कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोक्सिङटारको बेलिब्रिज निकालियो

खोटाङका सर्वसाधारण समस्यामा, खोल्न र निकाल्नमा मात्रै ७ वर्षमा सवा ५ करोड खर्च

उदयपुर र खोटाङ — सुनकोसी नदीको फोक्सिङटारमा हिउँदका ५ महिना जडान गरिने बेलिब्रिज हालै निकालिँदा स्थानीय समस्यामा परेका छन् ।

फोक्सिङटारको बेलिब्रिज निकालियो

खोटाङ सदरमुकाम दिक्तेललाई छोटो दूरीबाट तराईसँग जोड्न करिब २८ वर्षयता निर्माण भइरहेको सगरमाथा राजमार्गको दुवैतर्फ (उदयुर र खोटाङ) ट्र्याक खुले पनि बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुल निर्माण हुन सकेको छैन । पुल निर्माणमा ढिलाइ हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्चेर बेलिब्रिज जडान गरिँदै आएको छ । २०७२ यता हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षात्को सुरुसँगै निकाल्ने गरिन्छ । खोल्न र निकाल्नमा मात्रै ७ वर्षमा (अहिलेसम्म) ५ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको गाईघाट दिक्तेल सडक योजना कार्यालयले जनाएको छ ।

बेलिब्रिज जडानसँगै सोझै गाईघाट–दिक्तेल सार्वजनिक सवारीसाधन सञ्चालनले त्यस क्षेत्रका बासिन्दालाई राहात पुग्छ । ‘अस्थायी रूपमै भए पनि बेलिब्रिज सञ्चालन हुँदा वर्षका ५ महिना सर्वसाधारणलाई राहत पुगेको थियो,’ स्थानीय खेमराज राउतले भने । बेलिब्रिज नहुँदा अब दुःखका दिन सुरु भएको उनले बताए ।

करिब २५ टन भार वहन क्षमताको दुवैतर्फ एप्रोच रोडसहितको बेलिब्रिज जडान गरिएको गाईघाट दिक्तेल सडक योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । फोक्सिङटारमा पक्की पुल निर्माण कार्य भइरहेको छ । तर समयमै सम्पन्न नहुँदा बेलिब्रिजमा बर्सेनि लाखौं रुपैयाँ खर्च गर्नुपरेको रौतामाई–५ का वडाध्यक्ष पाण्डव राइर्ले बताउँदै आएका छन् । ‘फोक्सिङ्टारमा दुई वर्षअघि नै पक्की पुल निर्माण भइसक्नुपर्ने हो,’ पुनः निर्वाचित वडाध्यक्ष राईले भने, ‘तर निर्माण कम्पनीको लापरबाही र डिजाइनमा भएको गडबडीले ढिलाइ भएको हो ।’ पछिल्लो समय भने पुल निर्माणले तीव्रता पाएको उनले बताए ।

बेलिब्रिज हुँदा खोटाङको तराईका सहरसँग सिधा यातायात सम्बन्ध जोडिएको थियो । उपभोग्य वस्तु, निर्माणलगायतका अन्य सामग्रीको मूल्य घटेको थियो । वर्षाले बेलिब्रिज निकालिए पछि विभिन्न सामग्रीको मूल्य अकासिने नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताए । उनका अनुसार हरेक सामानको मूल्य प्रतिकेजी पाँच रुपैयाँभन्दा बढी महँगो हुनेछ । बेलिब्रिज निकाल्न सडक आयोजनाको ६८ लाख रुपैयाँ खर्च भएको सडक योजना प्रमुख खकुरेलले बताए । उनका अनुसार रेग्मी–भानुमती–चौधरी जेभी कम्पनीले जेठ ९ देखि १५ सम्ममा खोलेको हो । उक्त निर्माण कम्पनीले बेलिब्रिज जडान गर्ने र खोल्ने ठेक्का लिएको थियो ।

फोक्सिङटारमा निर्माणाधीन पुल निमाण नहुँदा बेलिब्रिज जडान गर्न र निकाल्न राज्यको बर्सेनि लाखौं खर्च हुँदै आएको छ । करिब १८ करोडको लागतमा पुल निर्माणको ठेक्का लिएको गौरी पार्वती वाइपी जेभीले तीन वर्षअघि नै सक्नुपर्ने थियो । तर पुल निर्माण गरिसक्नुको साटो दुई पटक त म्याद नै थपिसकेको छ । अझै ७५ प्रतिशत बाँकी रहेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का निमित्त योजना प्रमुख नितेश झाले बताए । उक्त पुल एक सय २० मिटर लम्बाइ हुनेछ ।

प्रकाशित : जेष्ठ १९, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?