ताप्लेजुुङको खेवाङमा पहिरोमा परेर सासु–बुहारीको मृत्यु, छोरा घाइते

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका–६ खेवाङमा बिहीबार बेलुका गएको पहिरोमा परी एकाघरका सासु–बुहारीको मृत्यु भएको छ । पहिरोमा परी छोरा घाइते भएका छन् ।

छिमेकी ज्ञानेन्द्र पुर्कोटीका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । छोरा विष्णु अधिकारी गम्भीर घाइते भएका छन् ।

सासु र बुहारीको शव मतानले पुरेको देखिएको तर प्रहरी आइ नपुगेकाले निकाल्ने प्रयास नभएको पुर्कोटीले टेलिफोनमा जानकारी दिए । प्रहरी नायब उपरीक्षक कैलाश कार्कीका अनुसार प्रहरीको टोली खेवाङ प्रहरीचौकीबाट घटनास्थलमा गइरहेको छ ।

पहिरोले भैंसी, गाई, गोरु र बाख्रा पनि मरेका छन् । एउटा पाडो मात्रै बाँचेको पुर्कोटीले बताए । वडाभरि नै पहिरो गएको तर अन्यत्र मानवीय क्षति नभएको स्थानीयले बताएका छन् । यता वाड नं ८ मामांखेमा अलैंची बगानबाट झरेको पहिरो बस्ती छेउमा पुगेको तर घरमा क्षति भने नभएको स्थानीय शिक्षक देउमान मावोले बताए ।

फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको सिंवाका ६० जनाले रातभरि सिंवा माध्यमिक विद्यालयमा बिताएको प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए । तमोर नदीमा पानीको सतह बढेर आएपछि र सिंवा बजारको पल्लो छेउमा माथिबाट पहिरो र लेदो झरेपछि स्थानीय विद्यालयमा आएर बसेका हुन् । यहाँ पहिला पनि पहिरो गएको थियो ।

प्रकाशित : असार ३, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?