भारतमा रेलको ठक्करबाट नेपालीको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

भारतमा रेलको ठक्करबाट नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

काँकडभिट्टा — रेलको ठक्करबाट भारतमा एक नेपालीको मृत्यु भएको छ । पश्चिम बंगालको पानीटंकीमा रेलले बिहीबार राति करिब ८ बजे ठक्कर दिँदा मेचीनगर ६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । 

विहारबाट सिलिगुडीतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : असार २, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

देउवाको प्राथमिकता सत्ता कि पार्टी ?

आलोचक भन्छन, पार्टी पहिलो प्राथमिकता हुनुपर्छ, सत्ता होइन 
कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीले सत्ता निर्माण गर्छ कि सत्ताले पार्टी ?देशकै अग्रणी लोकतान्त्रिक पार्टी कांग्रेसमा यस बिषयलाई लिएर दुई लाइन बिचारप्रकट हुने गरेका छन् । दुई पटक पार्टी सभापति र पाँचौ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सत्ताले सबै चिज निर्माण गर्छ भन्ने ‘डक्ट्रिन’नै स्थापित गराएका छन् । सत्ता प्राप्तीलाई मुल कार्यशैली बनाएका देउवालाई उनको पक्षमा उभिने अधिकांश नेताहरुको साथ, सहयोग र समर्थन छ । 

देउवाइतर समुहका नेताहरु भने उनको त्यो बैचारिक मान्यताको पक्षपोषण गर्दैनन् । उनीहरुमा पार्टीको बलमा प्राप्त हुने सत्ताले मात्रै स्थायीत्व प्रदान गर्न सक्छ भन्ने विश्वास छ ।उनीहरु भन्छन,‘पहिला पार्टी, अनि मात्रै सत्ता प्राथमिकतामा पर्नुपर्छ ।

कांग्रेसका एक नेताका अनुसार देउवालाई पार्टी संगठनको बलमा भन्दा सत्ताको शक्तिप्रति बढी विश्वास छ । पार्टी र पार्टी बाहिरका सबै भूमिकामा सत्तानै हावी हुन्छ भन्ने मान्यतामा देउवा प्रतिबद्ध मात्रै छैनन्, उनको व्यवहारले पुष्टी गर्दै लगेको छ । त्यसैले उनको ‘थ्यौरी’ नै बनेको छ–सत्तामा कसरी पुग्ने र टिक्ने ?

‘०६४ साल अघिका तीन कार्यकालमा कहिले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई कतिबेला मिलाउने र कतिबेला फुटाउने भूमिकामा रहेर देउवा सत्तामा पुगे । अहिले गठबन्धन दलहरुलाई भत्काउने र जोड्ने काम गरेर सत्तामा छन्’ देउवा निकट कांग्रेसका एक नेता भन्छन,‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको पहिलो सरकारमा माओवादीलाई गठबन्धनबाट अलग गराएर देउवा प्रधानमन्त्री बनेका थिए । अहिले माओवादीसहितका पाँच दलको गठबन्धन मिलाएर बनेका छन । पार्टी निर्माणमा भन्दा संसदको अंकगणितमा खेलेरै देउवाले पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने सौभाग्य मिलेपनि आफै जनमत लिएर भने अहिले सम्म प्रधानमन्त्री भएका छैनन ।’

उनको पाँचौं पटक सम्मकै प्रधानमन्त्री विभिन्न राजनीतिक दुर्घटना र घटनाक्रमको उपज हो । पार्टी सभापति बनेपछि देउवालाई ०७४ मा पहिलो अवसर थियो जनमत लिएर प्रधानमन्त्री बन्ने । तर, कांग्रेस त्यतिबेला नराम्रो गरी खुम्चियो । संघ र प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गर्न एक चौथाई सांसद समेत थिएनन । बामपन्थी दलभित्रको शक्ति सघर्ष र टुटफुटबाट देउवा सत्तामा पुग्न सफल भए । अब उनलाई जनमतबाटै प्रधानमन्त्री बन्ने दोस्रो अवसर जुरेको छ–आगामी मंसिरमा हुने संघको निर्वाचन मार्फत । निर्वाचनबाट पार्टीको उपस्थिती संसदमा कस्तो हुन्छ त्यसमा उनको भाग्य निर्धारण हुन्छ । त्यसका लागि उनले पार्टी संगठनमा भन्दा पाँच दलबीचको गठबन्धनप्रति बढी भरोसा राखेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत प्रणालीले स्थायीत्व नपाएको मुलुकमा सरकारले पार्टीका आम कार्यकर्तालाई सुरक्षा प्रत्याभूति गराउने भएकालेनै सत्ता जहिल्यै केन्द्रीय भागमा हुने स्वीकार्छन । ‘सत्ताले पार्टीको संगठन निर्माण हुने त होइन । तर, वातवरण बनाउने काम गर्छ । पार्टीका आम कार्यकर्तामा सत्ता नहुँदा असुरक्षा हुने र दुःख पाउने अनुभव छ । सत्तामा हुँदा कार्यकर्तामा असुरक्षाभाव हुन्न’ महतले थपे,‘सत्ता भएरपनि प्रभावकारी काम हुन सकेन भने त्यसको असर निर्वाचनमा पर्छ । सत्ताले जनमतलाई फाईदा र बेफाइदा दुवै कोणबाट प्रभाव पार्छ ।’

