कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी पहाडमा बिरामी जाँच्दै डा. केसी

कुम्भराज राई

ओखलढुंगा — देश स्थानीय तह निर्वाचनले तात्तिएको छ । चिकित्सा क्षेत्रका अभियन्ता डा.गोविन्द केसी भने झोला बोकेर पूर्वी पहाडी जिल्लामा पुगेका छन् । सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै हिँडिरहेका छन् । सोलुखुम्बु जिल्ला अस्पतालमा तीन दिन हाडजोर्नीलगायतको स्वास्थ्य परीक्षण सकेर उनी आइतबार रुम्जाटार पुगेका छन् । मतदानको अघिल्लो दिनसम्म रुम्जाटार जिल्ला अस्पतालमा बसेर बिरामी जाँच्नेछन् । त्यसपछि खोटाङ, भोजपुर हुँदै संखुवासभा जाने उनको योजना छ । ‘देशका सबै जिल्लामा पुगिरहेकै छु,’ डा. केसीले भने, ‘१३ वर्षअघि ओखलढुंगा आएको थिएँ, फेरि आइपुगेको छु ।’

पूर्वी पहाडमा बिरामी जाँच्दै डा. केसी

कान्तिपुरसँग कुरा गर्दै डा. केसीले यो समय जनताले आफ्नो भाग्य र भविष्य कोर्ने समय भएको बताए । ‘मैले जिल्लामा हिँड्दा चुनावको उत्साह र उमंग देखेँ, त्यो देख्दा खुसी लागेको छ,’ डा. केसीले भने, ‘भ्रष्ट र आपराधिक मानसिकताका नेतालाई जवाफदेही बनाउने बेला यही हो, नेताले जनतालाई पंगु बनाएर राखेका छन्, त्यसैले इमानदार र चरित्रवान नेता छान्ने बेला हो यो ।’

स्वास्थ्य चौकीमा ३५ प्रकारको, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० प्रकारको र जिल्ला अस्पतालमा ७० प्रकारको औषधि निःशुल्क दिने व्यवस्था ऐनमा छ । तर देशभरि नै १२–१४ प्रकारको औषधिभन्दा नपाइने गरेको उनले बताए । जसले पेट काटेर कर तिरेका छन्, त्यो करले नेताले महँगो अस्पतालमा उपचार गर्ने गरेको केसीको आक्रोशयुक्त भनाइ छ । ‘त्यही नेताले ऐनले तोकेको औषधि जनतालाई दिन सकेका छैनन् ।’ उनले थपे, ‘जसले नेता बनाए उसलाई औषधि पनि दिएको छैन । उनीहरूले बाँच्ने अधिकार छैन ?, नेताहरू जनताप्रति कति जवाफदेही भए ? यसको निर्णय गर्ने बेलाको रुपमा मैले यो निर्वाचनलाई लिएको छु ।’

जसले धोका दिएका छन् उनीहरूलाई भोट दिन नहुने डा. केसीले बताए । नेपालीहरू सरल स्वभावका भएकाले बेबकुफ बनाउने गरेको केसीले बताए । दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरूमा अझै करारका चिकित्सकले अस्पताल चलाउनुपर्ने बाध्यता छ । चिकित्सक भएकै स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरणहरू नभएको, स्तरोन्नति नभएको र सुदृढीकरण नभएको केसीको बुझाइ र भोगाइ छ । स्वास्थ्यकर्मीले मात्र काम गरेर नहुने डा. केसीले बताए । राज्यले गर्नुपर्ने धेरै काम हुन नसकेको उनले बताए ।

प्रकाशित : वैशाख २७, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?