२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मन्दिरको जमिनमा अवैध भवन निर्माण

श्यामसुन्दर शशि

जनकपुर — ऐतिहासिक महत्वको दशरथ मन्दिरको जग्गामा व्यावसायिक भवन निर्माण भइरहँदा पनि गुठी संस्थान मौन देखिएको छ । मन्दिरका महन्त जगन्नाथ दाससँगको मिलेमतोमा डा. जामुनप्रसाद सिंह र डा. रमण मिश्रले अ–आफ्ना नर्सिङ होम निर्माण गर्न लागेको भन्दै विरोध भएको छ ।

मन्दिरको जमिनमा अवैध भवन निर्माण

‘दुई महिनाअघिदेखि निर्माण कार्य सुरु छ । हामीले सोध्दा महन्तजी ( जगन्नाथ दास )ले धर्मशाला बनाउँदै छौं भन्नुभयो तर पछि थाहा भयो, यो भवन त डा. रमण मिश्र र डा. जामुदप्रसाद सिंहको रहेछ,’ जनकपुरधाम नगरपालिका ८ का लालबाबू साहले भने । साहका अनुसार स्थानीयवासीले विरोध गरेपछि चार, पाँच दिनदेखि निर्माण कार्य बन्द छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्वको दशरथ तलावको पश्चिमी–उत्तरी डीलमा अवस्थित दशरथ मन्दिरको महन्त मठिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णव नै छन् । मन्दिर वरपर मठको थुप्रै बिघा जग्गा छ । तीमध्ये अधिकांश जग्गा भाडा, लिज तथा अन्य नाममा बिक्री भइसकेको छ । अचेल मन्दिर परिसरमा मन्दिरसँगै टाँसिएरै दुई भवन निर्माण हुन थालेपछि स्थानीयवासी पनि आक्रोशित बन्न पुगेका छन् ।

महन्त दासले चार महिनाअघि गुठी संस्थान जनकपुरमा निवेदन दिइ मन्दिरको आय आर्जन गर्ने उद्देश्यले मन्दिरकै लगानीमा सटर निर्माण गर्ने अनुमति माग गरेको देखिन्छ । गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठप्रसाद रेग्मीका अनुसार महन्त दासको निवेदन केन्द्रीय गुठीमा पठाउँदा माग बमोजिम सटर निर्माण गर्ने अनुमति प्राप्त भएको छ । यद्यपि केन्द्रीय गुठीले भाडा निर्धारणबारे कैफियत जनाएको गुठी प्रमुख रेग्मीले जानकारी दिए ।

‘महन्तजीले आफैं सटर निर्माण गर्छु भन्नु भएको छ । अरु कसैले भवन निर्माण गर्दैछन् भने छलफल गर्नुपर्छ,’ गुठी प्रमुख रेग्मी कान्तिपुरसँग भने ।

सडक विस्तारको क्रममा दशरथ मन्दिरको उत्तरी पर्खाल भत्काइएपछि भूमाफियाहरुको नजर मन्दिरको जग्गामाथि परेको थियो । सुरुमा उनीहरुले सडकतिरै सटर निर्माण गर्न खोजेका थिए तर जनकपुरधाम उपमहानगर पालिकाले सडकमुखमा सटर निर्माण गर्ने अनुमति दिएन । अनि महन्त दाससँगको मिलेमतोमा पर्खालभित्रै व्यवसायिक प्रयोजनको भवन निर्माण सुरु गरिएको थियो ।

मन्दिरको प्रखालसँग टाँसिएरै डा. जामुनप्रसाद सिंहको नर्सिङ होम निर्माण हुँदैछ भने मन्दिरको दक्षिणी प्रखालसँग टाँसिएर डा. रमण मिश्रको । तर महन्त जगन्नाथ दास भने भवन निर्माण नभइ मन्दिरको प्रखाल मर्मत भइरहेको बताउँछन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले मन्दिरको पर्खाल मर्मत भइरहेको छ तर भवन निर्माण नभएको जिकिर गरे ।

स्थानीयहरूका अनुसार यहाँ मोही, लिज, भाडा आदिको नाममा जग्गा बिक्री गर्नु महन्तहरूको चलन जस्तै बनेको छ । झनै जगन्नाथ दासले त गुरुबाट प्राप्त जग्गालाई स्वआर्जन गरेको प्रमाणित गरी औपचारिक रुपमै जग्गा बिक्री गरेका छन् ।

महन्त दास २०२६ साल जेठ २७ गते मठका महन्त नियुक्त भएका थिए । उनी महन्त नियुक्त हुनुभन्दा अघि आफ्ना गुरु पिता कौशलकिशोर दाससँग थुप्रै बिघा जग्गा बक्स गरेको औपचारिक कागज बनाउन लगाएका थिए ।

ती जग्गाहरु स्वआर्जन भएको भन्दै बिक्री वितरण पनि गरेका थिए । तर पुनरावेदन अदालत जनकपुरका न्यायाधीश कोमलनाथ शर्मा र मिहिर कुमार ठाकुरको संयुक्त इजलासले २०६७ साल असार २२ गते जगन्नाथ दासले स्वआर्जन भनिएको जग्गा मठकै भएको फैसला सुनाएको थियो ।

फैसलामा मुलुकी ऐन, गुठीको महलको १० नम्बर बमोजिम आर्जन गर्ने महन्तका शेषपछि निजका कुनै उत्तराधिकारी महन्तलाई कुनै व्यहोराले मठको जग्गा बिक्री तथा राजीनामा आदि गर्ने अधिकार नभएको उल्लेख गरिएको छ ।

यसअघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रीय गुठी संस्थानले मानमहन्त जगन्नाथ दासलाई निलम्बन गरेको थियो । निलम्बन विरुद्ध निषेधाज्ञा मुद्दा हालेका महन्त दासलाई अदालतले ‘ कामकाज गर्न नरोक्नु ’ भनेको छ । मुद्दा भने अझै पनि अदालतमै छ ।

प्रकाशित : वैशाख १८, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?