‘कम्यूनिष्टले जिते रुन पनि पाईदैन’ भन्ने २०७४को निर्वाचन प्रचारका क्रममा देउवाले सार्वजनिक अभिव्यक्ति दिएर सत्ताको महत्वलाई उजागार गरेका थिए । कांग्रेसका सह–महामन्त्री बद्री पाण्डे सत्ताले पार्टी बनाउने कि पार्टीको बलमा सत्तामा पुग्ने भन्ने दुई थरी स्कुलिङ कांग्रेसभित्र अव्यक्त रुपमा रहदै आएको बताउँछन ।

‘तत्कालीनपार्टी सभापति सुशील कोइरालाको ‘स्कुलिङ’ सत्ता प्राथमिकता थिएन । पार्टी थियो । ‘प्रधानमन्त्री छँदापनि सुशील दाईलेबालुवटारमा थन्किएर बस्नु पर्यो, साथीहरुको बीचमा जान पाईन। जिल्ला घुम्न पाईन भन्ने चिन्ता गर्नुहुन्थ्यो’ पाण्डे भन्छन,‘अहिलेको नेतृत्वमा सत्ताले पार्टीलाई झनै बलियो बनाउँछ भन्ने मान्यता राखेको देखिन्छ ।’ सुशीलको यो स्कुलिङको बिरासतका रुपमा नेता शेखर कोइराला र उनको समूहले पछ्याएका छन ।

देउवा निकट रहेका केन्द्रीय सदस्य श्याम घिमिरे सत्ता केन्द्रित राजनीति दक्षिण एशियाकै ठुलो रोग रहेको बताउँछन । ‘हाम्रो जस्तो गरिबी र प्रणाली नबसेको मुलुकमा सत्ताले पार्टीको आन्तरिक र बाहिय समीकरणमा धेरै ठुलो प्रभाव पारेको हुन्छ । सत्तामा गएपछि सबैथोक हुन्छ भन्ने बुझाई गलत होइन । तर यसको अर्थ संगठनको परिस्थितीलाई र आवश्यकतालाई वेवास्ता गरियो भने माओवादी बन्ने खतरा हुन्छ’ उनी भन्छन,‘विधिले भन्दा आदेश, निर्देश, सत्ताको प्रभाव र दुरुपयोगको प्रभावमा अघि बढ्ने समस्या नेपालको मात्रै होइन । दक्षिण एशियकै समस्या हो ।’ सत्ताबाटै सबै आर्जन गर्न सकिन्छ भन्ने मान्यता गिरिजाप्रसाद कोइरालामा पनि उतिकै हावी रहेको घिमिरेको दावी छ । ‘जो सत्ताको नेतृत्वमा बारम्बार पुगीरहन्छ उसका लागि सबैले भन्नेनै यहिँ हो’ उनी भन्छन ।

