कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'मस्ट वाण्टेड' खरेलसहित आपराधिक गतिविधिमा संलग्न चार जना सार्वजनिक

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रहरीको ‘मस्ट वाण्टेड’ सूचीमा रहेका हिमाल सुरक्षा परिषद्‍का मुख्य नाइके सञ्जय भनिने ४३ वर्षीय खगेन्द्र खरेल पक्राउ परेका छन् । गत सोमबार राति इटहरीमा भएको बम विस्फोट घटनासँग जोडिएका खरेलसहित प्रहरीले इटहरी २ बस्ने २० वर्षीय रविन थापा, आशा ठकुरी भनिने ३२ वर्षीया लक्ष्मीदेवी थापा ठकुरी, लम्जुङको ढोडेनी–७ बस्ने २३ वर्षीय शेरजंग गुरुङलाई शुक्रबार सार्वजनिक गरेको छ ।

'मस्ट वाण्टेड' खरेलसहित आपराधिक गतिविधिमा संलग्न चार जना सार्वजनिक

खरेलको ठेगाना झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुर रहेको बताइए पनि उनी पूर्वोत्तर भारतको आसामाका बासिन्दा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार सार्वजनिक गर्दै इटहरी झापा, मोरङ र सुनसरीलगायत केही जिल्लामा आपराधिक र उच्छृङ्खल गतिविधि गर्दै आएका खरेलले कहिले ग्रेटर नेपाल, कहिले हिन्दुवादी र राजावादीको राजनीतिक आवरणमा सशस्त्र विद्रोहको घोषणा गरेका थिए ।

पक्राउ परेकामध्ये बम विस्फोट भएको लक्ष्मीको कोठाबाट प्रहरीले लक्षमीदेवी थापाको नामको बैंक चेक बुक एक थान, राष्ट्रिय स्वाधिनताको लडाइँमा जनताको असल साथी राजा सीएफएन ‘कफन स्थापना २०७० लेखिएको विभिन्न रंगका पर्चाहरु, हिमाल सुरक्षा परिषद्‍ नेपाल पर्चा, सीएफएन कफन लेखिएको अर्धकट्टी सदस्यस्ता कार्ड २८ थान, तामाको तारको गुजुल्टो, ओप्पो ब्राण्डको व्याट्री, दुइ थान मोबाइल बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार गत १७ गते पक्राउ परेका सञ्जय भनिने खरेलको साथबाट एनसेल र नेपाल टेलिकमको सीमकार्ड, दुई थान मोबाइल, विभिन्न बैंकको दुई थान चेकबुक, रकम पठाएको र जम्मा गरेको आइएमी रसिद चार थान, हिमाल सुरक्षा परिषद्‍ केन्द्रीय कमिटीको छाप एक थान, अर्जुन लेखिएको छाप एक थान, इन्चार्ज केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद्‍ लेखिएको छाप एक थान, पेनड्राइभ एक थान, शेरजंग गुरुङको नागरिकता र पासपोर्टको प्रतिलीपी एक थान, डम्बरसिंह धामीको नामको परिचयपत्र एक थान बरामद भएको छ ।

खरेललाई मेचीपारी पश्चिम बंगालको नकलबन्दाबाट बिहीबार राति भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । लक्ष्मी ठकुरी डेढ वर्षदेखि अमृत श्रेष्ठको घरको कोठा भाडामा लिएर छोरासँग बस्दै आएकी थिइन् । पछिल्लो समयमा गत सोमबार राति इटहरीको– २ नवजागृती टोलस्थित अमृत श्रेष्ठको घरमा बम विस्फोट भएपछि प्रहरीलाई खरेल पक्राउ गर्ने अवसर जुरेको प्रहरीले बताएको छ ।

बम विस्फोट हुँदा २० वर्षीय रविन थापा र लमजुङका शेरजंग गुरुङ घाइते भएका थिए । सोमबार नै शेरजंगले भारतीय नाका हुँदै काँकटभिट्टाबाट ल्याएको र राति अचानक कोठामा विस्फोट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । बम विस्फोट हुँदा लक्ष्मी ठकुरी भने कोठामा थिइनन् । उनका छोरा रविन र गुरुङ मात्र थिए । उनी एक दिनअघि नै भारत जाने भनेर काँकडभिट्टातिर गएकी थिइन् । उनलाई स्थानीय सफारी चालकले नै इटहरीको पूर्व बस स्टेन्डसम्म पुर्‍याएका थिए । छिमेकीहरूका अनुसार गुरुङलाई ठकुरीले नै तीन साताअघि लमजुङबाट बोलाएर ल्याएकी थिइन् ।

विभिन्न समयमा बम आतंक मच्चाउने मुख्य नाइके खरेलको खोजी गरिरहेका बेला इटहरीको चर्चमा पड्काउनका लागि ल्याइएको बम उनीहरु बसेकै कोठामा विस्फोट भएपछि घटनाको सम्बन्ध हिमाल सुरक्षा परिषद्‍को गतिविधिसँग जोडिन पुगेको थियो ।

