इटहरीमा एमाले नेतामाथि आक्रमण- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा एमाले नेतामाथि आक्रमण

अर्जुन सुवेदी

सुनसरी — इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश एक सदस्य रहेका उनीमाथि आइतबार बिहान तीन जनाको समूहले इटहरीको संगीत चोक क्षेत्रमा आक्रमण गरेको हो ।

एमाले निर्वाचन परिचालन समितिका सह–इन्चार्ज समेत रहेका उनीमाथि इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए । आक्रमणमा संलग्न ती युवाहरुले 'तँलाई कुटेपछि अब द्वारिकलाल चौधरीलाई कुट्ने' भन्दै भागेको सुवेदीको भनाइ छ ।

आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् । इटहरी उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ ।

उनीमाथि आक्रमण भएको विरोधमा एमाले कार्यकर्ताले इलाका प्रहरी कार्यलय इटहरी अगाडि प्रदर्शन गर्दै केहीबेर चक्काजाम गरेका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेकी जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो।

प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्वीटरमार्फत् यसबारे जानकारी दिएका छन् । 'अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ,' देउवाले ट्वीटरमा लेखेका छन् ।

भेटको क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको पनि प्रधानमन्त्री देउवाले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियालाई नेपाल भ्रमणका लागि पठाएको हो । जेठ ६ गते नेपाल आएकी जिया ८ गतेसम्म नेपालमा रहने छिन् ।

उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकको अवधिमा नेपालमा भएको अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमण हो । नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउन जुटेका छन् । लगत्तै अमेरिकाबाट एकपछि अर्को भ्रमण भएका छन् ।

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो । वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन् । त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए । नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×