बाबुदेखि छोरासम्मका एक्ला प्रतिस्पर्धी

लक्ष्मी गौतम

पाँचथर — एक जना उम्मेदवारले एउटै पदका लागि कति पटक लड्लान् ? यहाँको फिदिम–१ मा २०५४ देखि वडाध्यक्षमा उठिरहेका ५४ वर्षीय गजाधर भट्टराईको प्रसंग आफैंमा रोचक छ । 

बाबुदेखि छोरासम्मका एक्ला प्रतिस्पर्धी

उनी पहिलो पटक जोसँग चुनावमा भिडे, अहिलेको स्थानीय तहमा उनै प्रतिस्पर्धीका छोरासँग भिडिरहेका छन् । भट्टराई २०५४ र २०७४ को निर्वाचनमा हर्कप्रसाद मोक्तानसँग हारेका थिए । २०७६ मा मोक्तानको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका सुवराज थापालाई हराएर वडाध्यक्ष बने । यस पटक उनी मोक्तानकै छोरा ३७ वर्षीय सन्तोष मोक्तानसँग वडाध्यक्षकै लागि प्रतिस्पर्धामा छन् । २०५४ मा तत्कालीन फिदिम नगरोन्मुख गाविस वडाध्यक्षका लागि एमालेबाट उठेका भट्टराई राप्रपाका मोक्तानसँग ६ मतले हारेका थिए ।

वडाध्यक्षमा पराजित भएको २० वर्षपछि भट्टराईलाई एमालेले पुनः वडाध्यक्षमा उठाएको थियो । २०७६ को उपनिर्वाचनमा भट्टराई पुनः तत्कालीन वाम गठबन्धनबाट उठे । त्यो बेला कांग्र्रेसका थापालाई हराएर वडाध्यक्ष बनेका उनी यस पटक पनि सोही वडाबाट उम्मेदवार छन् भने कांग्रेसका तर्फबाट पुरानै प्रतिस्पर्धी मोक्तानका छोरा सन्तोष छन् ।

यस पटक राप्रपाको साथ लिएर एमालेबाट वडाध्यक्षमा चौथो पटक प्रत्याशी बनेका भट्टराईसँग चुनावी मैदानमा रहेका सन्तोषलाई तत्कालीन वाम गठबन्धनकै एउटा घटक माओवादी केन्द्र र एमालेबाट फुटेको जनता समाजवादी पार्टीको साथले प्रतिस्पर्धार् रोचक हुने देखिन्छ ।

‘आफ्ना समकक्षी सांसद, मन्त्री भइसके, आफू वडाभन्दा माथि उठ्न सकिएन, यस पटक मेयर दाबी गरेको थिएँ, पार्टीले वडामै उठायो, वडाबासीको सेवा गरिरहने दृढताका साथ चौथो पटक उठेको छु, के हुन्छ भन्न सकिन्न,’ भट्टराईले भने ।

उनका प्रतिस्पर्धी सन्तोष भने बाबु पुस्ताका भट्टराईलाई वडाबासीले उपनिर्वाचनबाट एक पटक अवसर दिए पनि अपेक्षाकृत काम गर्न नसकेकाले यसपाली युवाको पक्षमा निर्णय गर्ने दाबी गर्छन् । ‘बुबाका समकक्षीसँग लड्दै छु, यो उहाँसँगै मेरा लागि पनि राजनीतिक गोरेटो बनाउने अवसर हो,’ उनले भने ।

प्रकाशित : वैशाख २३, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?