१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बलात्कार प्रयासपछि किशोरीमाथि कुटपिट

कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ–५ धिमीले गाउँकी १७ वर्षीया किशोरी गत बिहीबार बाटो नजिकै घाँस काट्दै थिइन् । एक अपरिचित युवक नजिक आए ।  चिनजान गरे । आफ्नो नाम रिदम राई बताए । फोन नम्बर साटासाट गरे । पछि फोनमा बोलचाल हुँदा भेट्ने प्रस्ताव राखे ।

शनिबार रात परेपछि युवक उनको घरनजिकै आए । किशोरी पनि अभिभावकलाई चाल नदिई निस्किइन् । गफ गर्ने क्रममा दुवै केही परसम्म पुगे । युवकले शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले अस्वीकार गरिन् । त्यसपछि युवकले घाँटी थिचे, कुटपिट गरे । ढुंगाले टाउकोमा हिर्काए । कानको गहना थुते । मोबाइल खोसे, ब्याट्री, सिम निकालेर फाल्दिए । किशोरीको ज्यान गइसकेको अनुमान गरेपछि युवक घटनास्थलबाट भागे । अभियुक्तले प्रहरीसमक्ष दिएको यो बयानलाई आधार मान्ने हो भने घटना विवरण यत्ति हो ।

बिहानपख गाउँले र आफन्तले बलबहादुर राई ग्रामीण समावेशी सडकको जुकेखोलामा किशोरीलाई अचेत अवस्थामा भेटे । लुगा च्यातिएको थियो । तत्काल प्रहरीको सहायतामा उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पुर्‍याइयो । अवस्था गम्भीर भएपछि उनलाई आइतबार हेलिकोप्टरबाट थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाइयो । आईसीयूमा उपचार भइरहेकी उनको टाउकोको शल्यक्रियाको तयारी भइरहेको काठमाडौंमै रहेका मानेभन्ज्याङ–५ का वडाध्यक्ष रामकुमार राईले बताए ।

किशोरीले ओखलढुंगा सामुदायिक अस्पतालमा होस खुल्दा युवकको नाम रिदम राई बताएकी थिइन् । प्रहरीले मानेभन्ज्याङ र आसपासमा उक्त नामको कोही भेटेन । ती युवक सिन्धुलीको नेपालथोक पुगिसकेका थिए । उनी त्यहीं एक होटलमा काम गर्ने मानेभन्ज्याङ–९ माधवपुरका २७ वर्षीय टंकराज राई रहेको खुल्यो । खुर्कोट प्रहरीसँगको समन्वयमा आइतबारै उनलाई पक्राउ गरेर जिल्ला ल्याइयो । उनले प्रहरीसँगको बयानमा घटनामा आफ्नो संलग्नता स्विकारेका छन् । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

‘युवकले म त भोलि सहर जाँदै छु आज जसरी नि भेटौं भनेकै आधारमा किशोरी घरबाट निस्केर भेट्न गएको खुलेको छ,’ डीएसपी सुकदेव खनालले भने, ‘बुबाआमाले छोरी घरबाट निस्किएको थाहा पाएका रहेनछन् ।’ टंकराजविरुद्ध किशोरीका परिवारले बलात्कार तथा ज्यान मार्ने प्रयास भएको भन्दै किटानी जाहेरी दिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?