१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रदेश १ मा बढ्यो कांग्रेस, खुम्चियो एमाले

‘प्रदेशको पहाडी भेगमा बढी र अन्यत्र कुनै–कुनै ठाउँमा बाहेक गठबन्धन प्रभावकारी देखिएन’
प्रदेश ब्युरो

विराटनगर — प्रदेश १ सय ३७ सिटमा भएको चुनावमा २०७४ को स्थानीय तह चुनावसँग तुलना गरेर हेर्दा एमाले कमजोर देखिएको छ । कांग्रेस र माओवादीले स्थिति सुधार गरेका छन् । अघिल्लो स्थानीय तह चुनावमा एमालेले ६९ स्थानीय तहमा जित हासिल गरेको थियो । जबकि शुक्रबार साँझसम्मको मतपरिणाम हेर्दा एमालेले जम्मा ४१ सिट मात्रै जितेको छ ।

प्रदेश १ मा बढ्यो कांग्रेस, खुम्चियो एमाले

२०७४ मा कांग्रेसले विराटनगर महानगरपालिका सहित ५१ स्थानीय तहमा विजयी पाएको थियो । ३ स्थानमा जितेको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा मिसिएपछि कांग्रेसको संख्या ५४ पुगेको थियो । यसपालि भने पूर्ण मतपरिणाम नआउँदै कांग्रेसले ६१ स्थान जितिसकेको छ । अघिल्लोपल्ट ९ सिटमा खुम्चिएको माओवादीले स्थिति सुधार गर्दै १२ सिट जितिसकेको छ । यो समाचार तयार गर्दा शुक्रबार बेलुकासम्म १६ सिटको नतिजा आइसकेको छैन ।

दुवै स्थानीय निर्वाचनलाई नजिकबाट नियालिरहेका सञ्चारकर्मी महाप्रसाद खतिवडा मतदाताले आफूसँग सहज सम्पर्कका प्रभावकारी सेवा दिन सक्नेलाई जिताएको बताए । ‘धेरै ठाउँमा परिणाम उल्टो आएको छ, जितेको ठाउँमा हारेको र हारेको ठाउँमा जितेका छन्,’ खतिवडाले भने, ‘प्रदेशको पहाडी भेगमा बढी र अन्यत्र कुनै/कुनै ठाउँमा बाहेक गठबन्धन प्रभावकारी देखिएन ।’

सोलुखुम्बुको ८ स्थानीय तहमध्ये ५ मा कांग्रेस, २ मा एमाले र १ मा माओवादीले प्रमुखमा जतेको छ । जबकि २०७४ मा कांग्रेस १, माओवादी ३ र एमालेले ४ सिट जितेको थियो । जिल्लास्थित कान्तिपुर संवाददाताका अनुसार मतदाताले पार्टी भन्दा पनि मतदाता छानेर भोट दिएको देखिन्छ ।

पाँचथरमा एमाले पहिले जितेका ठाउँमा हार ब्यहोरेको छ भने कांग्रेस र माओवादीले सिट संख्या बढाएका छन् । जिल्लामा कांग्रेसले ६, एमालेले एक, माओवादीले १ जितेको छ । जबकी २०७४ मा यहाँ कांग्रेस ४, एमाले ३ र माओवादी १ पालिका प्रमुखमा विजयी भएको थियो ।

२०७४ मा धनकुटामा क्लिन स्विप गरेको एमाले यसपाला खुम्चिएको छ । यसपालि ४ पालिका गठबन्धनले र ३ मा एमालेको पकड देखाएको छ । कान्तिपुरका जिल्ला संवाददाताका अनुसार वडाबाट सिफारिस भएकाहरू उम्मेदवार नभएका कारण एमाले दोस्रोमा खुम्चियो ।

ताप्लेजुङको स्थानीय तहमध्ये ४ मा कांग्रेस, ३ मा एमाले र २ वटामा माओवादीले नेतृत्व पाएको छ । जबकी २०७४ मा एमाले ५ र कांग्रेसले ४ पालिकामा जित हासिल गरेको थियो । जिल्ला संवाददाताका अनुसार एजेन्डा र समुदायको आधारमा यहाँ हारजित भएको देखिन्छ ।

