बलात्कार आरोपितलाई पक्राउ नगरिएकोमा प्रदर्शन

रमेशचन्द्र अधिकारी

धनकुटा — आफ्नै साथीको बुबाबाट बलात्कृत धनकुटाकी एक बालिकाका परिवारले न्याय नपाएको गुनासो गर्दै आएका छन् । गत फागुन ६ मा घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर प्रहरीले अझै आरोपित पक्राउ गर्न सकेको छैन । अनुसन्धान फितलो भएको भन्दै पछिल्लो समय विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गर्दै आएका छन् ।

बलात्कार आरोपितलाई पक्राउ नगरिएकोमा प्रदर्शन

महालक्ष्मी नगरपालिका–२ घर भएका र हाल धनकुटा नगरपालिका–६ मा बस्दै आएका मिलन भनिने ४२ वर्षीय लीलबहादुर भुजेलले ११ वर्षीयालाई बलात्कार गरेको जाहेरी दर्ता भएको थियो । २०७७ वैशाख ४ देखि विभिन्न समयमा भुजेलबाट बालिका बलात्कृत हुँदै आएको जाहेरीमा उल्लेख छ । हदम्याद नाघेका कारण जाहेरीमा ‘बालयौन दुरुपयोगसम्बन्धी कसुर’ उल्लेख गरिएको प्रहरीले जनाएको छ । तर उजुरीमा बालिकालाई बलात्कार गरिएको बारे विस्तृतमा उल्लेख छ ।

२०७८ माघ २३ मा श्रीपञ्चमीको दिन आफ्नै घरतर्फ भुजेल आउँदै गरेको देखेपछि बालिका आत्तिएर चिच्याएपछि परिवारका सदस्यले सोधखोज गर्दा घटनाबारे रहस्य खुलेको थियो । बलात्कारमा संलग्नलाई देखेपछि बालिकाले फेरि आफूमाथि हिंसा हुने त्रासले चिच्याएको बताइन् । घटनाबारे प्रहरीमा जाहेरी दिएको चार महिना बितिसक्दा पनि संलग्नको खोजी कार्यमा ढिलासुस्ती भएको पीडित बालिकाका बाबुआमाको गुनासो छ । घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै नाबालिकामाथि बलात्कार भएको उजुरीमा उल्लेख छ ।

बालिकाले सुरुमा साथीहरुलाई घटनाबारे सुनाएकी थिइन् । प्रहरीलाई जाहेरी दिन लागेको अग्रिम जानकारी पाएकै कारण संलग्न फरार भएको स्थानीयले बताए । स्थानीयका अनुसार प्रहरीमा जाहेरी दिएको अघिल्लो दिन साँझदेखि आरोपित भुजेल फरार छन् । ‘जाहेरी दिन लागेको बारे कसले जानकारी दियो र ऊ फरार भयो भन्नेबारे नै हामी अचम्मित छौं,’नाबालिकाका एक आफन्तले भने,‘जाहेरी दिए पनि प्रहरीले बेवास्ता गरिनुले अझ शंका जन्माएको छ ।’ पीडित नाबालिकाको पढाइलेखाइ समेत प्रभावित बनेको आफन्तजनले बताए । छिटो न्याय पाउन सके राहत मिल्ने पीडित पक्षको भनाइ छ ।

चार महिना बितिसक्दा पनि प्रहरीको अनुसन्धान कार्य फितलो रहँदा आफूहरु अझ पीडित बन्नु परेको बालिकाका परिवारले कान्तिपुरसँग गुनासो पोखे । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जाहेरीअनुसार अनुसन्धान गरिरहेको बताए । ‘अनुसन्धान प्रभावित पार्ने गरी प्रदर्शन नगरिएको भए हुन्थ्यो,’उनले भने ।

प्रहरी कार्यालयको मुख्यद्वारमा प्रदर्शनको तयारी गरिरहेका अगुवा विद्यार्थीहरु पेशल निरौला र कुशल खनाललाई आइतबार बिहान प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ । ‘अनुसन्धान भइरहेकोले प्रदर्शन नगरिदिन सम्झाइबुझाइ गरेका हौं,’ उनले भने । तर पेशल र कुशलका अनुसार आफूहरुलाई प्रहरीले अन्य कुनै मुद्दा लगाइदिने भन्दै धम्क्याएका थिए । डीएसपी दाहालले प्रतिवादी पक्राउ गर्न नसके अदालतले फरारको सूचीमा राख्ने भएकोले उम्कन नसक्ने दाबी गरे । जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अन्तर्गतको कसुर गरेको हुँदा हदैसम्मको सजाय गरी क्षतिपूर्ति समेत दिलाइभराई पाउँ भन्ने व्यहोरा उल्लेख छ । तर अनुसन्धान कार्य नै फितलो भएको गुनासो चुलिएको छ । डीएसपी दाहालले जाहेरीबारे विस्तृतमा अध्ययन गर्ने बताए ।

घटनामा संलग्नलाई कार्बाही माग गर्दै आइतबार पनि विद्यार्थीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । घटनाका आरोपितलाई पक्राउ गर्न ढिलाई गरिएको विरोधमा विभिन्न विद्यालयका बालबालिकाले पटक-पटक विरोध प्रदर्शन गर्दै आएका छन् । आफूहरुले प्रहरी अनुसन्धान फितलो भएको विरोधमा कार्यालय अगाडि आएर धर्ना दिदै आएको सहभागी निरौलाले बताए । जघन्य घटनामा पनि अनुसन्धान कार्य फितलो हुनुले आफूहरु सुरक्षित छैनौं भन्ने चिन्ता लागेको सहभागी सष्टिका विशंखेले बताइन् । अपराधमा संलग्नलाई तत्काल पक्राउ नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले घटनाप्रति आफूहरु गम्भीर रहेको र निर्वाचनलगायतका काममा जुट्नु परेकाले ढिलाइ भएको तर्क गरे । तर, जाहेरी दिएको चार महिना बित्न लागेको छ । आरोपित भुजेल सामाजिक सञ्जाल नियमित प्रयोग गर्दै आएका छन् । मोबाइल फोनसमेत प्रयोग गर्दै आएकोले प्रहरीलाई अनुसन्धानमा सहज हुनुपर्ने स्थानीयको बुझाइ छ ।

प्रकाशित : जेष्ठ २२, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?