तेह्रथुमको मेन्छ्यायेम-१ मा एमालेको प्यानलै विजयी- प्रदेश १ - कान्तिपुर समाचार

तेह्रथुमको मेन्छ्यायेम-१ मा एमालेको प्यानलै विजयी

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर लिम्बू विजयी भएका छन् । सो वडामा एमालेको प्यानलै निर्वाचित भएको हो । 

मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिम्वुले २ सय १६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार शहरमान लिम्वुले १ यस ८९ मत प्राप्त गरेका छन् । शहरमान निवर्तमान वडाध्यक्षसमेत हुन् ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

'मेघदूत' को महाआनन्द 

कान्तिपुर संवाददाता

काठमाडौँ — गएको वर्ष लेखक मोहन मैनालीका तीनवटा अनूदित कृति प्रकाशनमा आए– हिमाचली लोकगीत ‘हे मेरी आमा’, अन्वेषक, चिन्तक र द्रष्टाका निबन्धको संग्रह ‘आकाशमुखी’ र नेपाल आउने पहिलो फ्रेन्च अन्वेषक गुस्ताब बोनको ‘नेपाल यात्रा वृत्तान्त’– 

म ननफिक्सन बढी पढ्छु । मेरा जिज्ञासा मेटाउने, आनन्द दिने र उपयोगी जानकारी दिने किताब मन पर्छन्, तर तिनमा किताबमा नभई नहुने गुण भने हुनुपर्छ ।

पछिल्लोपटक मैले इरावती कर्वेको ‘युगान्त : महाभारतको महामृत्यु’ (अनुवाद : सुजित मैनाली), जोन स्टेनबेकको ‘मुसा मानुष’ (अनुवाद : गनेस पौडेल), जेडी हुकरको ‘कञ्चनजंघा जुहार’ (अनुवाद : हस्त गुरुङ), कालिदासको ‘मेघदूत’ र रवीन्द्रनाथ ठाकुरको ‘जीवनस्मृति’ पढें ।

कञ्चनजंघा जुहार

म पछिल्ला तीन किताबको मात्रै चर्चा गर्छु । हिमालयका वनस्पतिको सर्वेक्षण गर्ने क्रममा वनस्पतिविद् जेडी हुकर सन् १८४८ मा दार्जिलिङबाट नेपाल पसेर इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्ला घुमेका थिए । यो र यस्ता धेरै अध्ययन भ्रमणमा पाएका कुरा समेटेर उनले ‘द हिमालयन जर्नल’ नामक किताब लेखेका थिए । सोही किताबको नेपाल खण्डको नेपाली अनुवाद हो ‘कञ्चनजंघा जुहार’ । यस किताबमा उनले वनस्पतिको मात्रै कुरा गरेका छैनन्, खेतीपाती गर्ने हाम्रो नराम्रो शैली, नेपालका हिमाली भेगका बासिन्दा, त्यहाँको भौगोलिक अवस्था, वन्यजन्तु र कञ्चनजंघाजस्ता हिमालको सौन्दर्य आदिको पनि वर्णन गरेका छन् ।

वैज्ञानिकहरूको धेरैजसो लेखाइ अरू मानिसले नबुझ्ने र टर्रो हुनेगर्छ, तर यस किताबको लेखाइ सरल र सरस छ । हाम्राबारे लेखकले कतै खुलेर प्रशंसा गरेका छन् भने कतै दिलैदेखि हामीलाई घृणा गरेका छन् । यो त्यतिबेलाको नेपालको कुरा हो, जतिबेला नेपालमा आलुको बीउ आइपुगेको थिएन । यो त्यतिबेलाको कुरा हो, जतिबेला हाम्रो देशमा अध्ययन–अनुसन्धान गर्ने चलन थिएन । अध्ययन–अनुसन्धान गर्न खोज्ने विदेशीलाई नेपाल आउन हत्तपत्त दिइँदैनथ्यो । यसले गर्दा पनि यो त्यस्ता दुर्लभ किताबमध्येमा पर्छ, जसले आजभन्दा पौने दुई सय वर्षअघिको नेपालको अवस्था बताउँछ ।

बजारमा नआएको, हस्त गुरुङले अनुवाद गरेको यो किताब छापिन प्रेसमा जानुअघि मैले पढ्ने मौका पाएँ ।

मेघदूत

स्वर्गको दरबारमा काम गर्ने कुनै यक्ष आफ्नी प्रियसीसँग बढ्तै लहसिएर आफ्नो कर्तव्यबाट च्युत भए । यसबापत उनलाई उनका मालिकले एक वर्षसम्म प्रियसीबाट टाढा रहनुपर्ने श्राप दिए । निर्वासनमा रहँदा उनको शरीर ख्याउटे भयो । उनको मन विरहले पिल्सियो । यस्तै बेला असार १ गते उनले आफू निर्वासित भएको ठाउँ रामगिरिको छेउमा मनसुनी बादल देखे । प्रियसीलाई आफ्नो खबर लगिदिन उनले त्यही बादललाई अनुरोध गरे । प्रियसीसम्म पुग्ने बाटो, प्रियसी बसेको ठाउँ र प्रियसी सबैको वर्णन गरिदिए । कुन ठाउँ कस्तो छ, त्यहाँ बादलले के गर्नुपर्छ, बादलले बाटामा अरू कसकसलाई भेट्छ आदि कुरा पनि ।

