२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बालिका बलात्कार घटनाको अनुसन्धानमा प्रहरीको ढिलासुस्ती

रमेशचन्द्र अधिकारी

धनकुटा — घरी रुन्छिन् त घरी बेहोस हुन्छिन् । आत्तिन्छिन् र चिच्याउँछिन् पनि । होसमा आउँदा आफूमाथि बलात्कार गर्ने व्यक्तिले आक्रमण गरेको दृष्य आँखामा आएपछि यस्तो समस्या आउने गरेको उनी बताउँछिन् ।

धनकुटामा साथीको बुवाबाट बलात्कृत एक नाबालिका केही महिनादेखि नै यस्तो अवस्थाबाट गुज्रिएकी छन् । नाबालिकाका बाबुले प्रहरीमा चार महिनाअघि नै गत माघमा अपराधमा संलग्नविरुद्ध जाहेरी दिएका थिए । तर, चार महिना बितिसक्दा पनि प्रहरीले अझै आरोपित पक्राउ गर्न सकेको छैन ।

धनकुटा नगरपालिका ६ का मिलन भनिने नीलबहादुर भुजेलले ११ वर्षीया नाबालिकालाई बलात्कार गरेकोबारे जाहेरी दर्ता भएको थियो । तर, लामो समय बितिसक्दा पनि प्रहरीले संलग्नको खोजी कार्यमा ढिलासुस्ती गरेको पीडित परिवारको गुनासो छ ।

२०७७ वैशाखमा भएको उक्त घटना बालिकाले डेढ वर्ष बितेपछि परिवारका सदस्यलाई बताएकी थिइन् । कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै नाबालिकामाथि कयौं पटक बलात्कार भएको जनाइएको छ । सुरुमा साथीको घरमा जाँदा उनी बलात्कृत भएकी थिइन् । त्यसपछि कहिले फकाउँदै त कहिले धम्क्याउँदै नाबालिकामाथि बलात्कार भएको पीडितका परिवारका सदस्य बताउँछन् ।

बालिकाले विभिन्न अस्वभाविक स्वभाव देखाउन थालेपछि परिवारका सदस्यले सोधपुछ गर्दा घटना बाहिरिएको थियो । यस्तै, सुरुमा आफ्ना साथीहरुलाई समेत घटनाबारे सुनाएकी थिइन् ।

प्रहरीलाई जाहेरी दिन लागेको अग्रिम जानकारी पाएपछि नै आरोपित भने फरार छन् । स्थानीयहरूका अनुसार प्रहरीमा जाहेरी दिएको अघिल्लो दिन साँझदेखि उनी फरार भएका हुन् । ‘जाहेरी दिन लागेकोबारे कसले जानकारी दियो र उ फरार भयो भन्नेबारे नै हामी अचम्मित छौं’ नाबालिकाका आफन्तले भने, ‘जाहेरी दिए पनि प्रहरीले वेवास्तन गर्नाले अझै आशंका जन्माएको छ ।’ यस घटनाले पीडित नाबालिकाको पढाइलेखाइ समेत प्रभावित बनेको आफन्तजन बताउँछन् । छिटो न्याय पाउन सके उनलाई राहत मिल्ने उनीहरूको भनाइ छ ।

चार महिना बितिसक्दा पनि प्रहरीको अनुसन्धान कार्य फितलो रहेको नाबालिकाका परिवारको गुनासो छ । प्रहरी कार्यालयमा कयौं पटक धाए पनि आफूहरुलाई वेवास्ता समेत गरेको उनीहरुले बताए ।

जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी नायव निरीक्षक डम्बर थापाले गत माघमा घटनाबारे जाहेरी दर्ता भएको बताए । यसैगरी, प्रहरी प्रवक्ता चिरञ्जीवि दाहालले उक्त जाहेरीबारे विस्तृतमा अध्ययन गर्ने बताएका छन् ।

‘मुद्दा त भएको होला, म बुझ्ने छु, अनुसन्धानको प्रक्रियामा हुनसक्छ’, उनले भने, ‘प्रतिवादी पक्राउ गर्न नसके अदालतले फरारको सूचीमा राख्ने भएकोले उम्कन सक्दैन ।’ नाबालिकाकी एक आफन्तले भने प्रहरीले महिनौसम्म खोजतलास गरेको भन्दै ढिलासुस्ती गरेको बताएकी छन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?