१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चित्रवीरको संघर्ष

विप्लव भट्टराई

इलाम — ह्वीलचियरको भरमा एक्लो जीवन जीउनु सन्दकपुर गाउँपालिका–४ मावुका ३७ वर्षीय चित्रवीर गुरुङको बाध्यता हो । सदरमुकामबाट २५ किलोमिटर उत्तरको विकट गाउँका उनी धेरै पटक मृत्यु नजिक पुगे । ६ पटकको शल्यक्रिया पछि पुनर्जीवन पाएका चित्रवीरको संघर्ष सामान्य छैन । उनी हातमुख जोर्नका लागि फोटो खिच्ने, स्टेसनरी चलाउने गर्छन् ।

चित्रवीरको संघर्ष

‘हरेक खाले समस्याको सामना गर्दै समाधान खोजिरहेको छु,’ उनले भने, ‘अब भने आफ्नै पौरखले गुजारा चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको छ ।’ उनलाई महिना वा दुई महिनामा स्वास्थ्य उपचारका लागिका काठमाडौं धाउनुपर्ने र कुन बेला स्वास्थ्यमा समस्या आउँछ भन्ने टुंगो भन्ने हुँदैन ।

वडा कार्यालयको ठीक अगाडि उनको पसल छ । ह्वीलचियर गुडाउँदै पसलको सबै काम एक्लै गर्छन् । बुबाको पत्तो नभएका चित्रवीरले आमाको पनि अनुहार देख्न पाएनन् । विभिन्न शुभेच्छुक र गाउँपालिकाको सहयोगमा बनाइएको सानो कोठामा उनको पसल छ । त्यही सुत्छन् । ह्वीलचियरकै सहारामा करिब सय मिटर टाढाको तीनकुने चोक पुग्ने उनी अहिले भने त्यहाँसम्म पुग्न सक्दैनन् । उनको पसल अगाडिको बाटो भलले खोलेपछि ह्वीलचियर गुड्न सक्दैन । कम्तीमा हरेक मौसम सुहाउँदो बाटो बनाइदिएको भए हुने भन्ने उनलाई लागेको छ ।

उनीसँग स्थानीय सरकार र समाजसँग थुप्रै गुनासा छन् । समाजका हरेक अनियमिततामा प्रश्न उठाउने उनी आफैंप्रति भएको अन्यायको पनि खुलेरै विरोध गर्छन् । दैनिक जीवनयापनमा चित्रवीरलाई निरन्तर साथ दिइरहेका निर्मल गुरुङको परिवार उनलाई दीर्घकालका लागि जीउने ठोस आधार तयार गरिनुपर्नेमा जोड दिन्छन् । वार्षिक ४० हजार रुपैयाँभन्दा धेरै औषधिकै लागि खर्च गर्नुपर्ने उनी अहिलेको बासस्थान अस्थायी भएकाले स्थायी व्यवस्थाका लागि पनि भौंतारिँदै छन् ।

प्रकाशित : जेष्ठ २३, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?