ओखलढुंगामा बेपत्ता किशोरी अचेत अवस्थामा भेटिइन् - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगामा बेपत्ता किशोरी अचेत अवस्थामा भेटिइन् 

शंकास्पद एक जना पक्राउ 
कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका ५ धिमिलेकी १७ वर्षीया किशोरी खाना खाएर शनिबार साँझ घरमै सुतेकी थिइन् । तर बिहानपख ब्यूँझिदा उनी ओछ्यानमा थिइनन् । घरमा नदेखिएपछि परिवारका सदस्य र गाउँलेले झिसमिसेमै खोजी गरे । किशोरी घरदेखि करिब डेढ किलोमिटरको दूरीमा पर्ने सडकमा अचेत अवस्थामा भेटिइन् ।

उनको टाउकोमा गहिरो चोट थियो । शरीरका कपडा च्यातिएका थिए । उनलाई तत्काल प्रहरीको सहायतामा ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा लगियो । उनको उपचारपछि सामान्य होस खुलेको प्रहरीले बतायो ।

उनको उपचारमा खटिएका ओखलढुंगा सामुदायिक अस्पतालका चिकित्सकले बलात्कार भएको हुनसक्ने आशंका गरेका छन् । किशोरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । किशोरीको 'फरेन्सिक ल्याब'मा परीक्षण गरी रिपोर्ट उपलब्ध गराउन प्रहरीले शिक्षण अस्पताललाई अनुरोध गरेको छ । रिपोर्टका आधारमा अनुसन्धान गर्ने जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले बताए । किशोरीले प्रहरीलाई संकेत दिएको आधारमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिलाई छिमेकी जिल्लाबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेकोले पूर्ण जानकारी अहिले नै दिन नसकिने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार किशोरीको टाउकोमा भुत्ते वस्तुले बेस्सरी हिर्काएको देखिन्छ । पीडितका परिवारले प्रहरीसमक्ष जाहेरी दिइसकेका छन् । जिल्लास्थित महिला अधिकारकर्मीहरुले समेत अपराधी पत्ता लगाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

झापाको शिवसताक्षीमा पुनः एमाले विजयी 

पर्वत पोर्तेल

झापा — झापाको शिवसताक्षी नगरपालिकामा पुनः एमाले विजयी भएको छ । २०७४ मा पनि प्रमुख–उपप्रमुख दुवै पद एमालेले जितेको थियो । एमालेका मेघाहाङ थोप्रा (रोशन) ले कांग्रेसका परशुराम ढुंगानालाई पराजित गरे । थोप्राले १६ हजार ४९८ मत पाउँदा ढुंगानाले १३ हजार ५० मतमा चित्त बुझाए ।

ढुंगाना अघिल्लोपटक पनि एमालेकै चन्द्रकुमार शेर्मासँग पराजित भएका थिए ।

उपप्रमुखमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत पाउदा गठबन्धनका उम्मेदवार महेन्द्र भट्टराईले ९ हजार ५२५ मत पाए । भट्टराई अघिल्लोपटक माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार थिए । ११ वडामध्ये एमालेले आधाभन्दा बढी वडामा एक्लौटी जित हासिल गरेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×