विस्फोटमा घाइते भएका थापा र गुरुङलाई कडा निगरानीका साथ उपचार गर्दै लिएको बयानको आधारमा पहिले ठकुरीलाई इटहरीबाटै पक्राउ गरेपछि खरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी श्रोतले भन्यो, ‘ठकुरी पक्राउ परेपछि उनकै मोबाइल प्रयोग गरेर खरेल पक्राउ परेका हुन् ।’ प्रहरीको सेटिङ अनुसार खरेललाई बोलाउन ठकुरीलाई फोन गर्न लगाइएको थियो । फोन गर्दा काँकडभिट्टा नजिकै मेचीपारी नगलबन्दामा रहेको थाहा पाएपछि भारतीय सीमा सुरुक्षा बलको सहयोगमा पक्राउ गरी काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई जिम्मा दिएको थियो ।

खरेल पूर्वोत्तर भारतको आसाममा बस्दै आए पनि केही वर्षदेखि झापाको घैलाडुवामा बसेर ग्रेटर नेपाल, हिमाल सुरक्षा परिषद्‍, हिन्दुवाद र राजावादीको आवरणमा हिंसात्मक गतिविधि गर्दै आएका थिए । खरेलकी श्रीमति वैदेशिक रोजगामा रहेको बताइएको छ । उनैको अराजनीतिक संगठनले झापाको बिर्तामोड, दमक, सुरुङगा क्षेत्रमा बम आतंक मच्चाएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो । झापाको हिंसात्मक गतिविधिमा संलग्नको अनुसन्धान गर्दै जाँदा प्रहरीले गत माघ ११ गते कन्काइ नगरपालिका बस्ने भिष्म थापालाई पक्राउ गरेपछि अन्य ८ जना पक्राउ परेका थिए ।

उनैको बयानका आधारमा प्रहरीले फागुन २ गतेसम्ममा झापाको गौरादह–२ बस्ने सुमन कुमार कार्की, दमक–९ बस्ने देवी बास्कोटा गुरागाईँ, कन्काई– ३ बस्ने कुमार भनिने यामदत्त सिटौला, शिवसताक्षी–१ बस्ने सरुण लिम्बु भनिने दिल कुमार साम्याङखाम, संखुवासभाको खाँदबारी– १० बस्ने मनमोहन दाहाल, गौरीगंज–३ बस्ने आनन्द भनिने अनन्त प्रसाई गिरी, गौरादह–५ बस्ने प्रदीप थापा र गौरीगंज–३ बस्ने विजय कुमार दास हलुवाइलाई पक्राउ गरेर कारबाही गरेको थियो । तीमध्ये हाल ८ जना धरौटीमा छुटिसकेका छन् । एक जना भने धरौटी बुझाउन नसकेर कारागारमै छन् ।

खगेन्द्र खरेल यसअघि पनि झापाको बम आतंक काण्डमा पक्राउ परेर छुटेका गैर राजनीतिक व्यक्ति भएको प्रहरीको विश्लेषण रहेको छ । प्रहरीका अनुसार खरेल ०७८ माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा र १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्‍को पर्चाहरुसहित शंकास्पद वस्तु राखेको घटनाको मुख्य योजनाकार हुन् ।

यसैगरी २०७६ वैशाख २८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी विष्फोटक पदार्थ तथा संगठित अपराध कसूरमा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरी झापा जिल्ला कारागारबाट छुटेका खरेल हिमाल सुरक्षा परिषद्‍ नेपालको केन्द्रीय अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।

उनले नेतृत्व गरेको भनिएको हिमाल सुरक्षा परिषद् नेपाल संगठनमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नभएर अधिकांश वैदेशिक रोजगारीसम्बन्धी ठगी, लागूऔषध मुद्दामा जेल परेर छुटेकाहरू छन् । झापा, मोरङ र सुनसरीका व्यापारी व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा चलाउने उद्देश्यले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा चर्चमा बम विस्फोट गरी आतंक मच्चाउन खोज्दा इटहरीको आफ्नै सेल्टरमा बम विस्फोट भएको प्रहरीको भनाइ छ ।

इटहरीमै माइती घर भएकी महिला ठकुरीका श्रीमान सात वर्षअघि नै कोरिया वैदेशिक रोजगारीमा जाँदा उतै आत्महत्या गरेर मृत्यु भएको बताइएको छ । एसपी थापाले भने, ‘इटहरीको बम विस्फोट घटनासँग जोडिएका हिमाल सुरक्षा परिषद्‍, हिन्दुवादी र राजावादी संगठनको नाममा अराजक गतिविधिको नेतृत्व गर्ने खरेल, थापा, गुरुङ र लक्ष्मीलाई शुक्रबार नै जिल्ला अदालतबाट बम विस्फोट र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरेर अनुसन्धान भइरहको छ । बम विस्फोट गराई समाजमा आतंक फैलाउने तत्वको बारेमा प्रहरीले विषेश अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित : चैत्र १८, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?