खण्डकाव्य ‘मेघदूत’ को कथा यही हो । संस्कृतका ख्यातिप्राप्त कवि कालिदासले लेखेको ‘मेघदूत’ ले यथार्थपरक कल्पना र त्यसको सुन्दर अभिव्यक्तिका लागि ख्याति कमाएको छ । अनूदित अक्षरबाट मात्रै यसको स्वाद पाइँदैन भन्ने बुझेर मेरा कानले यसको अनुवाद र टीका युट्युबमा पढे । सर्वज्ञभूषणले युट्युबमा चलाएको संस्कृतगंगा नामक क्लासमा उनले यसको वाचन पनि गरेका छन्, त्यसका शब्दशब्दको अनुवाद गरेका छन्, त्यहाँ उल्लेख भएका कुराको प्रसंग र ब्याख्या गरेका छन् ।

‘मेघदूत’ लगायतका कालिदासका विभिन्न कृति पढेपछि उनीभन्दा धेरै सय वर्षपछिका कवि नागार्जुन आफूले नभोगेको कुरा पनि आफैंले भोगेजस्तै गरी लेख्न सक्ने कालिदासको कलाबाट मोहित भए । त्यसैले उनले एउटा कविता लेखे, जसमा उनले कालिदासलाई उनका पात्रले जुन अवस्था भोगेका छन् त्यो कालिदास आफैंले भोगेका थिए कि क्या हो भनी सोधेका छन् ।

जीवनस्मृति

रवीन्द्रनाथ ठाकुरको ‘जीवनस्मृति’ को मसँग भएको किताब अगाडिबाट च्यातिएकाले विषयसूचीको २२ नम्बरदेखि सुरु भएको छ । किताबको पछाडिको आवरणले भन्छ, यो किताब रायल नेपाल एकेडेमीले २०२२ सालमा छापेको हो । किताबबारे खोज्दै जाँदा थाहा पाएँ, यसको अनुवाद माधवलाल कर्माचार्यले गरेका रहेछन् ।

यो किताबबारे मैले भन्नुभन्दा त्यसको अन्तिम आवरणमा छापिएको कुरा उद्धृत गर्नु उपयुक्त लाग्यो, ‘यी स्मृतिका पन्नाहरूले उन (रवीन्द्र) को अन्तरतम संसारको उद्घाटन गर्दछन्, जहाँ उनी जीवनयापन गर्दथे । यहाँ उनको बालकमजोरी, शंकाविश्वास, भयहिम्मत आदिका अतिरिक्त उनका विभिन्न साहित्यिक ढाँचाहरूको (जसमा उनको स्वले अभिव्यक्ति पाउँदै गैरहेको थियो), उनको आत्मा र कविता दुवैले प्रौढता हासिल गरेको अवस्थासम्मको झलक पाइन्छ ।’

मानिसलाई बुझिने र नबुझिने, तर आभास मात्र पाइने शब्द र तत्त्व दुवैले शिक्षा दिन्छ भनी लेखेका छन् उनले । उनी लेख्छन्, ‘केटाकेटी तथा धेरै शिक्षित नभएका मानिसहरू त्यो आदि स्वर्गलोकमा बास गर्छन्, जहाँ मानिसहरू सबै कुरा बुझ्दै नबुझीकन पनि ज्ञान प्राप्त गर्ने गर्दछन् । खाली त्यो स्वर्गबाट पतन भएपछि मात्र उनीहरूको दुर्दिन सुरु हुन्छ । र, उनीहरूलाई जे पनि

बुझ्नुपर्ने हुन जान्छ ।’ ...आजकाल साहित्यरसमा प्रशस्त पानी मिलाएर केटाकेटीहरूको दिल बहलाउने पुस्तक लेखिएका हुन्छन्, तिनमा केटाकेटीहरूलाई खाली केटाकेटी सम्झने मनोवृत्ति मात्र पाइन्छ । उनीहरूलाई मानिस नै सम्झिएको हुँदैन । केटाकेटीको पुस्तक भनेको केही बुझिने र केही नबुझिने हुनुपर्छ । हामीहरू बालककालमा पाइए जति किताबहरू माथिदेखि तलसम्म पढ्थ्यौं । बुझे/नबुझेको दुवैले हाम्रो मनमा असर पार्दै जान्थ्यो । संसारले पनि केटाकेटीको मनमा ठीक यस्तै काम गर्छ । जति बुझ्दछ त्यतिलाई केटाकेटीले ग्रहण गर्छ, र जति बुझ्दैन त्यसले पनि उसलाई एक पाइला अगाडि बढाइदिन्छ ।

‘कञ्चनजंघाको जुहार’ ले हामीलाई विगत देखाउँछ । भनिन्छ नि मानिसले जीवनको अगाडिको बाटो ४ फिट मात्र हेरे पुग्छ, तर पछाडिको बाटोचाहिँ १२ फिट सम्झिइराख्नुपर्छ । यस किताबले हामीलाई हामीले हिँडिआएको बाटो देखाउँछ, जसले भविष्यको दिशानिर्देश गर्छ । त्यसैले यो किताब पढ्नुपर्छ । ‘जीवनस्मृति’ मा जीवन व्यवहार भेटिन्छ । ‘मेघदूत’ ले कल्पनाशीलता र पढाइको महाआनन्द बढाउँछ ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×