३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

झापाका पाँच पालिकामा ‘फ्रेस नेतृत्व’, दोहोरिए चार अनुहार

पर्वत पोर्तेल

झापा — झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण साह पुनः दोहोरिए । यो पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित दुई तिहाई बहुमत जित्यो । यहाँ गठवन्धन भएको थिएन । यद्यपि ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जित्यो । पालिकाका दुई वटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् । 

झापाका पाँच पालिकामा ‘फ्रेस नेतृत्व’, दोहोरिए चार अनुहार

झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङदेन दोहोरिएका छन् । राप्रपाले यहाँ अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । रविन्द्र राप्रपा अध्यक्ष राजेन्द्रका लिङदेनका माइला भाइ हुन् । कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुनः विजयी भएका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेसकै उम्मेदावरलाई पराजित गरेका उनले यसपटक पनि कांग्रेसकै रुद्र चिमरियालाई हराए । विर्तामोडको प्रमुख एमालेकी पवित्रा महतरा वनेकी छन्। अघिल्लो कार्यकालकी उपप्रमुख उनले गठवन्धनका कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई हराएर दोश्रो इनिङ शुरु गरेकी हुन् । उनी पालिका प्रमुख वन्ने जिल्लाकै पहिलो महिला हुन् ।

चारै जना पालिकामा अध्यक्ष/प्रमुख दोहोरिए । तर, उपाध्यक्ष/उपप्रमुख नयाँले जिते । कनकाईको उपप्रमुख कांग्रेसकी आशा शर्मा शिवाकोटीले जितिन्। झापाको उपाध्यक्ष कांग्रेसकै अन्जुदेवी थपलियाले जित्दा हल्दीवारीमा राप्रपाकै लक्ष्मीदेवी मैनाली उपप्रमुख बनिन् । विर्तामोडमा नगेन्द्र संग्रौला उपप्रमुख वने । जनताको मन जित्नेहरु पुनः चुनाव जिते । मन नजित्नहरु पराजित भए ।

पार्टीले पत्यायो, मतदाताले पत्याएनन

भद्रपुर, कचनकवल, बुद्धशान्ति, बाह्रदशी र दमकमा ‘फ्रेस नेतृत्व’ आएको छ । पूराना जनप्रतिनिधिले दोहोरिन चाहेपनि यी पालिकामा मतदाताले पत्याएनन् ।

२०७४ को निर्वाचनमा उपप्रमुख जितेकी दमक नगरपालिकाकी गीताकुमारी अधिकारीलाई एमालेले यसपटक प्रमुखको उम्मेदवार वनाएको थियो । तर, उनी पराजित भइन्। कांग्रेस–माओवादी र राप्रपा मिलेर यिनलाई पराजित गरे ।

राप्रपाका राम थापा विजयी वने । गीताकुमारी ५५९ मतले पराजित भइन्। बुद्धशान्ति गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार मीरा भूर्तेल पनि पराजित भइन् । एमाले नेतृ भूर्तेल कांग्रेसका मनोज प्रसाईसंग पराजित भइन् । कनकाई नगरमा पुनः उपप्रमुखमै उम्मेदवारी दिएकी एमालेकी मन्जु प्रसाई कांग्रेसकी आशा शर्मासंग पराजित भइन् ।

हल्दीवारी गाउँपालिकाका अध्यक्ष उम्मेदवार एमालेका डम्वर गिरी राप्रपाका रवीन्द्र लिङदेन संग हारे । अघिल्लो कार्यकालमा उनले उपाध्यक्ष जितेका थिए ।

कचनकवल गाउँपालिकामा २०७४ मा अध्यक्ष जितेका राप्रपाका अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी पुनः अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवार वनेका थिए । तर, दुवैलाई कांग्रेस–एमाले उम्मेदवारहरु क्रमशः कालेन्द्रसिंह राजवंशी र नवराज भट्टराईले हराए ।

बाह्रदशीमा पुनः अध्यक्षको उम्मेदवार वनेका कांग्रेसका खडग राजवंशीलाई एमालेका देवेन्द्र चम्लागाईले पराजित गरे ।

१५ वटा स्थानीय तह रहेको झापामा नगरपालिका ८ र गाउँपालिकाको संख्या ७ छ । २०७४ को निर्वाचनमा एमालेले सवभन्दा वढी ७ पालिकामा एकलौटी जितेको थियो । भद्रपुर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी, कमल र दमकमा एमालेको करिव वहुमत थियो । १२ पालिकामा उपप्रमुख जितेको थियो । जसमा कमल र हल्दीवारी गाउँपालिकामा पुरुषले उपाध्यक्ष जितेका थिए ।

नेपाली कांग्रेसले प्रमुख/अध्यक्ष जितेको मेचीनगर, वुद्धशान्ति, झापा र गौरादहमा एमालेले उपप्रमुख र उपाध्यक्षमा जितेको थियो ।

नेपाली कांग्रेसले मेचीनगर, बुद्धशान्ति, वाह्रदशी, झापा, गौरादहमा प्रमुख/अध्यक्षमा जितेको थियो । उसले बाह्रदशीमा अध्यक्ष/उपाध्यक्ष दुवै पदमा जितेको थियो ।

राप्रपाले कचनकवल, हल्दीवारी र गौरीगंजमा जितेको थियो । कचनकवलमा एक्लौटी जितेकोमा हल्दीवारी र गौरीगंजमा भने उपाध्यक्ष क्रमशः एमाले र कांग्रेसले जितेको थियो ।

यो वर्ष जिल्ला भरी नै कांग्रेस–माओवादी गठवन्धन छ । ९ पालिकाको नतिजा सार्वजनिक भइसक्दा कांग्रेसले ४, एमालेले ३ तथा राप्रपाले २ वटा पालिकामा जितेको छ । कांग्रेस–एमालेले तालमेल गरेको कचनकवलमा कांग्रेस अध्यक्ष र उपाध्यक्षमा एमाले, कांग्रेस–माओवादीको गठवन्धन भएको भद्रपुरमा प्रमुख कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ । झापा गाउँपालिकामा कांग्रेसको वहुमत छ । वुद्धशान्तिमा अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमालेले जितेको छ ।

कनकाईमा प्रमुख एमाले र उपप्रमुखमा कांग्रेसले जितेको छ । यो नगरमा कांग्रेसको आन्तरिक विवादको फाइदा एमालेले लिएको छ । प्रमुखमा विजयी राजेन्द्र पोखरेलको यो दोश्रो कार्यकाल हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको पालिकामा हल्दीवारीमा राप्रपाले र वाह्रदशीमा एमालेले दुवै पदमा जितेको छ ।

दमकमा राप्रपाका राम थापाले प्रमुख जितेका छन् । उपप्रमुख कांग्रेसका रेगिना भट्टराईले जितेकी छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?