पार्टीका काम अस्तव्यस्त

देउवालाई यतिबेला सत्ता जोगाउन र गठबन्धन बचाउन जति चिन्ता छ र चासो छ, पार्टीको संगठनलाई चुस्त र दुरुस्त बनाउने काम उति प्राथमिकतामा परेको छैन । निर्वाचनका मुखमा चलायनमान हुनुपर्ने भातृ तथा शुभेच्छुक संस्थाहरु अहिले अस्तव्यस्त छन् । कतिको नेतृत्व छैनन् । नेविसंघ र तरुण दलजस्तो जिविन्त रहनुपर्ने भातृसंस्थामा यतिबेला अध्यक्ष मात्रै छन् । सदस्य छैनन् । म्याद थप्दै दशौ बर्षदेखि तदर्थवादमा चल्दै आएका भातृसंस्थाको अधिवेशनको सुरसार छैन् । तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वकालदेखि नै म्याद गुज्रिएका सबै भातृसंस्थाको निर्वाचन गराउने चर्चा भएको हो । त्यसको सातबर्षको अवधिमा देउवा दुईपटक सभापति निर्वाचित भइसके, तर, भातृसंस्थाको अधिवेशन गर्ने कि नगर्ने, गरे कहिले गर्ने भन्ने प्रश्न अझै जिवन्त छ । कांग्रेसका १३ भातृ र १८शुभेच्छुक संस्था छन । भातृसंस्था सबैको म्याद सकिएर तदर्थमा चल्दै आएका छन । शुभेच्छुक संस्थाहरुमा पनि अधिकांशको म्याद सकिएको छ ।

मंसिर २८ गते दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका देउवाले ६ महिनाको कार्यकाल विताइसकेका छन् । तर, विधान अन्सुार ६ महिनाभित्र पूर्णता दिनुपर्ने पार्टीका संरचनाहरु लथालिंग छन् । पार्टी चलाउने मुख्य अंग भनेका विभागहरु हुन । केन्द्रीय तहका २८वटा विभागहरु अहिले सम्म गठन हुन सकेका छैनन् । एउटा विभाग गठन भएर पुर्णता पाउँदा संयोजक, उपसंयोजक, सचिवसहित ५४ जना नेता तथा कार्यकर्ताले जिम्मेबारी पाउँछन । सबै गठन हुँदा करिव १५ सय नेता तथा कार्यकर्ता प्रत्यक्ष संगठन निर्माणमा जोडिन्छन् । नेविसंघकै पृष्ठभूमिबाट पाँच पटक प्रधानमन्त्री बनेका देउवा अहिले त्यहिँ संगठन अस्तव्यस्त हुँदा समेत अधिवेशन गराउने चासो देखाउदैनन् । संसदीय समिति, लेखा समिति, कोषाध्यक्षको मनोनयन, केन्द्रीय कार्यसमितिको पुर्णतालगायत सबै पार्टीका संरचनाहरु महाधिवेशनबाट सभापति निर्वाचित भएको ६ महिना भित्र गर्नुपर्ने विधानले किटानी व्यवस्था गरेको छ । देउवाकै पहिलो कार्यकालसम्म विधानले जम्मा दुई महिनाको समय दिएको थियो । दुई महिनाभित्र गर्न नसकेको भनेर विगतमा कोइराला र देउवाको पहिलो कार्यकालमा पार्टीभित्र आन्तरिक कलहनै निम्तिएको थियो । त्यसैले विधान संशोधन गर्दा बढाएर ६ महिनाको समय राखिएको हो ।

१३ औं महाधिवेशनको तुलनामा १४औं महाधिवेशनबाट देउवा पार्टीभित्र झनै बलियो बनेका छन् । सबैभन्दा बढी आलोचक रहेका आफ्नै समकक्षी नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री प्रकाशमान सिंह बिरोधमा छैनन् । यी दुई नेतालाई चुप राख्न सक्नुपर्ने देउवाका लागि ठुलो उपलव्धि हो । पार्टी केन्द्रीय कार्यसमितिमा करिव ८० र देशभरको संगठनमा ६० प्रतिशत हैशियतमा रहेपनि देउवा अनिर्णयको बन्दी किन भइ रहन्छन ?‘कार्यशैली परिवर्तनको छनक पटक्कै देखिएन । हिजो जस्तो चलेको थियो, आजपनि त्यस्तै गरी चलीहाल्छ कि भन्ने मान्यता रहेको पाईयो । विधान अनुसार ६ महिनाभित्र गर्नुपर्ने कुनै काम भएनन । पार्टी भित्र न्याय र निष्पक्षताको कुनै संकेत देखिएन, स्थानीय तहकै निर्वाचनमा अन्यायपुर्ण ढंगले टिकट वितरण भयो’ युवा नेता गुरु घिमिरे भन्छन,‘दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सभापतिजीले कसैलाई काखापाखा गर्दिन, अन्याय गर्दिन भनेर जनाउनु भएको प्रतिबद्धता व्यवहारमा पाईएन । कोइरालाहरुले पार्टी राम्रो चलाएनन । अन्याय गरे । म त्यस्तो भेदभाव गर्दिन भन्ने मुद्दा बोकेरैउहाँ १३ औं महाधिवेशनबाट सभापति निर्वाचित हुनु भएको हो । तर ६ महिनाले नेतृत्वबाट निष्पक्षता हुन्छ र पार्टी विधि र संस्थागत रुपमा चल्छ भन्ने विश्वास मरेको छ ।’

