्ने श्रीमानले बर्खामा हम्मेसी काम पाउँदैनन् । चटपट बेचेर गुजारा गर्न कल्पनाको परिवारलाई हम्मेहम्मे परेको छ । 

कोरोना महामारीले व्यवसाय डामाडोल भएपछि उनले लेकसाइडमा रहेको रेस्टुरेन्ट बेचिन् । अलिअलि बचत लकडाउनमा गुजारा चलाउँदै सकियो । एक वर्षअघि उनले चटपट बनाउन सिकिन् । अहिले आफू बस्ने कोठा अघि सडक छेउको चौतारीमा चटपट बेच्छिन् । खाने तेलको मूल्य बढेकोले अहिले चटपटमा उतिसारो नाफा हुँदैन । एक लिटर तेलले अहिले दुई दिन मात्रै पुग्छ ।

चटपटमा प्रयोग हुने कागती, गोलभेडा, प्याज, धनियाँको मूल्य बढे पनि उनले चटपटको भाउ बढाएकी छैनन् । ‘सबैको मूल्य बढेको छ, चटपटको मूल्य बढाउने हो भने बिक्नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘भाउ नबढाउँदा व्यापार गरेको पैसाले यसैको सामान किन्दा ठिक्क हुन्छ ।’

आम्दानी नहुँदा उनको परिवार एउटा कोठामा अट्न बाध्य छ । २० वर्षीया छोरी र बुबाआमा बस्ने र खाना पकाउने एउटै कोठामा गर्नुपर्छ । कोठाको भाडाबापत महिनाको साढे ५ हजार रुपैयाँ तिर्न गाह्रो भएको उनले सुनाइन् । ‘दुईवटा लिउँ भने ११ हजार पर्छ, खाने कि भाडा तिर्ने,’ उनले भनिन्, ‘सबैको अचाक्ली भाउ बढ्यो, केही छोइसाध्य छैन ।’ महँगी बढ्दा हेरक कुरा पुर्‍याइपुर्‍याइ खानुपर्ने बाध्यता छ । पहिला एक छाक हुने दाल अहिले दुई छाक पुर्‍याउनुपर्छ । पहिला १ हजार ६ सय रुपैयाँमा पाइने चामलको बोरालाई अहिले १ हजार ९ सय ५० तिर्नुपर्छ । न अड्कलेको घर खर्चले पुग्छ, न भरपर्दो कमाइ नै छ ।

‘नबढेको केही छैन । महँगीले दु:खी गरिब नै मर्नुपर्छ । धनीलाई धन नै छ, नहुनेलाई केही पनि छैन,’ उनले भनिन्, ‘लाउँछु भनेको लाउन पाइन्न, खान्छु भनेको खान पाइन्न । आफ्नो कमाइअनुसार भोकै बस्न पनि सकिन्न । थोरैथोरै पुर्‍याइपुर्‍याइ खाँदा यस्तै हो ।’ उनको परिवारमा अहिलेसम्म कोही ठूलो बिरामी परेका छैनन् । परेको अवस्थामा के गर्ने भन्ने जवाफ उनीसँग छैन । भन्छिन्, ‘अहिलेसम्म घत्रक्कै बिरामी भइएको छैन । भयो भने जे होला होला भनेर बसिएको छ ।’

प्रकाशित : असार ८, २०७९ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×