निर्वाचनका कारण सुनसरीमा रगत संकलन न्यून


इटहरी — स्थानीय तहको निर्वाचनको कारण तीन सातादेखि जिल्लामा आवश्यक मात्रामा रगत उपलब्ध हुन छाडेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाका अनुसार चुनावका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुने देखिएको हो । उनले भने, ‘रगत अभाव हुन नदिन घुम्ती डोनेसनको काम भइरहेको छ । थोरै समूहबाट भए पनि रगत संकलन गरेर आपूर्ति व्यवस्था गर्दै आएका छौं ।’

रेडक्रस सुनसरीका अनुसार जिल्लामा दैनिक ५० युनिट रगत आवश्यक पर्छ । हाल दैनिक मुस्किलले ४० युनिट रगतमात्र उपलब्ध गराउन सकिएको थापाले बताए ।
रेडक्रस सुनसरीले वैशाख १२ देखि १७ गतेसम्म आकस्मिक खुल्ला रक्तदान शिविर आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीका शाखा अधिकृत किरणकुमार कार्कीका अनुसार रगत अभाव हुँदा डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामी बढी प्रभावित बनेका छन् ।
रगत अभाव हुँदा युवाहरुको समूह ‘युथ फर ब्लड’ धरान र व्यक्तिगत रक्तदातामार्फत उपलब्ध गराउँदै आएका छन् । हालसम्म संकलित रगतले जेठ पहिलो हप्तासम्म मात्र पुग्ने कार्कीले बताए ।