प्रवक्ता महत भने पार्टीभित्र निष्पक्षता कायम गर्न नसकेको भन्ने भनाईसंग सहमत छैनन । ‘पार्टीभित्र असन्तुष्टी नहोस भनेर सबै कुरा सहमतिबाटै गर्न खोज्ने बानी सभापतिमा छ । सहमतिमा गर्न खोज्नु राम्रो हो । तर, यो बानीले कहिलेकाँही समयमा गर्नुपर्ने काममा समेत ढिलाई हुन गरेको छ । अहिलेपनि कुनैपनि‘स्टेक होल्डर’को गुनासो नहोस, सहमतिबाटै गर्नुपर्छ भन्दै आउँदा ढिलाई हुन पुगेको हो । अब चाडै गर्नुपर्छ । हामीले पनि ढिलाई गर्न हुन्न भन्दै आएका छौं ।’

१४ औं महाधिवेशनबाट उपसभापति र महामन्त्रीमा युवाहरुको प्रवेशले कांग्रेसमा ठुलो आशा र भरोसा जागेको थियो । युवा नेता घिमिरे नेतृत्व तहमा रहेका युवाहरु समेत नेतृत्वको पार्टी संचालनको तदर्थवादमा मौन समर्थन जनाएको जस्तो आभास भएको बताउँछन । ‘कित उहाँहरुले (उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत युवा पदाधिकारी) दबाव दिएरपनि नेतृत्वले अटेर गर्दै आउनु भएको छ । कित मौनं समर्थन छ’ घिमिरे भन्छन,‘पार्टीलाई विधि, पद्दति र संस्थागतरुपमा अघि बढाउन युवा पदाधिकारीहरुले पनि नेतृत्वलाई डोर्‍याउन सकेको देखिएन ।’

सहमहामन्त्री पाण्डे भने नेतृत्वलाई दबाव दिन पछि नपर्ने बताउँछन । ‘हामीप्रति देशभरका पार्टीको ठुलो पक्तिले आसा र भरोसा राखेर बसेका छन, त्यसलाई निराशामा पुर्‍याउन काम भयो भने पार्टीको भविष्य पनि संकटमा पर्छ’ पाण्डेले भने,‘विधान अनुसार पार्टी चलाउने दिशामा नेतृत्वलाई डोर्‍याउने काम पदाधिकारीबाटै हुनुपर्छ ।’

प्रवक्ता महत पार्टीको विभाग गठनको समस्या तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकै पालादेखि देखिएको दावी गर्छन । उनका अनुसार एमालेले विभागलाई सशक्त बनाउँदा तल्लो तहसम्म संगठनको जरो बलियो बनेको तर कांग्रेसले त्यसै अनुसार विभागलाई अघि नबढाउँदा त्यसले संगठन निर्माणमा पनि असर गरेको छ । ‘बिभाग गठन र भातृ तथा शुभेच्छुक संस्थालाई चुस्त दुरुस्त बनाउने मुख्य दायित्व छ । यसका लागि चाडैनै काम सुरु हुन्छ । निर्वाचन सन्निकट रहेकाले भातृसंस्थाका अधिवेशनहरु फागुन तिर हुनसक्छन तर अहिले संगठनलाई सक्रिय बनाउने काम हुन्छ’ महतले थपे ।

निर्वाचनको मुखमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन खलबलिने डरले सभापतिले पार्टीका संरचनाहरु खडा गर्न हतारो नगरेको बुझाई छ अर्का नेता घिमिरेको छ । ‘निर्वाचनका बेलामा आन्तरिक सन्तुलन विग्रियो भने घातप्रतिघात पार्टीभित्रैबाट हुन्छ भन्ने सभापतिले ठान्नु भएको हुनुपर्छ । यसको अर्थ सबै संरचनाहरुलाइ तदर्थवादमा चलाउनु पर्छ भन्ने होइन’ घिमिरेले भने,‘लामो अनुभव, परिपक्क र सुझबुझ राख्ने भएकाले सत्ता गठबन्धनदेखि पार्टीभित्रको आन्तरिक समीकरणमा समेत सहमतिनै खोजीरहेको देखिन्छ ।’


प्रकाशित : असार २, २०७९ २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×