अन्य जिल्लामा जस्तै उदयपुरमा पनि एमाले खुम्चिएको छ । यहाँ २०७४ मा एमालेले ६ र कांग्रेस/माओवादीले एक/एक पालिका जितेका थिए । यसपालि भने ३ पालिकामध्ये माओवादी केन्द्र, एमाले, कांग्रेस र एकीकृत समाजवादीले एक/एक पालिकामा कब्जा जमाएका छन् । दुई पालिकाको नतिजा आउन बाँकी छ ।

२०७४ मा तीन सिट जितेको एमालेले ओखलढुंगामा यसपालि एक स्थानमा मात्रै सीमित भएको छ । जिल्लाका ८ पालिकामध्ये एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वतन्त्रले एक एक सिट जितेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा ४ सिट जितेको कांग्रेसले यसपालि पनि चार सिट नै जितेको छ ।

तेह्रथुममा कांग्रेस र एमालेले बरोबर ३/३ पालिकाको प्रमुख जितेको छ । २०७४ मा यहाँ एमालेले १ नगरसहित ५ पालिका र कांग्रेसले एक नगरमा विजयी भएको थियो । जिल्ला संवाददाताका अनुसार यहाँ पार्टीगत रूपमा मतदान भए पनि गठबन्धनबाट कांग्रेसलाई बढी फाइदा भएको छ ।

भोजपुरमा प्रमुख पदमा कांग्रेस र एमालेले ३/३, माओवादीले २ र एमालेका विद्रोहीले १ पालिका प्रमुख जिते । २०७४ मा कांग्रेस र एमालेले ४/४ पालिका र माओवादीले १ पालिका प्रमुख पद जितेको थियो । जिल्ला संवाददाताका अनुसार गठबन्धन र पार्टीभित्रको विद्रोहले चुनावी परिणाम उलटफेर भएको देखियो ।

संखुवासभामा यसपाली कांग्रेसले ६ र एमालेले ४ पालिका प्रमुख जितेको छ । २०७४ मा कांग्रेस र एमालेले ५/५ वटा पालिका प्रमुखमा पुग्न सफल भएको थियो । शुक्रबार बेलुकीसम्म घोषित परिणामअनुसार झापामा भने एमाले अघिल्लो स्थानीय तह निर्वाचनभन्दा आधा बढीले खुम्चिने देखिएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेसले ४, एमालेले ३ र राप्रपाले २ स्थानीय तह प्रमुख जितेको छ । ६ स्थानीय तहको नतिजा आउन बाँकी छ । २०७४ मा एमालेले ७, कांग्रेसले ५ र राप्रपाले ३ पालिका प्रमुखमा विजयी भएको थियो ।

इलाममा यसपटक एमालेले ५ र कांग्रेसले ४ पालिका जितेका छन् । एउटामा गणना जारी छ । २०७४ मा यहाँ एमालेले ७ र कांग्रेसले ३ पालिका प्रमुख जितेको थियो । जिल्ला संवाददाताका अनुसार सुवास नेम्वाङ र झलनाथ खनाल जस्ता हस्तीको जिल्ला भए पनि उनीहरूको प्रभाव मतदातामा देखिएन ।

२०७४ मा खोटाङमा ६ सिट जितेको एमाले यसपालि २ सिटमा खुम्चियो । तीन सिट जितेको कांग्रेसले दोब्बर सिट जितेर ६ पुर्यायो भने २ पालिका प्रमुख जितेको माओवादी केन्द्र एकमा खुम्चियो । सुनसरीमा भने कांग्रेस ४, एमाले ३ र जनता समाजवादी पार्टी एक पालिका प्रमुखमा विजयी भएका छन् । चार पालिकाको परिणाम आउन बाँकी छ । २०७४ मा कांग्रेस ६, एमाले ३ र अन्य दलले ३ पालिका प्रमुख जितेको थियो । जिल्ला संवाददाताका अनुसार यसपालि नयाँ प्रवृत्ति भनेको स्वतन्त्र र इमानदार उम्मेदवार पनि जनताको नजरमा परे ।

मोरंगको ७ पालिकामा कांग्रेस र ७ पालिकामा एमाले प्रमुखमा जितेको छ । ३ पालिकाको नतिजा आउन बाँकी छ । २०७४ को चुनावमा कांग्रेस १०, एमाले ५, माओवादी १ र अन्य १ दलले पालिकामा प्रमुखमा जितेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?