ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

आनन्द गौतम

ताप्लेजुङ — बाख्रा चराउन जंगल गएकी युवती मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृत भेटिएको सिम्ले प्रहरी चौकीले जनाएको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

उनको शव डेढ सय मिटर धसारिएर झरेको पाइएको मृतकका आफन्त विष्णु भट्टराईले जनाए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : जेष्ठ ९, २०७९ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान

माधव ढुंगाना

भैरहवा — अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।  

कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए ।

‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’

विमान र रन-वेमा कतै पनि ठोक्किएको चराको अवशेष फेला नपरेपछि चरा विमानको इन्जिनभित्र पसेको हुन सक्ने शंकाले प्राविधिक जाँच गर्नका लागि विमान रोकिएको उनले बताए ।

विमानको जाँचका लागि काठमाडौंबाट प्राविधिक आउने र सबै चेकजाँच गरेर विमान सुरक्षित रहेको प्रमाणित भएपछि मात्र बल्ल उडान हुने छ ।

जजिरा एयरलाइन्सको एयरबस-३२० विमान १ सय २१ जना यात्रु लिएर आइतबार राति २ बजे भैरहवामा अवतरण गरेको थियो । यो विमानले कतार-भैरहवाबीच हवाई उडान गरेको चौथो पटक हो ।

प्रकाशित : जेष्ठ ९, २०७९ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×